पर्वत,१५ साउन – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गएको आर्थिक वर्ष २०७५÷०७६ मा ५२ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । वैशाख महिनादेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरेका बस, ट्रक, ट्रिपर, कार, जिप, ट्रयाक्टर र मोटरसाइकलमाथि गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।
बाह्र महिनाको तथ्याङ्कलाई हेर्दा जेठ महिनामा सबैभन्दा बढी ७ लाख १ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ । त्यस्तै, सबैभन्दा कम साउन महिनामा २ लाख ६८ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी, भदौमा ३ लाख ८२ हजार ५ सय, असोजमा ४ लाख ६३ हजार, कार्त्ितकमा ४ लाख ३३ हजार ५ सय, मङ्सिरमा ३ लाख ६७ हजार, पौषमा ३ लाख ४३ हजार, माघमा ३ लाख ५९ हजार, फागुनमा ३ लाख ८१ हजार ५ सय, चैतमा ४ लाख ३४ हजार ५ सय, वैशाखमा ४ लाख ९७ हजार ५ सय र असारमा ६ लाख ५४ हजार ५ सय रुपैयाँ गरी ५२ लाख ७६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गत आर्थिक वर्षमा ट्राफिक नियमको पालना नगरेका कुल ९ हजार सवारी साधनहरूमाथि कारबाही भएको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा ४५०, भदौमा ६५०, असोजमा ७ सय, कत्र्तिकमा ७ सय, मङ्सिरमा ६ सय, पौषमा ६ सय, माघमा ६ सय, फागुनमा ६ सय ५०, चैतमा ७ सय ५०, वैशाखमा ९ सय, जेठमा १२ सय ५० र असारमा ११ सय ५० ओटा सवारीमाथि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बाह्र महिनाको अवधिमा सबैभन्दा बढी कारबाही कार तथा जिपलाई गरिएको छ भने सबैभन्दा बढी राजश्व पनि कार तथा जिपबाट नै उठेको छ । कुल ३५ सय ५२ ओटा जिप तथा कारमाथि गरिएको कारबाहीबाट २० लाख ६ हजार ५ सय रुपैयाँ उठेको छ । यस्तै, सबैभन्दा कम राजश्व भने ट्रयाक्टरबाट ६ लाख १ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ । यसैगरी, एक वर्षको अवधिमा ११ सय ६३ बसबाट ६ लाख ६५ हजार ५ सय, १५ सय ८० ट्रक तथा ट्रिपरहरुबाट ८ लाख ९५ हजार र १६ सय ८१ मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ७ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।
पछिल्लो तीन वर्षको आँकडा हेर्ने हो भने गत आर्थिक वर्ष ०७५÷०७६ मा नै सबैभन्दा बढी सवारी साधनहरूमाथि कारबाही भएको हो । आर्थिक वर्ष ०७३÷०७४ मा कुल ८ हजार ६ सय २ सवारीहरूमाथि भएको कारबाहीबाट ४९ लाख ६७ हजार र आर्थिक वर्ष ०७४÷०७५ मा कुल ८ हजार १ सय ३६ सवारीहरूमाथि गरिएको कारबाहीबाट ४८ लाख ५० हजार ५ सय रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष ०७३÷०७४ मा भन्दा ०७४÷०७५ मा सवारीमाथि भएको कारबाहीमा ६ प्रतिशतले कमी आएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ मा आर्थिक वर्ष ०७३÷०७४ तुलनामा ४.५ प्रतिशतले र ०७४÷०७५ को तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको छ ।





