बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म पार्टीका सबै निर्णयहरु शिरोपर गर्छु : सह-इन्चार्ज बराल

म पार्टीका सबै निर्णयहरु शिरोपर गर्छु : सह-इन्चार्ज बराल

कतिपय राम्रा कुराको प्रचार नहुँदा पनि समस्या छ । नराम्रा कुराहरुको बढी प्रचार भएको छ ।


  • अन्तरवार्ता
  • असोज १५ २०७६, बुधबार

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कास्कीका सह–इन्चार्ज हुन्, श्रीनाथ बराल । पार्टीको केन्द्रीय सदस्य तथा किसान महासंघका स्थायी कमिटीका सदस्य पनि हुन्, उनी । एमाले र माओवादी केन्द्रको एकतालाइ तल्लो तहसम्म नै पूर्णता दिने काममा खटिएका बरालले अहिलेसम्म के कस्ता कामहरु सम्पादन गरे ? पार्टी र संगठनको अवस्था कस्तो छ ? समस्या के छन् ? पछिल्लो समय दुई तिहाईसहितको सरकारको किन आलोचना बढेको छ अनि कास्की क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनबारे नेकपाको धारणा के छ भन्नेबारे उनीसँग हामीले लामो कुराकानी गरेका थियौँ । प्रस्तुत छ, लामो कुराकानीको सम्पादित अंश ।
दिन कसरी बितेका छन् ?
म राजनीतिक र सामाजिक मान्छे भएको हुनाले पार्टीकै काममा जुटेको छु । जनताका विकास निर्माणका कामहरुमा पनि मेरो ध्यान जान्छ ।
पार्टी सह–इन्चार्जको रुपमा चाहिँ के गर्दै हुनुहुन्छ ?
पार्टीको केन्द्रीय सदस्यसहित मलाई कास्कीको सह–इन्चार्जको जिम्मेवारी दिइएको हो । अहिले मैले मात्र नभए हाम्रो टिमले पार्टीका तल्लो कमिटीहरु निर्माणलाई अन्तिम अवस्थामा पु¥याएका छौँ । महानगरका सबै वडामा कमिटी बनिसके । अब गाउँ पालिकाका वडाहरुमा संरचना बनाउने काम गर्दैछौँ । अब हामीले यो प्रक्रियालाई तिहारअघि नै सक्छौँ ।
एकिकरणको आधार चाहिँ के छ ?
दुई पार्टी एकिकरण हुने बेला बनाएको नीति अनुसार(पूर्वएमालेका ६० र पूर्वमाओवादी केन्द्रबाट ४० प्रतिशत हिस्सा ) नै काम भएको छ । एउटै पार्टी भएकाले आवश्यकता, साथीहरुको सक्रियता हेरेर तलमाथि भएको होला तर मूल कुरा नीति नै हो । केन्द्रीय कमिटीले महानगरको अध्यक्ष र सचिव बनाउन ढिला गर्दा समस्या भएको हो । अब समस्या हुँदैन । गाउँपालिकाको ३९ वटा वडामा पनि संरचना बनाउँछौँ ।
वडा कमिटी बनाउँदा वडाहरुमा असन्तुष्टी छन् रे नि ? जस्तो वडा नम्बर ८ मै समस्या देखिएको छ ।
गुनासाहरु छन् । पार्टीको निर्णय भनेर साथीहरुले मान्नुभएको छ । यो ( वडा नम्बर ८) मा केही समस्या देखिएको छ । यो पनि मिल्छ । अरु वार्डमा पनि गुनासो थियो । पार्टी एकताको भावनामा सबै खुसी हुनुहुन्छ । पार्टीको तल्लो तहको एकिकरण ढिला भयो । हामी जुन कार्यदिशा लिएर अघि बढ्दैछौँ त्यसमा प्रशिक्षण र सहकार्यको भावना जगाउनु पथ्र्यो । त्यो हुन नसक्दा पनि यस्तो भएको हो ।
गुटबन्दीको समस्या पनि छ हो ?
पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्छ । सबैले अवसर पाउने वातावरण सृजना गर्नुपर्छ । कास्कीमा जति पार्टी सदस्य हुनुहुन्छ, उहाँहरुलाई जिम्मेवारी दिनुपर्छ । हिजो त्यस्तो अवस्था भएको भए पनि अन्त्य हुनुपर्छ । पार्टी सबैको हो र योग्यलाई जिम्मेवारी दिने मामिलामा कन्जुस्याइँ गर्नुहुँदैन । तर, पार्टीको अधिवेशनभन्दा अगाडि जुन विधि र प्रक्रिया बनाइएको छ, त्यस अनुसार नै अघि बढ्नु पनि पर्छ ।
कास्की गुटबन्दीमा अगाडि आउँछ, तपाईँ पनि गुटबन्दीको सिकार बन्नु भएको चर्चा हुन्छ नि !
त्यो त बाहिर जे देखियो त्यही हो, व्यक्तिलाई लाग्ने पनि त्यही हो । तर, त्यो एउटा अध्याय थियो । अब नयाँ अध्याय सुरु गर्नुपछृ । अब इतिहासबाट पाठ सिक्नुपर्छ । नेपाली जनताको शान्ति, समृद्धि र अग्रगमनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । यो अर्थमा पार्टी पनि साध्य हैन, साधन हो । पार्टीले आफू भित्रका समस्याहरु विधिसम्मत रुपले हल गर्नुपर्छ । एकिकरणको बेला केही कुरा मिलेनन् भने पनि मिलाउनुपर्छ । नेतृत्वले न्यायपूर्ण र विवेकपूर्ण निर्णय गर्नुपर्छ । कसैलाई पाखा र कसैलाई पाखा गर्नु हुँदैन ।
कास्कीमा रहेको पूर्वएमालेको हकमा एउटै गुटमा भए पनि व्यक्तिपिच्छेका फरक गुट छन् र त्यो अझै हुँदा समस्या भएको कुरा पनि छ नि !
हेर्नुहोस्, गुट बलियो हुँदा पार्टी बलियो हुँदैन, पार्टी बलियो बनाउँदा गुट रहँदैन । हाम्रो जुन जनवादी केन्द्रीयताको कुरा छ, पार्टीको सिस्टमको जुन कुरा छ, विधानको व्यवस्था छ, कार्यदिशा छ,त्यही अनुसार काम गर्नुपर्छ । विगतमा जहाँजहाँ कमी कमजोरी भए, त्यहाँ समस्या भए । साँचो कुरा त, दुनियाले देखेको कुरा त हो नि । अब त्यस्तो कुरा गर्न हुन्नँ । विगतमा भएको कुरालाई अब सच्याउनु पर्छ । दुनियामा नभएको न्याय नेकपामा हुन्छ भन्ने अनुभूति गराएर अघि बढ्नुपर्छ । यहाँ अन्याय भयो भने झन समस्या हुन्छ । अहिले यो पार्टी असफल भयो भने देश असफल हुन्छ । व्यवस्था असफल हुन्छ । देशको संविधान असफल हुन्छ । प्राप्त उपलब्धिहरु गुम्न सक्छन् । तीनवटै तहमा बहुमतको सरकार भएको बेला पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्छ । यसको लागि जनप्रतिनिधिहरु ठूलो दायित्ववहन गर्नुपर्छ ।
जनप्रतिनिधिको कुरा उठाउनुभयो, उनीहरुको काम गराई कस्तो छ ?
जनप्रतिनिधि भएपछि सबैले नमस्ते गरेका छन्, हाइहाइ हुन्छ । त्यो बेला म ए ग्रेडको हुँ र अरु बि ग्रेडका हुन् भन्ने भ्रम पर्न सक्छ । त्यो भ्रममा पर्न सकिन्छ । वास्तवमा त्यो भ्रम हो । म पार्टीको एक कार्यकर्ता हुँ । हिजो म जे कुरा उठाउँथेँ,अहिले त्यही कुरा रातो कलम लिएर कार्यान्वयन गर्ने हो भन्ने सोच्नुपर्छ । म हिजो जे थिएँ, अहिले पनि त्यही हो भन्ने बुझ्नुपर्छ । प्रगतिशिल काम गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र बनाउने काम गर्नुपर्छ । निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीले चलाउनुपर्छ ।
पार्टींको नीति अनुसार चलेका छन् त ?
चल्नुपर्छ । तर, पार्टीले उनीहरुलाई प्रशिक्षण दिने कुरामा कमी भएको होला । उहाँहरुले राम्रो काम गरेकोमा प्रचार गर्ने, सुझाव निर्देशन दिने काम पार्टीले गर्नुपर्छ । हिजो पार्टी एकिकरणले गति नलिँदा समस्या थिए होलान्, कसलाई कसले निर्देशन दिने भन्ने थियो होला । व्यक्ति–व्यक्तिले जिम्मेवारी नहुँदा निर्देशन दिने र मान्ने कुरा पनि भएन । अब पार्टी कमिटी गठन भएका छन् । पार्टी कमिटीले सिस्टम अनुसार जनप्रतिनिधिहरुलाई पनि चलाउन सुरु भएको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको छ, सरकारले त्यो लक्ष्य पच्छ्याएको छ ?
जान त सरकार त्यही दिशामा गएको छ । कतिपय कुरामा गुनासा नसुनिएको पनि हैन । कतिपय राम्रा कुराको प्रचार नहुँदा पनि समस्या छ । नराम्रा कुराहरुको बढी प्रचार भएको छ ।
तपाईँ त झण्डावाल गाडीमा हुनुहुन्न, जनतासँगै हुनुहुन्छ । तपाईँले पनि राम्रा कामको प्रचार भएन भन्न मिल्ला र ?
जनप्रतिनिधिहरुका जनप्रतिनिधिहरुको कार्यशैलीको कारण गुनासा आएका होलान् । अब जनप्रतिनिधिहरुमाथि उठेका प्रश्नहरुको हल गर्नेतर्फ पार्टीले सोच्नुपर्छ । साथीहरुले राम्रो काम गर्नुभएको छ । उहाँहरुले गरेका राम्रा कामलाई निरन्तरता दिँदै सचेत बनाउने काम पनि पार्टीले गर्नुपर्छ । समस्याहरु छन् । हाम्रो केन्द्रिकृत मानशिकता छ । अहिले पनि ५० लाखका सडकहरु केन्द्रकै मातहतमा भएको अवस्था छ । संघ, प्रदेश र स्थानीय निकायबीच समन्वय नभएको अवस्था पनि छ । अहिले यहाँका कुनै पनि सरकार स्वायत्त त हैनन् नि । यी सरकारबीच समन्वय हुन नसक्दा पनि समस्या आएको होला । कतिपय ठाउँमा प्रदेश र स्थानीय निकायबीच कोर्डिनेसन भएको छैन । सीमित साधन र स्रोतबाट अधिकतम् काम गर्दै अगाडि बढ्नु पर्नेछ । यसो भए समस्या नआउला ।
सरकारले राम्रा कामको प्रचार भएन भन्नुहुन्छ, राम्रा काम नभएर पो जनता निराश भएका होलान् नि ?
हैन, धेरै राम्रा काम भएका छन् । प्रचार हुन सकेको छैन । खासमा संघीयता कार्यान्वयनको लागि अहिलेसम्म धेरै कानून निर्माण भएका छन् । विकास निर्माणले पनि गति लिएको छ । पहिले केन्द्र, त्यसपछि प्रदेश र स्थानीय निकायको चुनाव भएको भए, केन्द्रले बनाएको नियम अनुसार चल्न सजिलो हुन्थ्यो । तर, नेपालमा चुनाव त्यसरी भएन । केन्द्रले बनाउने कानून नबन्दा प्रदेश र स्थानीय निकायलाई समस्या भयो । जस्तो उदाहरणको लागि स्थानीयले सहकारी ऐन बनायो । केन्द्र र प्रदेशसँग बाझिएपछि फेरि बनाउने अवस्था आयो । भएको यस्तै हो । राम्रा काम भएका छन्, रिजल्ट आउन समय लाग्छ । यसको अर्थ गुनासा नै छैनन् भन्ने होइन । जनताको अपेक्षा अनुसारका काम नभएका होलान् अब गर्दै जाने हो । जनअपेक्षा अनुसार सरकार अघि बढ्छ नै ।
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न तथा मूल्यबृद्धि कम गराउन पनि सरकारले नसकेको जस्तो लाग्दैन ?
त्यस्तो छैन । भ्रष्टाचार दुनियाकै रोग हो । भ्रष्टाचारीलाई मृत्युदण्ड दिने देशमा पनि भएकै छ । कोरिया जापानमा पनि भएको कुरा सुन्छौँ ।तर, त्यहाँ कारवाही हुन्छ । भ्रष्टाचारीलाई कारवाही भयो कि भएन भन्ने महत्वपूर्ण कुरा हो । खासगरी भ्रष्टाचार कम गर्न स्वविवेकीय अधिकार प्रयोगमा कटौति गर्नुपर्छ । जहाँ स्वविवेकीय अधिकार दिइन्छ,त्यहाँ भ्रष्टाचार बढ्छ । भ्रष्टाचार भएको कुरा हामीले पनि सुनेका छौँ, नसुनेको हैन । नियन्त्रण गर्दै गरेको सुनेका पनि छौँ । भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारवाही गर्नुपर्छ । सानालाई मात्रै हैन, ठूलालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । नीतिग भ्रष्टाचारलाई नीतिगत रुपमै रोक्नुपर्छ । पार्टीले यही कुरा भनेको छ ।
पार्टीमा कुन विचारलाई मार्गनिर्देशक मान्ने भन्ने विवाद अझै हो ?
पार्टी एकिकरणको बेला जनताको जनवाद मानेर जाने र जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई बहसमा लैजाने वा एकताको महाधिवेशनमा लैजाने भन्ने राजनीतिक प्रतिवेदन र विधानमा व्यवस्था छ । यो नै पार्टीको आधिकारिक कुरा हो । व्यक्तिको कुरा त जे पनि लाग्न सक्छ ।
अस्ति पार्टीले आयोजना गरेको सि जिनपिङ विचारधारा पढ्ने कार्यक्रममा तपाईँ पनि सहभागि हुनुभयो, त्यहाँ भएको के थियो ?
हो, म सहभागि थिएँ । हाँसो …. । चीन र नेपालको कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध भएकाले उहाँहरु आउनुभएको भएको हो । उहाँहरुले आफ्नो पार्टीका कुराहरु राख्नुभयो, हाम्रा नेताहरुले पनि हाम्रो कुरा राख्नुभयो । तपाईँको देशमा विकासका काम र गरिबी निवारणका काम कसरी गर्नुभएको छ भन्ने कुरा सोध्यौँ, उहाँहरुले उत्तर दिनुभयो । सि जिनपिङ आएपछि भएका विकासको कुरा पनि भयो ।
सिकै विचार अनुशरण गर्ने भन्ने कुरा हैन र ? सबै जनता कम्युनिष्ट, सबै कम्युनिष्ट जनता बनाउने भन्ने कुरा हो ?
हैन, चीनमा पनि कम्युनिष्ट पार्टीका सदस्य नहुने मान्छेहरु छन् । खासगरी त्यो कार्यक्रममा बिआआई ( बेल्ट एण्ड रोड इनिसियटिम्भ)को कुरा राखियो, पार्टी संचालन प्रक्रियाबारे आधिकारिक व्यक्तिले विचार दिनुभयो । यो अन्तरक्रिया नै हो । हाम्रा पार्टीका नेताहरुले पनि कुरा राख्नुभयो । उहाँहरुको र हाम्रो परिस्थिति फरक छ । उहाँका राम्रा कुरा हामीले सिक्न पनि सक्छौँ, उहाँहरुले पनि हाम्रा राम्रा कुरा सिक्न सक्नुहुन्छ ।
त्यो आवश्यक थियो र ? यसले देशको परराष्ट्र नीति विपरित कतैतिर ढल्केको सन्देश दिएन र ?
हुँदै होइन । उहाँहरुको सकारात्मक कुरा लिनुपर्छ । भियतनामको सकारात्मक कुरा छ भने लिनुपर्छ । हामी हाम्रो कुरामा प्रष्ट छौँ । दुई दिने कार्यक्रम उपलब्धिमूलक रह्यो । हामी सत्तामा बसेको पार्टीले कसरी काम गर्छ भन्ने सिक्नुपर्छ ।
तपाईँ त किसान महासंघमा पनि हुनुहुन्छ । कृषिमा चीनले गरेको उन्नतिबारे कुरा भयो र ?
चीनले कृषिको आधुनिकीकरणबाट नै समृद्धि हाँसिल गरेको हो । त्यहाँको गरिबी निवारणमा कृषि क्षेत्रमा गरिएको प्रगतिको महत्वपूर्ण हात छ । हामीले पनि कृषिलाई व्यावसायिक नगरिकन गरिबी घटाउन सकिँदैन । नेपालमा कृषिमा आधारित मान्छे नै गरिब छन् । अब हामीले भू–उपयोग नीति ल्याउने, कृषिमा आधुनिक औजार प्रयोग गर्ने तथा उत्पादकत्व बढाउने काम गर्ने, कृषिको उत्पादकत्व बढाउन ध्यान केन्द्रिकृत गर्नुपर्छ । हामीले घोषणापत्रमा सबै कुरा राखेका छौँ तर सरकारले अझ त्यो काम गर्न सकेको छैन । कृषिको आधुनिकीकरणले मात्र नेपालको गरिबी घटाउन सकिन्छ । धेरै जनता आश्रित र गरिब भएको क्षेत्रमा ध्यान नदिए कसरी आत्मनिर्भर बन्ने । उत्पादन र उत्पाकत्व बढाउन बढी लगानी गर्नुप¥यो । जमिनको जथाभावि प्रयोग र प्लटिङ रोक्नुपर्छ । हामीले २००६ सालदेखि उठाएको मुद्धा हो, अहिले दुई तिहाईको सरकार हुँदा त्यसलाई कम्युनिष्ट पार्टीले नै पूरा गर्नुपर्छ ।
अन्तिममा, कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ, के छ पार्टीको तयारी, जितिन्छ ?
जनताका गुनासाहरु छन् तर हामीले बहुमतका साथ जित्नेमा विश्वस्त छौँ । अहिले पनि जनताको आशा र भरोसा नेकपामाथि नै छ । मानौँ कि, कास्की २ मा हामी हा¥यौँ रे । यहाँ हारेर सरकार त गिर्दैन । यो मानेमा यही सरकारसँग काम गर्न पनि जनताले नेकपालाई नै मतदान गर्नेछन् । यो सरकारबाट नै यहाँका जनताले बढी कुरा पाउने हुन् नि ।
आकांक्षीको चर्चा चलेको छ, त्यसमा तपाईको पनि नाम छ नि !
म एक पार्टीको इमान्दार कार्यकर्ता हुँ । पार्टीले जे जिम्मेवारी दिन्छ ,त्यो पूरा गर्नु मेरो दायित्व हो । पार्टीले गरेका सबै निर्णय मैले शिरोधार्य गर्नुपर्छ । पार्टीले दिएको सबै जिम्मेवारी म पूरा गर्छु । म सह–इन्चार्जको नाताले भन्न चाहन्छु कि यहाँ पार्टीले चुनाव लड्छ । जो उठे पनि पार्टीले अत्यधिक बहुमतका साथ जिताउने काम गर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->