पोखरा,२२ भदौ – लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ ।
पोखराको नदिपुरमा शनिबार भएको फाइनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपीएफ टिम ‘बी’ ले दोस्रो पटक उपाधि जितेको हो ।
उपाधिसँगै टिम‘‘बी’ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्याे । त्यस्तै उपबिजेता टिम‘ए’ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजारमा चित्त बुझायो ।
उक्त प्रतियोगिताबाट टिम‘‘बी’ का सञ्जुविक्रम शाह सर्बाेत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै सन्तोष क्षेत्री, उत्कृष्ट सेटरका रुपमा सोही टिमकै मिलन राना र उत्कृष्ट स्पाइकरको रुपमा बिष्णु क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट डिफेण्डरका रुपमा टिम ‘ए’ का चन्द्र गुरुङ र उत्कृष्ट क्वीकरको रुपमा सोही टिमकै मिलन गुरुङ घोषित बने ।
त्यस्तै महिलातर्फ टिजी गर्ल तल्लो गगनगौँडाले फाइनल खेलमा दोबा समाजलाई ३–१ को सेटले पराजित गर्दै बिजयी बन्यो । टिजी गर्लले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हात पा¥यो भने उपबिजेता बनेको दोबा समाजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १४ हजार रुपैयाँ हात लगायोय ।
प्रतियोगिताबाट टिजी गर्लका ममता पुन उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत भए भने उत्कृष्ट सेटरको रुपमा दोबा समाजका निरु पुन र सोही टिमकै सस्मीता पुन उत्कृष्ट स्पाईकरको हकदार बने ।
प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार भेट्रान्स तर्फ लालीगुँरास पुन समाज लामाचौरलाई फाईनल खेलमा ३–० को सोझो सेटले स्तब्ध पार्दै अर्चलबोट भेट्रान्सले उपाधि जित्यो । अर्चलबोटले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारको हकदार बन्यो भने उपबिजेता टिम लामाचौरले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजारमा चित्त बुझायो । उक्त प्रतियोगिताबाट लामाचौरका मन प्रसाद पुन उत्कृष्ट खेलाडीको हकदार बने ।
क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स तर्फको बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, मुख्य प्रायोजक सुबेदार नरबहादुर गुरुङ लयायतले पुरस्कार बितरण गरेका थिए ।





