तनहुँ, ७ असोज – सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको तनहुँको भीमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । नेपालका गुफामध्ये सिद्ध गुफा सुन्दर भएको सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदी बताउँछन् । ‘सिद्ध गुफा सुन्दर छ,’ उनी भन्छन्, ‘सुन्दर भएकाले पर्यटकीय गन्तव्यमा पर्ने गरी सरकारले घोषणा गरेको हो ।’ गुफा भित्र झन्डै ३ सयजना बस्न मिल्छ । चुन पग्लेर बनेको भगवानका आकृति छन ।
तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ । गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा ३ किलोमिटर लामो छ । यो नेपालकै लामो भएको उनले दाबी गरे । चमेरो गुफाभित्र पातालगंगा रहेको छ । ‘गुफाको प्रवेश मार्ग पुग्दा पानी झरेको आवाज सुनिन्छ,’ उनले भने, ‘तर, भित्र जाँदा पानी झरेको आवाज सुनिन्न ।’ सय मिटर पर पुग्दा दायाँतर्फ नदी कराएको सुनिन्छ । सय मिटर पर पुगेपछि बायाँतर्फ नदीको आवाज सुनिन्छ । तर, नदी देखिँदैन ।
सिद्ध गुफा र चमेरो गुफाको बीचमा हावाको लहरी चल्छ । यो नै सिद्ध गुफा र चमेरो गुफाको अनुपम रहेको उनले बताए । पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षअघि पञ्च वर्षीय गुरुयोजना बनाएर सिद्ध गुफा क्षेत्रको पूर्वाधार निर्माणमा गुफा विकास समिति जुटेको छ । जिदीखोलीदेखि सिद्धगुफा, सिद्ध गुफादेखि चमेरो गुफासम्म सिंढी बाटो निर्माण गरिएको छ । समितिले सिद्ध बाबाको मन्दिर, बाराही मन्दिर, ४ प्रतीक्षालय, २ सुविधासम्पन्न शौचालय निर्माण गरेको छ । पर्यटकलाई मध्यनजर गर्दै सिद्ध गुफा क्षेत्रमा वनभोज स्थल समेत तयार गरेको छ । सवारी साधनलाई व्यवस्थित गर्न पार्किङ स्थल बनाइएको छ । पर्यटकीय गन्तव्य कार्यक्रमको ५० लाख रुपैयाँ, श्रमशिवर सहित अहिलेसम्म पूर्वाधार निर्माणमा झण्डै एक करोड रुपैयाँ खर्च भइसेको छ ।पूर्वाधार निर्माण करिब–करिब सकिएकोले अब प्रचारप्रसार गरेर पर्यटक भित्र्याउँने समितिका अध्यक्ष सुवेदी बताउँछन् । ‘भम्रण वर्ष २०२० मा पर्यटक भित्र्याउँने हो,’ उनले भने, ‘अब यसकै तयारीमा लाग्ने हो ।’ भीमाद बजारदेखि सिद्ध गुफा ३ किमि दुरीमा पर्छ । उक्त सडकको ग्राभेल भइसकेको छ । सहज रुपमा सवारीसाधन आउँजाउँ गर्न मिल्छ । ओझेलमा परेको सिद्ध गुफालाई अब चर्चामा ल्याउने उनले बताए ।
पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेको स्थानीय लालबहादुर थापाले बताए । ‘पूर्वाधार तयार भएको छ,’ उनले भने, ‘सिद्ध गुफामा आन्तरिक पर्यटक आउन थालेका छन्। यो खुसी कुरा हो ।’
आन्तरिक पर्यटक आउन थालेपछि प्रचारप्रसारमा सहयोग पुग्ने आशा उनी व्यक्त गर्छन् । ‘सिद्ध गुफा पर्यटकीय गन्तव्य बनाउन सकिए यस क्षेत्रको विकास हुन्छ,’ उनी भन्छन्, ‘सिद्ध गुफासँगै आसपासका क्षेत्रमा पनि पर्यटकीय गन्तव्यको पहिचान हुनुपर्छ ।’सिद्ध गुफा सहित भीमाद–९ का पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गरेको वडाध्यक्ष इमानबहादुर थापाले बताए । ‘भीमाद–९ लाई पर्यटकीय क्षेत्र बनाउने हो,’ उनले भने, ‘पर्यटकीय सम्भावना रहेका ठाउँको पहिचान गरी डीपीआर तयार गरेका छौं ।’ इलुङ झरना, मोहोरियाको घाउच्च लुम्हुँ पाइमीको भ्यूटावरलाई समेटेर एकीकृत पयर्टकीय डीपीआर तयार भएकाले पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने उनले बताए । परापूर्वकालमा जंगलमा सिकार खेल्ने क्रममा मृग र कुकुर गुफा भित्र पसेपछि कुकुरले मृग खोज्ने क्रममा सिद्ध गुफा पत्ता लागेको जनविश्वास छ ।जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ ।
निर्माणका लागि प्रदेश सरकारको रु नौ लाख २९ हजार र स्थानीयको रु एक लाख पाँच हजार खर्च भएको छ । पदमार्गबाट ३५० घरधुरी लाभान्वित भएका छन् । भानु नगरपालिका–१२ र १३ स्थित बयापानी भञ्ज्याङदेखि कोटकाली भयरथान हुँदै मिर्लुङकोट जाने २९५ मिटर पदमार्ग रु १२ लाख ५५ हजारमा निर्माण सम्पन्न भएको छ । पदमार्गका लागि प्रदेश सरकारको रु नौ लाख ५२ हजार र स्थानीयवासीको रु तीन लाख तीन हजार लगानी भएको छ । भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदमार्ग निर्माण भएसँगै स्थानीयवासीलाई हिँडडुलमा सुविधा पुगेको जानकारी दिए । “पदमार्र्ग निर्माण नहुँदा आवातजावतमा समस्या हुन्थ्यो, अब भने सहज भएको छ,” थापाले भने ।





