शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

राजनीतिकरणले शिक्षा प्रणाली भद्रगोल : मुख्यमन्त्री गुरुङ

राजनीतिकरणले शिक्षा प्रणाली भद्रगोल : मुख्यमन्त्री गुरुङ

पृथ्वीसुब्बाको नाम राख्न हैन, गण्डकी प्राविधिक विश्वविद्यालय


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७६, सोमबार

पोखरा,२३ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अत्यधिक राजनीतिकरणले नेपालको शिक्षा प्रणाली नै भद्रगोल भएको बताएका छन् ।
‘अचाक्ली राजनीतिकरणले शैक्षिक गुणस्तर खस्किएको छ’, ४०औँ शिक्षा दिवसको अवसरमा पोखरामा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘अहिले विश्वविद्यालयका भिसी, रेक्टरलगायतका पद खालि हुँदैछन्, अब त्यहाँ पनि तीनवटा ठूला पार्टी मिलेर भागबण्डा गर्छन् अनि नेताका नजिकका मान्छे ती पदमा पुग्छन् ।’ चरम राजनीतिकरण र भागबण्डाले योग्य मान्छे ती पदमा नपुग्दा शैक्षिक गुणस्तर नै खस्कने उनले तर्क गरे । उनले जबसम्म त्यही क्षेत्रका विज्ञलाई ती पदमा नियुक्ति दिइँदैन, तबसम्म शैक्षिक गुणस्तर माथि नउठ्ने बताए ।
‘विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपबाट मुक्त हुनैपर्छ’, उनले थपे,‘ सास फेर्दा सोधेर फेर्नुपर्ने, खाना खाँदा सोध्नुपर्ने, हिँड्दा पाइला कता चालौँ भन्नुपर्ने अवस्थाले गुणस्तर कायम हुँदैन ।’
विश्वविद्यालयहरुमा कहिले विद्यार्थी, कहिले प्राध्यापक र कहिले कर्मचारीले आन्दोलन गर्ने भएकोले नेपालका विश्वविद्यालय र क्याम्पस नै हड्ताल क्याम्पसजस्तो बनेको पनि उनको भनाई थियो । गुणस्तर भएकै कारण सिंगापुर टेक्निकल विश्वविद्यालयका उत्पादन संसारभर बिक्ने गरेको उदाहरण दिँदै उनले भने,‘ नेपालभन्दा सानो देशमा ४०÷५० वर्षअघि जन्मेको विश्वविद्यालय संसारकै राम्रो हुन्छ, हाम्रा विश्वविद्यालय भने संसारका राम्रामध्ये २ हजार भित्र पनि अटाउँदैनन् ।’ गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय गण्डकीको व्यवस्थापनमा भएको कार्यक्रमम बोल्दै मुख्यमन्त्री गुरुङले काठमाण्डौ विश्वविद्यालयले सुरुका दिनमा दक्ष जनशक्ति उत्पादन गरे पनि राजनीतिकरणले त्यो पनि भद्रगोल भएको जिकिर गरे । राज्यले मानव संशाधनमा ठूलो लगानी गरेका देशहरुले नै विकासमा फड्को मारेको बताउँदै विश्वविद्यालयहरुले जीवनपयोगी शिक्षा दिनुपर्ने धारणा राखे ।उनले व्यापामा मात्र नभएर शिक्षामा पनि विश्वव्यापीकरण भएको तर्कगर्दै राम्रो शिक्षाको लागि विदेशिन चाहने विद्यार्थीलाई रोक्न नसकिने बताए ।
‘आजको जमानामा ब्रेन ड्रेन रोकिँदैन’, उनले भने,‘ या त आफूले गुणस्तरीय शिक्षा दिनुप¥यो, हैन भने जान दिनुप¥यो ।’ सरकारले पढ्न विदेश जाने विद्यार्थीहरुमाथि कडाई गर्ने नीति लिएको बेला मुख्यमन्त्रीको यो भनाई बाहिर आएको हो । सीपयुक्त शिक्षा दिँदै आएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद( सिटिइभिटी )हरु प्रदेश सरकारलाई हस्तान्तरण होला भन्ने सोचिए पनि संघले नचाहँदा त्यो समेत अस्तव्यस्त अवस्थामा रहेको उनले बताए । ‘अहिलेको हाम्रो आवश्यकता भनेको सीपयुक्त शिक्षा हो’, उनले भने,‘यहाँ एमएस्सी पास गरेको हुन्छ, घरमा बल्ब जल्यो भने अर्को मान्छे खोज्ने शिक्षाले केही गर्दैन ।’ माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि अनुगमन गर्ने निकायहरु संघमातहत नै रहेकोले समस्या उत्पन्न भएको उनको भनाई थियो ।

पृथ्वीसुब्बाको नाम राख्न हैन, गण्डकी प्राविधिक विश्वविद्यालय
मुख्यमन्त्री गुरुङले नयाँ काम गरेर आफ्नो नाम राख्न नभई दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न प्रदेश सरकारले गण्डकी टेक्निकल कलेज खोल्न लागेको जिकिर गरे ।
‘यहाँ विश्वविद्यालयको संख्या नपुगेर, यो गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बाले एउटा नयाँ काम गरेर नाम राखौँ भनेर विश्वविद्यालय खोल्न लागेको हैन’, उनले भने,‘ नयाँ ढंगले, फरक ढंगले काम गर्न खोजेको हो ।’
उनले गण्डकी टेक्निकल कलेज सम्बन्धित क्षेत्रका विज्ञहरुले चलाउने व्यवस्था गरिने बताउँदै त्यहाँको कुलपति पनि मुख्यमन्त्री नहुने उद्घोष गरे । उनले विश्वविद्यालयको पाठ्यक्रम बन्दै गरेको जानकारी दिँदै जग्गा प्राप्तिलगायतका समस्याले गर्दा विश्वविद्यालय संचालनमा ढिलाई भएको बताए । उनले यो वर्ष प्राविधिक काम गरिने र विश्वविद्यालय विधेयक पारित भएपछि छिट्टै विश्वविद्यालय संचालनमा ल्याउने दावी पनि गरे । उनले गण्डकी टेक्निकल कलेजले सांरका नामी विश्वविद्यालयहरुसँग मिलेर पाठ्क्रम तयार पार्ने सोच लिएको बताउँदै भने,‘अहिले १०–१२ वटा विश्वविद्यालयहरुसँग कुरा भएको छ, विधेयक पास हुनासाथ म आफै युरोप जान्छु, जुन विश्वविद्यालयका उच्च तहमा नेपाली छन्, उनीहरुसँग सहकार्यको पहल गर्छु ।’ उनले प्रदेशको विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्घोष पनि गरे ।
‘यहाँको जैविक विविधिता, आर्युवेद, प्राकृतिक चिकित्सा, संस्कृतमा एमफिल र मास्टर्स गर्न उता( विदेश) का विद्यार्थी आउँछन्’, उनले भने,‘ विज्ञान, व्यवस्थापनजस्ता विषय पढ्न हामी उता पठाउँला ।’ उनले यो विश्वविद्यालय पैसा नहुने नेपालीको लागि पनि खुल्ला रहने बताए । उनले पोखरा विश्वविद्यालय वा पृथ्वीनारायण कलेज प्रदेश सरकारलाई हस्तान्तरण गर्न गरिएको आग्रह नमानिएकोले आफै कजेज खोल्ने निर्णय गरिएको पनि सुनाए । प्रदेश सरकारले तनहुँमा विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । कार्यक्रममा सामाजिक विकासमन्त्र िनरदेवी पुन, उपसभामुख सृजना शर्मा, प्रदेश योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा,सितलादेवी माविका बाबुराम अधिकारी,मदरल्याण्ड माविका नारायण शर्मालगायतले मन्तव्य राखेका थिए ।
उत्कृष्ट विद्यालयलाई पुरस्कार
कार्यक्रममा सामुदायिक तथा संस्थागततर्फ गण्डकी प्रदेशमा उत्कृष्ट हुने विद्यालयलाई सम्मान पनि गरिएको छ । सामुदायिकतर्फ पोखराको शितलादेवीमा रहेको सितलादेवी मावि पहिलो, बागलुङको गणेश मावि दोस्रो र पोखराकै विन्ध्यवासिनी माविले तेस्रो स्थान प्राप्त गरे । ती विद्यालयलाई क्रमशः ८०, ६० र ४० हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । निजीतर्फ पोखराको मदरल्याण्ड मावि, शिशुनिकेतन मावि र गण्डकी बोर्डिङ स्कूल क्रमशः पहिलो,दोस्रो र तेस्रो भए ।
फोटो क्याप्सन ः २०७५ सालमा गण्डकी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत शिलतादेवी माविका टीकाराम कोइरालासहितको टोलीलाई पुरस्कार र प्रमाणपत्र बितरणगर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->