लोमान्थाङ ( उपल्लो मुस्ताङ) २८ असोज – ढुंगा र माटोको घर, माटोकै छाना अनि माटोकै पर्खाल । माटोमा जीवन खोज्छ, उपल्लो मुस्ताङ । हो, यही ‘लो’ राज्यलाई सुरक्षित राख्न १५औँ शताब्दीमा राजा आमेपालले पर्खाल लगाएका थिए । पर्खाल ८५६ मिटर लामो छ भने उचाई ९ मिटर रहेको छ । काँचो माटोले बनाइएको यो पर्खालकै कारण लोमान्थाङले माटोको सहरको परिचय पायो । हिउँदमा हिउँले ढाकिने यहाँका घरका छानाहरु माटोले बनेका छन् । अरु त के कुरा ! मुस्ताङी राजाको तीनतले दरबार पनि माटोबाटै बनेको छ । काँचो माटोले बनाइएको यो दरबारलाई भुइँचालोले समेत ढलाउन सकेन । क्षतिग्रस्त दरबारको पुनर्निर्माण हुँदैछ । १० वर्षअघिसम्म लोमान्थाङमा ठूलो पानी पर्दैनथ्यो । हिउँलाई माटोको छानोले नै धान्थ्यो । तर, अहिले त्यस्तो छैन । माटोको छानो चुहिन थालेको छ । घर चुहिन थालेपछि विकल्पको रुपमा जस्तापाता र सिमेण्टको ढलान गर्ने क्रम बढेको हो । विश्व सम्पदामा सूचिकृत लोमान्थाङको मौलिकता जोगाउन पनि चुनौतिपूर्ण देखिएको उनले बताए ।
‘पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा पानी बढी पर्न थाल्यो’,त्यसैले यहाँ माटोको छानो चुहिन थालेको छ’,लोमान्थाङ वडा नम्बर ५ का अध्यक्ष रिन्जिन दोर्जे विष्टले भने,‘ माटोको छानो चुहिने समस्या भएपछि स्थानीयहरुले विकल्पको रुपमा जस्तापाता र सिमेण्टको ढलान गर्ने क्रम बटेको छ ।’
पूर्वराजपरिवारले संचालनमा ल्याएको आमा पाल रोयल रिसोर्टमा यही प्रायेग भएको छ । २०७४ सालबाट संचालमा आएको रिसोर्ट आधुनिक तर परम्परागत शैलीमा बनाइएको छ । ‘हामीसँग खेती गरेर खाने जग्गा छैन, यहाँको सबै कुरा पर्यटन नै हो’,राजकुमार जिग्मे सिङ्वे परवल विष्टले भने,‘त्यसैले हामीले पनि केही गरौँ भनेर होटल बनाएको हो ।’ मुस्ताङी राजपरिवारको रिसोर्ट मौलिक तिब्बती शैलीको रहेको छ । उपल्लो मुस्ताङको सांस्कृतिक सम्पदा नबिग्रियोस् भन्ने ठानेर होटललाई आधुनिक तर परम्परागत शैलीमा बनाइको उनले बताए । हो, माटोको सहर उपल्लो मुस्ताङमा आधुनिक र सुविधासम्पन्न होटल बनाउने लहर नै चलेको छ । र, यही मेसोमा मिसिएका छन्,जवाङ विष्ट । निर्माणाधीन त्रिभद्रिका होटल पनि सुविधा सम्पन्न छ । तर, मौलिकतामा भने उनले विशेष ध्यान दिएका छन् । होटल पुरानै शैलीमा बनाइएको छ । होटलमा सुविधासम्पन्न स्वीट रुम पनि छ तर होटल बनाउँदा परम्परागत रुपले माटो, काठसहित सिमेण्टको प्रयोग भएको छ । होटलको माथिल्लो भागमा ढलान गरिएको छ । भित्रि भागमा माटोको गारो छ भने त्यसमा काठ पनि टाँसिएको छ । माटोको घर तातो हुने भएकोले भित्रि भागमा माटो नै प्रयोग भएको हो । पछिल्ला केही वर्षदेखि लोमान्थाङ क्षेत्रको भौतिक विकासलाई नजिकबाट नियालेका इञ्जिनियर शेखर डंगोलका अनुसार पानी बढी परेसँगै लोमान्थाङमा सिमेण्ट प्रयोग हुँदा घरहरु चिसो हुन थालेको छ ।
जलवायु परिवर्तनले हिमाली भेगमा पानी बेसी पर्न थाल्यो , परम्परागत माटोको छानोबाट पानी चुहिने समस्या आएको छ’, उनले भने,‘ पानी चुहिने समस्या समाधान गर्नुपर्ने भएको छ । ’आफू सिमेण्टबाट बनेको होटल र पुरानो दुबै होटलमा बसेको बताउँदै उनले सिमेण्टबाट बनेका घरहरु अत्यधिक चिसो भएको र त्यो मुस्ताङको हावापानी सुहाउँदो नभएको जिकिर गरे । उनले पानी चुहिने समस्या समाधान गर्न माथिल्लो भाग ढलान गरिए पनि भित्रि भागमा माटो र काठ नै प्रयोग गर्न समेत सुझाए । उनले पानी नचुहियोस् भन्नको लागि सिमेण्ट प्रयोग भए पनि मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए । लोमान्थाङ, चराङ र घिलिङ क्षेत्रमा हिमाल छेक्ने गरि घर बनाउन नहुने धारणा राख्दै युरोपको जस्तै घर हेर्न विदेशी नआउने धारणा पनि राखे । अहिले लोमान्थाङमा करिब २ सय ७० जति घर छन् भने माटोको पर्खाल बाहिर करिब ३५ वटा होटलहरु बनेका छन् । अर्की इञ्जिनियर अनिषा गुरुङले स्थानीय सामान प्रयोग गरिएकाले यहाँका घरहरु सुरक्षित भएको बताउँदै जलवायु परिवर्तनले ल्याएको समस्याको समाधान खोज्नुपर्ने बताइन् ।





