तनहुँ ( दुलेगौँडा ) ,३० भदौ – खानेपानीको चरम अभाव झेल्दै आएका तनहुँ भिमाद –५, आम्डाँडाका बासिन्दाहरुमा लिफ्टिङ प्रविधिबाट घरघरमा धारा जडान गरिएपछि खुसी छाएको छ । भालुखोलाबाट बिद्युतीय लिफ्टिङ प्रविधि मार्फत खानेपानी जडान गरिएपछि स्थानीय बासिन्दालाई घन्टाँै लगाएर पानी बोक्नु पर्ने समस्या हटेको हो ।
अहिले घरघरमा धारा जडान गरि पानी बितरण गरिएको आम्डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिब गोपाल थापाले जानकारी दिए । तल बग्ने खोलाको पानी गाउँमा ल्याउने कुरालाई सुरुमा गाउँलेले पत्याएनन् । श्रमदान गर्दैगर्दा पनि मेहनत खेर जान्छ कि ? भन्दै प्रश्न उठाए । तर, पानी उकालो चढ्यो । स्थानीय दिलमायाका अनुसार खानेपानी नहुँदा बिहानै उठेर कुवामा पानी लिन जाने दैनिकी फेरिएको छ । ‘एक गाग्रो पानी भर्न २ घन्टा पालो कुर्नु पर्ने बाध्यता थियोे’, उनले भनिन्,‘ घरको अरु कामको लागि समय नै हुँदैनथ्यो,तर अहिले २४ सै घन्टा आफ्नै घरको धारामा पानी आएपछि हामी खुसी भएका छौँ ।’
फिनल्याण्ड सरकार र नेपाल सरकारको आर्थिक सहयोग र स्थानीय श्रमदानमा आम्डाँडा खानेपानी योजना सम्पन्न भएको हो । ८४ लाख रुपैयाँको लागतमा निर्मित खानेपानी योजनाबाट ५९ घरपरिवार लाभान्वित भएका छन । भालुखोलाबाट लिफ्टिङ्ग गरिएको पानी बरालथुम्कीमा जम्मा हुन्छ । खानेपानी तान्न र बितरण गर्न गाउँकै युवालाई खटाइएको छ ।





