पर्वत ,१४ साउन- नेपाली काँग्रेस पर्वतले काठमाण्डौको हिमालय सिटी सेन्टरको आठौँ तलाबाट खसेर मृत्यु भएको भनिएका नेपाली काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।
जिल्ला सभापति खिमप्रसाद भुसालले प्रेस विज्ञप्ति निकाल्दै जग्गा प्रकरणमा संलग्न ठुलो माछाको पोलबारे श्रेष्ठद्वारा खुल्न सक्ने भएकोले उनको हत्या गरिएको हुन सक्ने भन्दै यसबारे निष्पक्ष छानबिन गरिनुपर्ने माग गरेका हुन ।
‘आठ तलाबाट खसिएको भनिएता पनि घटनास्थलमा एक थोपा रगत नदेखिनु, अनुहार लगायत शरीरका अन्य बाहिरी भागमा कुनै चोट पटक नदेखिनु, सिसि क्यामेराको फुटेज उपलब्ध नहुनु आदिले घटना रहस्यमय देखिएको हुँदा मनगढन्ते अनुमानको भरमा निष्कर्षमा पुग्नु राम्रो होइन ।’ विज्ञप्तिमा लेखिएको छ । श्रेष्ठको मृत्युलाई ललिता निवास जग्गा प्रकरणसँग जोडेर विभिन्न सञ्चारमाध्यममा ‘आत्महत्या’ भनी आएका समाचारप्रति काँग्रेस पर्वतले दुःख व्यक्त गर्दै प्रमाण सहितको सत्य कुरा बाहिर ल्याउन माग गरेको छ ।
बालुवाटारको ललिता निवास र त्यसले ओगटेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न रहेको भन्दै श्रेष्ठ जग्गा प्रकरणमा मुछिएका थिए । उनले कागजात सदर गरेर ललिता निवासको जग्गा सुवर्ण शमशेरका भोगाधिकारीलाई दिने काममा सबै प्रक्रिया मिलाउन भूमिका खेलेको भेटिएको अख्तियारको दाबी थियो ।
श्रेष्ठ तत्कालीन समय डिल्लीबजार मालपोत कार्यालयमा नायव सुब्बा पदमा कार्यरत थिए। उनी सहित सोही प्रकरणमा नाम मुछिएका तत्कालीन अवस्थामा उक्त कार्यालयमा कार्यरत कर्मचारी र तत्कालीन मन्त्रिपरिषद्को निर्णय गर्ने राजनीतिक नेतृत्वकर्ताहरु पनि अहिले अख्तियारको निगरानीमा छन । यही सिलसिलामा श्रेष्ठले केही समयदेखि अख्तियारमा पुगेर निरन्तर बयान दिँदै आएका थिए । उनी निकट स्रोतका अनुसार श्रेष्ठले अन्तिम पटक गत शुक्रवार अख्तियारमा बयान दिएर फर्किएका थिए । वि.सं. २०५८ सालमा निजामती सेवाबाट निवृत्त भएका उनी काँग्रेसको १३ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति पर्वतमा विजयी भएपछि सचिवमा मनोनीत भएका थिए ।





