
पोखरा,१८ असोज – सहरहरु खाली भइसके, गाउँमा रोँटे र लिङ्गे पिङ ठडिइसके । विदेशिएका र सहर झरेकाहरुले गाउँको चौतारीमा गफ दिन थालिसके । कामैले रोकिएकाहरु पनि दशमीसम्म घर पुग्ने ध्याउन्नमा छन् । सबैलाई हतार छ, यतिबेला ।
र, यस्तै हतारोमा छन्, माधव सुवेदी । ‘रुस्याक’ बोकेर उनी यतिबेला अन्नपूर्ण बेस क्याम्पतिर निस्कँदै छन् । अन्नकी देवी भए पनि अन्नपूर्ण बेसक्याम्प उनको घर हैन । न त त्यहाँ बाक्लो बस्ती नै छ । छन् त केही होटल मात्र । यात्राभर माधवको काम २ जना चाइनिज पर्यटकलाई कहिले अघि त कहिले पछि लगाउँदै हिमाली दृष्य देखाउनु हुनेछ ।
‘यसभन्दा अघिका दुईवटा दशैँमा म माथि ( हिमाल) तिरै थिएँ, यो पटक पनि उतै हुन्छु र भ्याएसम्म दशैँको दिनमा पोखरा फर्कन्छु’, उनले भने,‘हाम्रोमा दशैँसँगै सिजन ( पर्यटकीय ) आउँछ, जान्नँ भन्ने कुरै हुँदैन ।’
उनी मात्र कहाँ हो र ? यतिबेला मात्रै करिब ५ सय नेपाली पथप्रदर्शक र भरियाहरु अन्नपूर्ण र मनास्लु क्षेत्रमा छन् । तीमध्ये कोही दशैँको दिनसम्म आगनमा टुप्लुक्क देखिने ध्याउन्नमा छन् भने कति अझै भारी र रुस्याक कसेर उकालो लाग्ने दिन गन्दैछन् ।
पदयात्राको प्रसिद्ध गन्तव्य हो, अन्नपूर्ण क्षेत्र । हिमालतिर उक्लने भनेको शरद र वसन्त ऋतुमा न हो !त्यसैले, पदयात्रीहरु यही सिजनमा नेपाल आउँछन् । उनीहरु आएपछि गाइड र भरियाको काम आउँछ । बाटो देखाउँदै, उनीहरुलाई चाहिले सामानको जोहो गर्दै नेपालीहरु पनि हिमालको फेदीतिर उक्लन्छन् । अंग्रेजी महिनाको अगष्टको मध्यबाट नोभेम्बरको अन्त्यसम्म अर्थात भदौ १५ देखि मंसिरको अन्त्यसम्म यो उपक्रम चलिरहन्छ । वसन्त ऋतुमा खासै चाडबाड हुँदैनन् । हिमाली भेगमा काम गर्नेहरु हाँसीखुसी तयार हुन्छन् तर शरद ऋतुमा भने दशैँले बाटो छेक्छ ।
‘के गर्नु जाने मन त हुँदैन तर चाडबाडलाई बिर्सेर हिमाल उक्लनु हाम्रो बाध्यता हो’, माधव सुवेदीले थपे,‘ ‘हिमाली भेगका बासिन्दाले दशैँ मनाउँदैनन् तर हाम्रो मन भने दशैँको दिनमा हल्का चिसो हुन्छ ।’
माधव मात्र कहाँ हो र ? पर्यटन मजदूरसँग सम्वद्ध मजदूर संगठन युनिट्राभका विजय केसीको कुरा पनि उस्तै छ । १२ वर्षदेखि पदयात्रामा जोडिएका उनले यो बीचमा ३ वटा दशैँ मात्र घरमा मनाए । अघिल्लो दशैँमा उनी मनाङको तिलिचो तालतिर थिए भने त्योभन्दा अगाडि कास्कीकै मर्दी हिमालतिर ।
‘ अन्नपूर्ण क्षेत्रको घोडेपानी, घान्द्रुकसम्म जाँदा दशैँको याद आउँछ, त्योभन्दा माथि त दशैँको चहलपहल नै हुँदैन’, उनले भने, ‘तर, हाम्रो मनमा भने कतै न कतै दशैँको सम्झना आइरहन्छ ।’ माथिल्लो भेगमा टीका लगाउने कुरा नभए पनि गाइड र भरियाहरु मिलेर च्याङ्ग्रा ढालेर खाने गरेको भने उनले सम्झे ।
यो पटकको दशैँ घरमै मनाउने भन्दै पदयात्रामा नगएका केसीका अनुसार यो सिजनमा नेपाल आउने अधिकांश पर्यटकहरुलाई दशैँ र तिहारबारे जानकारी हुन्छ । उनीहरुमध्ये केही बुझ्नेहरुले ‘तिमीहरुको चाडमा हामीले दुःख दियौँ’ भन्दै सान्त्वना पनि दिन्छन् ।
‘तर पदयात्रामा हाम्रो जिम्मा भनेको पर्यटकलाई सुरक्षित राख्नु पनि हुन्छ, त्यसैले हामी उनीहरुको खुसीमा मात्र ध्यान दिन्छौँ’, केसीले थपे,‘यो पैसाभन्दा पनि सिजन छोप्ने र हाम्रो पेशाप्रतिको दायित्व पनि हो ।’
उनका अनुसार अन्नपूर्ण पदयात्रा मार्गमा जानेहरुको लागि लमजुङबाट माथि लागेपछि दशैँले छुँदैन । मनाङ र थोरङ्ला फेदीमा दशैँ हुने कुरै भएन । मुक्तिनाथ फर्कदाँ दशैँ सम्झिए पनि उपल्लो मुस्ताङ र मनास्लु पनि दशैँमा चोखै हुन्छ । अन्नपूर्ण बेसक्याम्पबाट ओरालो लाग्दा दशैँ पनि सकिएको हुन्छ । ‘लौ दशैँ सकिएछ, अर्को पाली रमाइलो गरौँला भन्ने मात्र हुन्छ’, उनले भने ।
टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल ( टान ) पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलका अनुसार मूख्य पर्यटकीय सिजनमा हिमालतिरको उकालो यात्रा अरु बेलाभन्दा कठिन हुन्छ । गाइडहरु सकेसम्म दशैँ मनाउने गरी फर्कने वा दशैँको टीका थापेर पदयात्रामा निस्कन पाए हुन्थ्यो भन्ने चाहन्छन् ।
‘कतिपय पर्यटकहरुले यो कुरा बुझ्छन् तर जान चाहनेहरुलाई हामी रोक्न सक्दैनौँ र गाइड पठाउनै पर्छ’, उनले भने,‘तर, कुनै दुःख परेर टीका रोकिएकाहरुलाई चाहिँ यो बेलाको यात्रा मन भुलाउने माध्यम बन्छ ।’ आफन्तसँगै दशैँ गुमाएकाहरु यो सिजनमा हाँसीहाँसी यात्रामा निस्कने र माथिल्लो भागमा दशैँ पनि नमनाइने हुँदा केही हदसम्म आनन्दित बन्ने गरेको उनको ठम्याई छ । सन् २००७ को दशैँमा मुस्ताङमा हुँदा आफूलाई नरमाइलो लागेको प्रसङ्ग सुनाउँदै उनले थपे,‘हिमाली भेगमा थाकेर पनि रमाएका पर्यटकहरुलाई हेर्दै चित्त बुझाउनु पर्छ ।’
पदण्ड विपरित घर अनुसारनै नियम





