पोखरा,१३ असोज – दशैँको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रबद्र्धनको लागि विध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सबको आयोजना गरेको हो । महोत्सव सुरु भएसँगै सोमबार घटस्थापनाको अबसरमा शोभायात्रा निकालियो ।विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पोखराको बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै पुन ः मन्दिरमा पुगी समापन भएको थियो ।
शोभायात्रामा नवदुर्गाको ९ रुपको झाँकी, एक सय आठ कलश, विन्ध्याबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समूह, जातीय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । शोभायात्रापछि घटस्थापनाको शुभसाईतमा जमरा राखिएको छ ।
नवदुर्गा महोत्सबअन्तर्गत महानवमीको दिनसम्म दैनिक नवदुर्गा कथा वाचन हुने विध्याबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव अबधिभर करिब एक लाख दर्शनार्थी मन्दिरमा दर्शनका लागि आउने उनले बताए ।करिब ३ सय बर्षको इतिहास बोकेको विध्याबासिनी मन्दिरमा कास्कीसँगै आसपासका जिल्लाहरु तनँहु, लमजुङ, स्याङजा, पर्बत र आन्तरीक र विदेशी पर्यटकहरु दर्शनार्थीहरु आउने गरेका छन् ।





