शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विकासको गति बढ्दै जान्छ, अर्थतन्त्र ठीक छ : अर्थमन्त्री खतिवडा

विकासको गति बढ्दै जान्छ, अर्थतन्त्र ठीक छ : अर्थमन्त्री खतिवडा

काठमाण्डौ– पोखरा सडक स्तरोन्नतिलाई ४० अर्ब


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७६, आइतबार

पोखरा, ४ असोज –  अर्थमन्त्री डा. युवराज खतिवडाले देशकासबै आर्थिक सूचकांकहरु ठीकठाक रहेको बताएका छन् । उनले मुलुक आर्थिक रुपले खत्तमै भयो भन्ने हल्लाहरु निराधार भएको जिकिर पनि गरे ।
‘लगातार ७ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि भएपछि त मुलुक त खत्तमै भइगो नि’, शनिबार पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिक अधिवेशनमा बोल्दै उनले व्यङ्ग्य गर्दै भने,‘ अब रोजगार पनि वर्षको साढे ३–४ लाख सृजना भयो, खत्तमै भयो नि,अनि त्यो आर्थिक वृद्धि सबै प्रदेशमा समानुपातिक भयो, ६ देखि ८ प्रतिशतको बृद्धि । गण्डकी प्रदेशले र कर्णाली प्रदेशले उस्तैउस्तै आर्थिक बृद्धि गरे,समन्वायिक आर्थिक वृद्धि भयो, खत्तमै भयो ।’
उनले पहिलो चोटीे मुलुकको आर्थिक बृद्धिदर बढी भएको, १९ प्रतिशतभन्दा बढीले निर्यात बढेको र यही अवधिमा १४ प्रतिशतभन्दा कमले आयात बृद्धि भएको बताउँदै आयात घट्दा पनि १४ पनि २२÷२३ प्रतिशतले राजश्व बढेको बताए । उनले अहिले देशको संचितिले नौ महिनाको आयात धान्ने अवस्था रहेकोले अर्थतन्त्र मजबुत रहेको दोहो¥याए ।
‘अंकहरु त्यहीँ छन्,अंकहरुले त्यही कुरो भन्दैछ,’, उनले भने,‘ अब प्रोपोगाण्डा नगराइदिनुहोला,अब निराशा नजगाउनु होला, आशा जगाउनुहोला, हामी पनि उद्योगी÷व्यवसायीकै पार्टी हौँ ।’ उनले सरकारका कुरा नपत्याए विश्व बैंकको प्रतिवेदन हेर्न पनि अनुरोध गरे । उनले बजारमा तरलता नहुनु भनेको लगानी बढेको हो भन्दै लगानी गर्ने ठाउँ नभए पो लगानीको वातावरण नभएको भन्न मिल्छ भन्नेमा जोड दिए । अर्थमन्त्री खतिवडाले सुरुको एक वर्ष विकासको गति ढिला भएको स्वीकार्दै अब बिस्तारै गति बढ्ने दावी पनि गरे । ‘हामीले नेकपाको चुनाव लड्दै २० वर्षको कार्ययोजनासहित चुनाव लडेका हौँ,यहाँ २ वर्षे, ५ वर्षे कार्ययोजना बनेका छन्’, उनले भने,‘ हाम्रो गति बढ्दै जान्छ, विकासको गति पनि सुनिने गरि अगाडि बढ्दै जानेछ ।’
काठमाण्डौ– पोखरा सडक स्तरोन्नतिलाई ४० अर्ब
उनले काठमाण्डौ– पोखराको सडक स्तरोन्नतिको लागि ४० अर्ब रुपैयाँ छुट्टयाएको र त्यो विकासको काम गर्दा करिब १५÷२० अर्बको आयात समेत बढ्ने जिकिर गरे । ‘ विकास गर्दा आयात बढ्छ, यसमा हामीलाई धारेहात नलगाउनुहोला’, उनले भने,‘व्यापार घाटा बढिरहोस् भन्ने हैन, निर्माण गर्नैपर्छ र व्यापार घाटा घटाउन पर्यटनमा जोड गर्नुपर्छ ।’ उनले पोखराबाट लुम्बिनी जोड्न सिद्धार्थ राजमार्गको सिद्धबाबामा टनेलको डिपिआर तयार भएकाले छिट्टै काम सुरु हुने बताए ।
‘सेयरभन्दा बढी ऋण लिने व्यवसायी , सेयर बढी हुने बैकर्स’
एउटा व्याजदरमा ऋण दिएपछि निश्चित अवधिसम्म ब्याजदर बढाउन नहुनेमा आफू दृढ भएको उनको भनाई थियो । उनले एक प्रतिशत बढी ब्याज लिए पनि बीचमा ब्याज नबढाउने व्यवस्था बनाउन लागिएको जानकारी गराए । सेवा शुल्कको हकमा पनि तिर्नैपर्ने बाध्यकारी नीति परिवर्तन हुनुपर्ने उनको भनाई थियो । अहिले बैकर्स र व्यवसायीबीचको फरक छुट्याउने अवस्था नै नभएको बताउँदै उनले अगाडि भने,‘ बैंकको सेयरभन्दा बढी ऋण लिएको छ भने व्यवसायी र ऋण कम सेयर बढी भएकाहरु बैंकर भएको मैले बुझेको छु ।’
राजश्व ऐनको बिरोध नगर्नुहोस्, ब्याक फायर होला
उनले २०५२ सालको राजश्व चुहावसम्बन्धि ऐनले सामान्य गल्ती गर्दा पनि एकवर्ष जेल हाल्ने अवस्था भएको स्मरण गर्दै उनले आफूले जेल हाल्ने र दण्ड बढाउने का गरेको दावी पनि गरे । उनले अगाडि भने, ‘कृपया अब यो जेल हाल्ने कुरा नगर्नुहोला, अन्यथा तपाईँहरुलाई नै ब्याकफायर हुन्छ ।’
माछापुच्छे«को छायाँ फेवातालमा देखिन्छ भन्ने प्रसंगबाट आफ्नो मन्तव्य सुरु गरेका अर्थमन्त्रीले पारदर्शिता अपनाउन उद्योगी÷व्यवसायीसँग आग्रह गरे । ‘तपाईँको अनुहार माछापुच्छे« फेवातालमा देखिएजस्तै टिलिक्क टल्कन्छ कि टल्कँदैन, हेर्नुहोस्, यो कुरा म आफैबाट सुरु गर्छु’, उनले भने, ‘एकले अर्कालाई दोषारोपण गरेर भ्रष्टाचार सकिने हैन र ढाकछोप मात्रै हुन्छ ।’राजश्व चुहावट भनेको भ्रष्टाचार नै हो, अपराध नै हो भन्दै उनले भूलचुकले भएका गल्तीमा सुधार गर्ने व्यवस्था भएको बताउँदै उनले सबै भ्रष्टाचार अमान्य भएको उल्लेख गरे ।
कर प्रणाली नयाँ जुत्ताजस्तै
उनले अहिले सरकारले लागु गरेको कर प्रणालीलाई नयाँ जुत्ताको संज्ञा दिँदै अहिलेको कर प्रणाली पनि नयाँ जुत्ताजस्तै भएको जिकिर पनि गरे । ‘नयाँ जुत्ताले कहिलेकाहिँ खुट्टा पनि खोस्सिन्छ, अहिलेको कर प्रणाली पनि यस्तै हो’, उनले भने,‘पछि जुत्ता त कति राम्रो हुन्छ कि छोड्नै मन लाग्दैन ,अहिलेको कर प्रणाली पनि यस्तै हो, अहिले अलिअलि बिझाएजस्तो भएको छ, पछि ओहो, मैले स्वच्छ व्यवसाय गर्न पाएँ भन्ने हुन्छ ।’
भिसिटिएसको बिरोध, राजनीति मात्रै
उनले व्यवसायीहरुबाट अत्यन्तै विरोध भएको ढुवानी साधनमा ल्याएको अनलाइन ट्रयाकिङ प्रणाली( भिसिटिएस) मा आएका १० हजार मालबाहक गाडीहरुमा कुनै समस्या नभएको र समस्या चाहिँ राजनीति गर्नेहरु मात्र भएको जिकिर पनि गरे । उनले यो प्रणालीमा भएका समस्या हल गरिरहेको र नेपाल उद्योग वाणिज्य महासंघलगायतका संघ÷संस्थासँग छलफल गरेरै यो सुधार भएको बताए । उनले तीन महिना संवादमा बसेको र अब पनि संवादमा बसेर समय खेर फाल्ने मुडमा सरकार नभएको बताए ।
पान लिँदैमा कर तिर्ने होइन
स्थायी लेखा नम्बर ( पान) लिँदैमा स्वतः कर तिर्नुपर्छ भन्ने हैन भन्दै उनले कर तिर्ने दायरामा भएकाहरुलाई सरकारले खोजिखोजी कर लिने उद्घोष गरे । एक हजार रुपैयाँ ज्याला कम भयो भनेर उठेका मागहरु नै अव्यवहारिक भएको बताउँदै उनले भने,‘ दिनको एक हजार रुपैयाँ तपाईँले दिनु भएको छ भने आउनुस्, म यहाँ नै माला लगाइदिन्छु ।’ एक हजार रुपैयाँ मजदूरलाई छुट दिँदा कुनै व्यीक्तलाई खर्च लेखेर अर्वौ छल गर्ने अवस्था आउने भएकोले यो निर्णयबाट सरकार पछि नहट्ने पनि बताए । उनले ठूला व्यवसायीहरुसँग एक रुपैयाँ पनि कर नछोड्ने अभियानमा सरकार लागेको बताए । ‘के हामी खर्चलाई मात्रै खर्च देखाउँछौँ’, उनले प्रश्न गर्दै भने,‘ के तपाईँहरु नभएको खर्चलाई पनि खर्च लेख्नुहुन्न?’ उनले बैंकमा एउटा विवरण र कार्यालयमा एउटा विवरण भर्ने काममा कडाई गर्दा पनि असन्तुष्टी बढेको पनि उनले बताए । सम्पत्ति कर कहाँ लगाउने भन्नेबारे बहस जारी रहेको बताउँदै यसमा उत्तेजित हुनुपर्ने वातावरण नभएको जिकिर पनि गरे । उनले सम्पत्तिमा ५० प्रतिशत कर लगाउने कुनै सोच नभएको बताउँदै उनले अगाडि भने,‘ के यो सरकार बहुलाएको छ र सम्पत्तिमा कर ५० प्रतिशत कर लगाउने ?’ उनले अर्थमन्त्रीको लहडले कुनै कर नलगाइने बताए । उनले तीन तहका सरकारबीच भएका करका अन्यौलहरु सच्याउने र वित्तीय संघीयता कार्यान्वयनलाई छिटो टुंग्याउने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले रेमिट्यान्सले धानेको अर्थतन्त्र सुधार नभए समस्या आउने बताएका थिए । उनले सोधानान्तर घाटा बढ्दै जाँदा त्यसले समग्र अर्थतन्त्रमै समस्या सृजना हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनले यो वर्ष मौषम पनि अनुकुल नभएको र निजी क्षेत्रको मनोबल पनि नबढेकाले सरकारले निजी क्षेत्रको मनोबल बढाउनेतर्फ लाग्न सुझाव दिएका थिए । उनले नेपालमा पर्यटन आवागमन बढे पनि उनीहरुको खर्च कम गर्न थालेको बताउँदै देशमा उच्चस्तरीय पर्यटक भित्र्याउनेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा बन मन्त्री विकास लम्सालले अस्थिरतामा रमाउनेहरुले विभिन्न एजेण्डा निकालेर सरकारको बिरोध गरेको गुनासो गरे । उनले प्रदेश सरकारले अािर्थक उत्थानको लागि विभिन्न कार्यक्रम ल्याएको प्रष्ट पार्दै आउँदो ३ महिनामा १५ लाख पर्यटक ल्याउने दावी पनि गरे । उनले गोर्खाको पालुङटारमा १३ हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन लागेको र त्यहाँ विद्युतीय गाडी उत्पादन गर्नेतर्फ पनि तयारी गरिएको बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सजिलो करहरु संघीय र प्रदेश सरकारले उठाउने र असजिलो ठाउँमा पालिकालाई कर उठाउने जिम्मा दिइएको गुनासो गरे । ‘धेरै सजिलो कर संघलाई, अलि सजिलो प्रदेशलाई र रातोमुख लगाउनु पर्ने,बाझ्नु पर्ने ठाउँमा पालिकालाई कर उठाउन भनिएको छ’, उनले भने,‘अब यो कुरामा ख्याल गरिनुपर्छ ।’ उनले प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले ल्याउन लागेको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम अनावश्यक भएको टिप्पणी गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ठ सदस्य चण्डिराज ढकाल, लक्ष्मी विद्यापदकबाट विजेता स्वेताकुमारी गुप्ता, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोखरेलगायतले बोलेका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->