पोखरा ,१६ असोज – पोखराका युवा व्यवसायी कमल बस्नेतले २६ हजार तिरेर च्याङ्ग्रा घरमा ल्याइसके । उनी विहीबार च्याङ्ग्रा काट्ने चाँजोपाँजो मिलाउँदै छन् ।
‘च्याङ्ग्राको सिङ नै राम्रो, टुँडिखेल (पोखराको ) पुगेर सट्ट घोर्ले चाहिँ घिसार्नुको शान नै अर्को’,उनलेभने ,‘वर्षको एक पटक यार्सागुम्बा खाएको च्याङ्ग्रा ढाल्नैपर्छ ।’ उनले उमेरले ४० नाघेका व्यवसायी कमललाई यार्साको गुण थाहा नहुने कुरै भएन ! तर, उनले छोराछोरी र आफन्तले पनि बोसो कम भएको च्याङ्ग्राको मासुलाई औषधी नै मानेर खाने गरेको पनि सुनाए ।
कमल मात्र हैन, दशैँमा आम पोखरेलीको पहिलो रोजाई च्याङ्ग्रा हुने गरेको छ । मूल्यको ग्राफ वर्षेनी उकालो लाग्दो छ तर माग झन बढ्दो छ । किन त ?‘ हिमाली चरनमा जडीबुटी खाएको च्याङ्ग्रा र पछिल्लो समय चर्चामा रहेको यार्सागुम्बा । मासुमा कम बोसो हुनु पनि आकर्षणको अर्को कारण हो । यार्साको महंगो मूल्य र यौनवद्र्धकको रुपमा भएको यसको प्रचार पनि यसको कारक हो । उहिल्यैदेखि पोखरा भित्रने च्याङ्ग्रालाई यार्साले बढी प्रचार र ब्राण्डिङ गरिदिएपछि माग अत्यधिक बढेको हो । यही ब्राण्डिङका कारण यहाँ आउने च्याङ्ग्रा उपहारस्वरुप देशका विभिन्न भागमा समेत पुग्ने गरेको छ ।
दशैँमा बली दिनेहरुले बोका नै खोज्छन् । लुटे ( कान खुम्चिएको ) बोका खोटो मानिन्छ । बलीमा चढ्दैन । बली दिनेहरुको लागि अष्टमी र नवमीमा बोका र कुखुराको भाले चले पनि पोखरेलीको च्याङ्ग्रा मोह अनौठो छ । सकेसम्म च्याङ्ग्रा नै खोज्नेहरुको बाहुल्य छ,यहाँ ।
र, यही लाइनमा छन्, पोखरा उद्योग वाािण्ज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे पनि । नेपाल चीन जनमैत्री संघको अध्यक्ष समेत रहेका उनी चिनिया मित्रहरुलाई यासागुम्बा उपहार दिन कन्जुस्याईँ गर्दैनन् । उपहार दिन र लिनमा चिनियाहरु माहिर ! यार्सा पाएपछि मख्ख नहुने कुरै भएन ।
‘हो म चिनियाहरुलाई उपहार दिन्छु, तर, त्यो यार्सा नै भन्ने चाहिँ कुरा हुँदैन’,‘म चाहिँ च्याङ्ग्राको मासुमा नै यार्सा देख्छु’, उनले भने,‘ च्याङ्ग्रा लोकप्रिय हुनुको यसको स्वाद र घर पालुवा खसीमा भन्दा बोसो कम हुनु पनि हो ।’
हो, च्याङ्ग्राको मासुमा बोसो कम हुन्छ । घरायसी अन्नहरु जस्तै ः मकै,कुढो नखुवाइने तथा लामो हिँडाइपछि पोखरा झारिने हुनाले पनि च्याङ्ग्रा बढी मोटो हुँदैन । उच्च हिमाली हावापानी र चरनको प्रभाव पनि यसमा परेकै हुन्छ । अझ, सुकुटी बनाएर राख्नेहरुको लागि पनि यो प्रिय रहेको छ ।
वरिष्ठ पशु विकास अधिकृत डाक्टर गृष्म नेपालका अनुसार च्याङ्ग्रा उच्च हिमाली भेगमा चराइन्छ । गोठ सार्दै जहाँ घाँस छ, त्यहाँ लैजाँदा भदौतिर च्याङ्ग्रा उच्च हिमाली भागमा पुग्छन् । पोसिलो घाँस खाएका च्याङ्ग्रा बलिया हुन्छन् । तर, हिउँ पर्न वा चिसो बढ्न थालेपछि च्याङ्ग्रा तलतिर झारिन्छ । दुई–तीन महिना लगाएर माथि पु¥याइएका च्याङ्ग्रा एक महिनामै तल झार्दा त्यसको मासु त हैन बोसो घट्छ । ‘पहिला पोसिलो खाने कुरा खाएका ती च्याङ्ग्राको शरीर राम्रो हुन्छ तर बोसो कम हुन्छ’, उनले भने,‘त्यसमा जडिबुटीको मात्रा हुन्छ कि हुँदैन भन्नेमा चाहिँ द्धिविधिा नै छ ।’ उनका अनुसार घरमा पालिएका र दाना खुवाइएका पशुहरुमा बढी भएको कार्वहाइड्रेड बोसोमा बदलिन्छ । दाना नखुवाएकाले पनि च्याङ्ग्राको मासुमा कम बोसो भएको हो ।
आहारविज्ञ डाक्टर श्रीदिव्या कायस्थले चाहिँ च्याङ्ग्रामा यार्सागुम्बाको स्वाद र शक्ति हुनेमा चाहिँ अनविज्ञता प्रकट गरिन् । चर्ने बेला च्याङ्ग्राले खाएको जडिबुटीले ऊ निरोगी हुन मद्धत चाहिँ गर्ने उनको भनाई थियो । ‘मासु पकाउने तरिकामा पनि भर पर्छ, धेरै तेल वा मसला राखेर पकाउँदा त्यो मासुले असर गर्न सक्छ’, उनले भनिन्,‘ २४ घण्टा फ्रिजमा राखेको मासु थोरैथोरै खाँदा कुनै फरक पर्दैन ।’रातो मासु धेरै खाए मोटोपन बढ्नेमा सचेत हुनुपर्ने सुझाव दिइन् ।





