लोमान्थाङ(उपल्लो मुस्ताङ),१९ भदौ- बिहानैदेखि उपल्लोे मुस्ताङको लोमान्थाङमा घोडाहरु हिनहिनाउँदै थिए । लोमान्थाङबासी चिसोको पर्वाह नगरी एकाबिहानै घोडाको खुट्टामा टाप ठोक्दै थिए । कारण थियो,माटैमाटोको गाउँमा सांस्कृतिक पर्व यार्तुङको तयारी चल्दै थियो । बुधबार बिहान ३ हजार ८ सय ४० मिटर उचाईमा रहेको यो सुन्दर बस्तीको बीचमा रहेको कूलदेवता आमा झोला कर्मोको गुम्बामा गाउँकै लामा गुरु घ्याचो विष्टले विधिपूर्वक पूजाआजा गरे । पूजापछि स मुस्ताङी युवराज जिग्मेसिग्मे परवल विष्टकहाँ शुभकामना दिने क्रम चल्यो । राजा बिहान ८ बजेतिरबाटै दरबारमा तयार थिए । गाउँको ४ टोल र मुखियाको टोलीबाट दरबारभित्र गएकाहरुले राजालाई शुभकामना दिए । राजासँग शुभकामना लिए । त्यसको लगत्तै बाजागाजासहित राजालाई घोडसवार गराएर लोमान्थाङको गेट बाहिर निकालियो । परम्परागत बाजा र नाचसहित घोडसवार राजाको अगाडि लामा गुरु अघिअघि, राजा पछिपछि अनि अन्य घोडसवारहरु पछि लागेको सो यात्रा गाउँमाथि गएर रोकियो । त्यहाँ महिलाहरुले राजालाई शुभकामना दिए । घोडा चढेर राजा गाउँमाथिको बर भन्ने हरियो घाँसे मैदानमा पुगे । पालले सजाइएको ठाउँमा राजाको अगाडि भोजभतेर र नाचगान भयो । लोहा जातिको बसोबास रहेको गाउँमा रहेका कुदाङ, टोमालाङ, झयादाङ, पोटालिङ र छोरातोप्पो गरी पाँच समूहमा बाँडिएका उनीहरु सबैले सांस्कृतिक पर्वमा औधी रमाइलो गरे । रमाइलो पछि राजालाई घोडामै चढाएर लोमान्थाङको पश्चिमपट्टी बनाइएको मञ्चमा राखियो । त्यहाँ घोडदौड सुरु भयो । राजाले हेरे । गाउँलेले पनि रमाइलो माने । घोडदौडपछि राजालाई उही शैलीमा दरबार फिर्ता गराइयो । राजाकहाँ मात्र नभएर लोमान्थाङभर शुभकामना दिने र लिने उपक्रम बिहानैभर चल्यो । 
बुधबारबाट सुरु भएको यार्तुङ मेला तीनदिन चल्नेछ । हिमाली भेगमा वर्षात् सकिएपछि यार्तुङ मनाइन्छ । यार भनेको बर्खा र तोङको अर्थ बर्खा राम्रोसँग सकिएको भन्ने बुझिन्छ । तोङ भनेको मेला पनि हो । लोमान्थाङसँगै यो क्षेत्रका छोेसेर, छोण्हुप, घमी, चर्राङ र सुर्खाङमा पनि पर्वको रौनक सुरु भएको लोमान्थाङका रैथाने तथा गण्डकी प्रदेशका सभासद ईन्द्रधारा विष्टले जनाए । उनका अनुसार लामा गुरुले निकालेको साइत अनुसार यो पटक बुधबार यार्तुङ सुरु गरिएको हो । यार्तुङमा परम्परागत झाँकी, घोडादौड र मीठोमीठो परिकार खाइन्छ । शुभकामना साँटिन्छ । हिमाली क्षेत्रमा शुभकामना साँट्दा खादा र छाङ( एक किसिमको जाँड ) को प्रयोग गरिन्छ । चिसो ठाउँका बासिन्दाले शरीर तातो बनाउन छाङको प्रयोग गर्ने गर्ने परम्परा रहे पनि यसको अत्यधिक सेवनलाई भने निरुत्साहित गरिएको उनको भनाई छ । सभासद विष्टका अनुसार यो पटकको बर्खा सकिएको र अब आउने हिउँद पनि सुखपूर्वक बितोस् अनि अर्को पटकको यार्तुङ मनाउँदा खेतिपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाइन्छ ।
गाउँ पालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लामा रिञ्जिन दोर्जे विष्टका अनुसार महिलाले पुरुषलाई, पुरुषले महिलालाई,लामाहरुले सबैलाई शुभकामना बाँड्नु र घोडदौड यो पर्वको अको विशेषता हो । यो पर्व मुस्ताङी राजाको पालादेखि नै चल्दै आएको हो भने पर्वमा राजा पनि सरिक हुने चलन रहँदै आएको छ । यार्तुङको पहिलो दिन पुरुषहरुको, दोस्रो दिन महिला र तेस्रो दिन लामाहरुको घोडदौड पनि यो पर्वको अर्को विशेषता हो । घोडदौडपछि सबै मिलेर बनभोज खाने चलन छ । यार्तुङ सकिएसँगै यहाँ चिसो बढ्न थाल्छ । यार्तुङ सकिएको १० दिनपछि यहाँ खेतिपाती थन्क्याउन थालिन्छ । दाउरा र खाद्यान्नको जोहो गरिन्छ । बढी हिउँ पर्दा यहाँका बासिन्दाहरु घरभित्रै बस्छन् । तिब्बती संस्कृतिको जिवन्तता पनि यार्तुङको विशेषता हो । गुम्बा र गुफाहरु अनि राता र सेता पहाडहरुले घेरिएको यो सुुन्दर बस्तीका बासिन्दाहरुको राम्रो लगाउने र मीठो खाने पर्व जाडो लाग्न लागेको संकेत पनि हो । नेपालको कानून अनुसार अहिले मुस्ताङ र देशमा राजा छैनन् । राजधानीमा आयोजना हुने र राजा जानै पर्ने ईन्द्रजात्रा अनि भोटो जात्रामा यतिबेला राष्टपतिलाई लगिन्छ । तर, देशको सुन्दर भूगोल लोमान्थाङमा भने राजाको सांस्कृतिक महत्व सकिएको छैन । मुस्ताङी राजाको २६ आँै उत्तराधिकारी युवराज जिग्मेसिग्मे परवल विष्टप्रति अहिले पनि यहाँका मानिसको उत्तिकै श्रद्दा छ । यहाँ उनको आग्रहलाई आदेशजस्तै मानिन्छ । बरु,युवराज स्वयं भने आफूलाई यहाँका जनताको सुखदुःखमा साथ दिने साथी मान्छन् । परिवर्तनलाई स्वीकार्दै लोमान्थाङलाई पर्यटकीय स्थल बनाउने र पर्यटनमार्फत नै यहाँको आर्थिक समृद्धि हुनेमा उनी आशावादी पनि छन् । नेपाल सरकारले दिएको श्रीपेच नलगाई यार्तुङमा सहभागी उनले आफूले हरेक परिवर्तनलाई स्वीकारेको बताए ।





