पोखरा,११ असोज – समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गण्डकी प्रदेश तमु ( गुरुङ) हरुकै आदिम थलो भएको दोहो¥याएका छन् । शुक्रबार पोखरामा तमुवान राष्ट्रिय समिति घोषणा कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशलाई तमुवान नै बनाउनु पर्ने माग पनि गरे ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको मन्त्रिपरिषदले घटस्थापनामा सार्वजनिक बिदा दिएकै दिन उनले भने,‘ म पनि (बाहुन ) यहीँ जन्मेको हुँ, मेरा जेठाबाले मलाई नै वंशावली लेखाउनु भएको हो, २५ पुस्तादेखि हामी यहीँ छौँ तर यो मेरो थातथलो हैन ।’ उनले जातीय आधारमा संघीय राज्य निर्माण गर्दा मात्रै समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि सदन, सडक सबैतिरबाट संघर्ष गर्नुपर्नेमा जोड पनि दिए ।
‘खासगरी सडकबाट संघर्ष गर्ने हो’, उनले भने,‘आज गठित तमुवान समितिले यो काम गर्छ ।’ उनले संविधानसभाबाट बनेको संविधान अपूर्ण भएकोले त्यसलाई पूर्ण गर्न संसदमा पुग्ने र त्यहाँबाट संविधान संशोधन गर्ने पार्टीको एजेण्डा भएको सुनाए । भट्टराईले सातै प्रदेशमा प्रदेश समिति निर्माण र १० प्लस एक राज्यको अवधारणा अनुसार समाजवादी पार्टी अभियानमा लागेको देख्दा केहिको मुटुमा ढ्याङग्रो ठोकिएको जिकिर पनि गरे । देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक चरीत्रलाई स्वीकार गर्न नसक्नेहरु, सत्तामा रहने र बाहिरका मान्छेहरुको मुटुमा ढ्याङग्रो नै ढ्याङ्ग्रो ठोकिएको पनि उनको जिकिर थियो । ‘संविधान निर्माणको बेलामा राज्यको पुर्नसंरचना समिति र आयोगले पहिचानका पाँच आधार, सामथ्र्यका चार आधार तयार गरेको थियो, त्यस अनुरुप नेपाललाई १० प्रदेशमा राज्यको पुर्नसंरचना गर्नु सबैभन्दा वैज्ञानिक हुन्छ भनिएको थियो’,डा.भट्टराईले भने,‘तर संविधान जारी गर्ने बेलामा शक्ति संतुलनको कारणले गर्दा पूरा गर्न सकिएन ।’ उनले सत्य र न्याय स्थापित नहुँदासम्म मुद्धा उठिरहने बताउँदै मुद्धालाई तार्किक निष्कर्षमा पु¥याउने अभियानमा समाजवादी पार्टी रहेको जिकिर गरे ।
‘अहिले हामीलाई अर्को विद्रोहको बाटोमा गईहाल्नु पर्ने अवस्था छैन, यहि संविधानलाई मानेर जाने हो, केही उपलव्धि भएका छन्, डा. भट्टराईले भने,‘उपलव्धि आधा गिलास जस्तो छ, यस्लाई भरी बनाउन संविधान संशोधन नै भएकोले सडक, सडन र सरकारबाटै हामी लक्ष्यमा पुग्छौं ।’
संघर्ष नगरिकन अधिकार आउँदैन, पूजाआजा घन्टी बजाएर अधिकार पाइँदैन भन्दै उनले संगठन निर्माणमा जोड दिइएको पनि बताए । ‘एकथरिले अहिले उत्तरको बिचारलाई सापटी लिएर प्रयोग गर्ने धृष्टता गरेका छन् भने अर्कोथरिले दक्षिणी चरमदक्षिणपन्थी विचारलाई लिएर नेपाली जनतालाई ठगने काम गरेका छन्’, उनले भने,‘त्यो कांग्रेस र कम्युनिष्टको दिवालियापनको परिचय हो ।’
सामाजिक अगुवा तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जनजाती, उत्पिडित, महिला, पछाडी पारिएकाहरुको लागि बोल्ने कोही नभएको बताउँदै सबै अटेको, सबैको सहभागिता भएको संरचना आफूहरुले चाहेको बताइन् । विशेष अतिथि पूर्वमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले तमुवानका तमुको मात्र हो भन्ने बुझ्नु हुँदैन, तमुवान संंस्कृति हो, सबैको साझा हो भने । सांसद हरिशरण आचार्यले आफुलाई गण्डकी प्रदेश भन्न गाह्रो लागने गरेको बताउँदै अब आन्दोलन बाटै संविधानको संशोधन गरिने उद्घोष गरे । कार्यक्रममा समाजवादी पार्टीका गण्डकी ईन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य कमला गुरुङ, युवा ईन्चाार्ज देवी सुवेदी, पूर्व सभासद डिवि नेपालीले पहिचानको लडाई र संविधानमा अपूरो बनाइएका माग प्राप्तिका लागि लागिरहने र माग पूरा गराईछोड्ने अठोट व्यक्त गरे । कार्यक्रम नवगठित तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
शुक्रबार घोषणा भएको समितिको अध्यक्षमा होम गुरुङ रहेका छन् । यसैगरी समितिको उपाध्यक्षमा मनोज किराँती, ज्ञानु आचार्य र किसन विश्वकर्मा रहेका छन् । मुख्य सचिवमा विकल पौडेल, सचिव नौबहादुर गुरुङ,कोषाध्यक्ष कृष्णकुमारी बराम रहेको सो समिति ३३ सदस्यीय रहेको छ । यो समाजवादी पार्टीको जातीय मोर्चाकै स्वरुपमा निर्माण गरिएको छ ।





