पोखरा,८ असोज – ७ औँ संस्करण संगमकप अन्तरगत प्रीक्वाटरफाइनलका सबै खेल सम्पन्न भएका छन् ।
लेखनाथको भण्डारढिक आदर्श क्लबको खेल मैदानमा मंगलबार भएको पहिलो प्रीक्वाटरफाइनल खेलमा एलजी एसोसिएसनले माछापोखरी क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । खेल सुरु भएको ७ औँ मिनेटमा नै एलजीको लागि सुलेमान मगरले गोल गर्दै अग्रता दिलाउँदा खेलको ३० औ मिनेटमा अभिनाश तामाङले एक गोल गर्दै पहिलो हाफ २–० को अग्रता बनाएका थिए । खेलको ६७ औ मिनेटमा एलजीको लागि हेमन्तले गोल गर्दै एलजीको जित निश्चित गरेको हो । पहिलो हाफमा नै २–० ले पछि परेको माछापोखरीले खेलमा फर्कने प्रयास गरेपनी कुनै गोल गर्न सकेन । खेलको म्यान अफ दी म्याच एलजीका अभिनाश तामाङ घोषित भए । उनले ट्रफी र प्रमाणपत्र हात पारे । अर्को खेलमा आदर्श क्लब भण्डारढिकले शितल योति क्लबलाई ६–० को भारी गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । आदर्शको जितमा अनुज भण्डारी ,अजित गुरुङले समान दुई दुई गोल गरे भने । बेलप्रसाद गुरुङ र टाइसन तामाङले समान एक एक गोल गरेका थिए । खेलको १० आँै मिनेटमा अनुज भण्डारीले गोल गर्दै आदर्शलाइ अग्रता दिलाएका थिए । भण्डारीले खेलको ४० आँै मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको १८ औ मिनेटमा बेलप्रसाद गुरुङले एक गोल गरेका थिए भने खेलको २३ र २५ औ मिनेटमा आदर्शको लागि अजित गुरुङले दुई गोल गरेका थिए खेलको ६० औ मिनेटमा आदर्शका टाइसन तामाङले एक गोल गर्दै आदर्शको जीत फराकिलो बनाएका थिए । आदर्शको अगाडि निकै कमजोर देखिएको शितलज्योतिले खेलमा लय समात्न भने सकेन । आदर्शले शितलज्योतिलाइ खेलभर निकै दबाबमा राखेको थियो । खेलको म्यान अफ दि म्याच आदर्शका अनुज भण्डारी घोषित भए । मंगलबारको अन्तिम खेलमा ड्यामसाइडले गार्डेनलाई ४–१ गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच गोविन थापा घोषित भए ।
संगम क्लबको आयोजनामा भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्य्सतै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार, उत्कृष्ट डिफेन्स, मिडफिडर, स्ट्राइकर, गोल रक्षक र सर्वाधिक गोलकर्ताले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक शिव गुरुङ (माया) ले जानकारी दिए ।





