पोखरा,१० असोज – लेखनाथ भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी सातौँ संगम कपको फाइनलमा एलजी एसोसिएसन र बि–१३ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् ।
विहीबार भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित एलजीले संगम फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको ७१ औँ मिनेटमा एलजीका सुलेमान मगरले गरेको गोल नै निर्णायक बन्न पुग्यो । निकै बलियो प्रतिद्वन्द्धी संगमलाई खेलमा फर्कने अवसर भने दिएन । पहिलो हाफको ३१ औ मिनेटमा डिएरिया बाहिर एलजीका गोलरक्षक आकाश रानाभाटले ह्याण्ड गर्दै रातोकार्ड पाउँदा पहिलो हाफमा नै एलजी १० खेलाडीमा सीमित रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि एलजीले निकै उत्कृष्ट प्रदर्शन गर्दै जीत निकालेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा बि–१३ ले साहारा क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।साहारालाई १–० गोलले हराउँदै बि–१३ ले फाइनलमा एलजी सँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलको ६५ औ मिनेटमा बि–१३ का सन्तु गुरुङले गोल गर्दै टिमलाइ फाइनल पु¥याएका हुन् । पहिलो हाफ गोल रहित बराबरीमा रकिएको थियो । साहाराले खेलमा फर्कने प्रयास गरे पनि सेमिफाइनल बाटै बहिरिन बाध्य भयो । खेलको म्यान अफ दि म्याच बि–१३ का सन्तु गुरुङ घोषित भए ।
संगम क्लबको आयोजनामा भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यसतै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार, उत्कृष्ट डिफेन्स, मिडफिडर, स्ट्राइकर, गोल रक्षक र सर्वा्धिक गोलकर्ताले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक शिव गुरुङ (माया) ले जानकारी दिए ।





