
पोखरा, २असोज – घरमा खाने खर्च पनि नभएपछि एक युवती काम खोज्दै पोखरा आईन् । सहर जाने र काम गर्ने अनि केही रकम बचाएर घरखर्च पठाउने सोचका साथ उनी काम खोज्दै होटेल चहारिन् । होटेल मालिकले काम भन्दा पनि उनको शरीर देखेर काममा राखे । एकदुई दिन त काम नै गरिन् ।
दुईचार दिनपछि होटेल संचालकले अन्य ग्राहकसँग ती युवती मिलाईदिने भन्दै थप रकम लिन थाले । युवतीलाई थाहा नै छन् । होटेल संचालकले रकम बुझेपछि ग्राहकहरुले युवतीको जबर्जस्ती करणी गर्न थाले । एउटा काममा राख्ने र जबर्जस्ती यौनधन्दामा लगाउने गरेपछि पीडित युवती न्याय खोज्दै प्रहरीकोमा पुगिन् ।
कास्की प्रहरीले अहिले होटेल संचालकलाई नियन्त्रणमा लिएर मानव बेचबिखन मुद्धा चलाएको छ । यो घटना गएको भाद्र १० गतेको हो । पोखरा महानगरपालिका २९, ३० र ३१ घर भएका तीन युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाउने र रकम लिने गरेको थाहा पाएपछि प्रहरीले पोखरा १८ सेदीबगरमा भ्यूल्याण्ड गेष्ट हाउसका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
“आर्थिक अवस्था कमजोर भएपछि काम खोज्दै आएका युवतीलाई राम्रो काममा लगाईदिन्छु, पारिश्रमिक पनि राम्रै दिन्छु भनि प्रलोभनमा पारेर यौनधन्दामा लगाएको रहेछ” कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, “काममा राख्ने र यौनधन्दामा लगाउने होटेल संचालकलाई नियन्त्रणमा लिएका छौँ ।”
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन र भदौमा मात्रै यस्ता प्रकृतिका घटनामा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काम खोज्न आएका युवतीको पहिचान गर्ने र आर्थिक प्रलोभनमा पारी वेश्यागमनमा लगाउने गरेको प्रहरीको भनाई छ । गएको साउन १८ मा पनि सोही प्रकृतिको घटना घटेको छ । जसमा नाबालिका पनि संलग्न छ ।
पोखराको लेकसाईड स्थित नेचर कनेन्सन होटेलका संचालक विष्णु श्रेष्ठ पक्राउ परे ।
“राम्रो काममा लगाईदिन्छु, पैसा पनि आउँछ, भनेर प्रलोभनमा पार्ने, त्यसपछि होटेलमा आउने विभिन्न ग्राहकसँग बार्गेनिङ गरि रकम बुझ्ने र वेश्यागमनमा लगाएको पाईयो ।” कार्कीले भने, “नाबालिकालाई पनि यौनधन्दामा लगाएपछि अहिले जबर्जस्ती करणी मुद्धा र मानव बेचबिखनको मुद्धा चलाईएको छ ।
श्रेष्ठले १६ वर्षीय नाबालिका र १८ वर्षीय युवतीलाई काममा राखेर वेश्यागमनमा लगाउने गरेका थिए ।
साउनयता मात्रै यस्ता प्रकृतिका तीनवटा घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । साउन १७ गते पनि पृथ्वीचोकमा होटेल सञ्चालन गर्ने २२ वर्षीय प्रवीण गुरुङ पक्राउ परे । उनले युवतीलाई फकाएर काममा राख्ने र वेश्यागमनमा लगाई आर्थिक लाभ लिने गरेका थिए ।
अज्ञानता र आर्थिक प्रलोभन देखाएर बालिका र युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोपमा पोखराको पृथ्वीचोक, बाग्लुङ बसपार्क, लेकसाईड स्थित मुख्य बजार क्षेत्रबाट श्रृंखलाबद्ध रुपमा पक्राउ पर्ने क्रम बढ्दो छ । पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ सडकखण्ड आसपासका केही होटल सञ्चालकले बालिका र युवती राखेर यौनधन्दा गर्ने गर्छन् ।
यस्ता प्रकृतिका घटनामा कतिपयले युवतीलाई पनि केही रकम दिने गरेको पाईएको छ । “पीडितलाई पनि केही पैसा दिने गर्दारहेछन्, उनीहरुले उजुरी पनि दिन सक्दैनन्, रकम पनि पाउँछन्, अनि रोजगारीको वैकल्पिक उपाय पनि नभएपछि बाध्य भएर सहेर बस्ने गर्दछन, यस्तोमा हामीले अन्य शक्ति (सहायता) केन्द्रको सहयोगमा उद्धार गर्ने गर्दछौँ ।” उनले भने, “अहिले ती नाबालिकालाई शक्ति केन्द्रको संरक्षणमा राखेका छौँ ।”
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा मानव बेचबिखनका ९ वटा मुद्धा परेका छन् । २०७३÷०७४ मा ३, ०७४÷७५ मा ४ र गत आवमा २ वटा मुद्धा परेको प्रहरीको तथ्यांक छ ।
तर, यी बाहेक धेरै यस्ता घटनाहरु भने अन्य मुद्धामा परिणत हुने गरेका छन् । कारण, आर्थिक लेनदेन देखिए प्रहरीले मानव बेचबिखन मुद्धा लगाउने गर्दछ, तर कतिपय अवस्थामा पीडित र पीडकको सहमति भएका कारण सार्वजनिक हितविरुद्ध देखिएको हुँदा सार्वजनिक मुद्धामात्र लगाउने गरिएको छ ।
“कतिपय घटना शंकास्पद हुन्छन्, तर युवतीको सहमतिमा नै हुने गरेका त्यस्ता घटनामा भने पीडितले नै उजुरी दिन मान्दैनन्, जसका कारण मुद्धा नै फितलो हुने गरेको छ ।” कार्की भने ।
पक्राउ परेका सबैलाई मानव बेचबिखन विरुद्धको मुद्धा चलाईएको छ ।
तस्वीर- पत्रकार भेटघाट कार्यक्रममा घटनाको जानकारी दिदै कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की ।





