बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाम्रो अर्थतन्त्रलाई माथि उठाउने नै पर्यटनले हो : पालिखे

हाम्रो अर्थतन्त्रलाई माथि उठाउने नै पर्यटनले हो : पालिखे


  • Dhorpatan News
  • असोज २९ २०७६, बुधबार

विश्वशंकर पालिखे पोखराको लागि अपरिचित नाम हैन ।स्वतन्त्रता सेनानी पिता दयाशंकर पालिखेको धेरै गुण उनीसँग पनि छ भन्छन्, पितासँग संगत गरेकाहरु । काममा हातै नहाल्ने र हात हालेपछि त्यो काम जसरी पनि फत्ते गर्ने स्वभाव भएका पालिखे नेपाल चीन जनमैत्री संघका अध्यक्ष पनि हुन् । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष समेत रहेका पालिखेकै संयोजकत्वमा आज पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ आयोजना भएको छ । ढोरपाटनले उनै पालिखेसँग नेपालको पर्यटन उद्योग, निजी क्षेत्रको वर्तमान अवस्था र केही राजनीतिक विषयमा समेत लामो भलाकुसारी गरेका छौँ । प्रस्तुत छ, उनै पालिखेसँग गरिएको लामो कुराकानीको सम्पादित अंश ।  
 

हतारको अर्को नाम नै विश्वशंकर पालिखे हो भन्छन्, तपाई साँच्चिकै व्यस्त हो कि व्यस्त बन्नु भएको हो ?
विश्वशंकर पालिखे पनि मान्छे नै हो । मान्छेमा हुने यावत गुण र अवगुण मसँग पनि छन् । व्यस्तता यही गुण र अवगुणको बीचबाट निस्केको हो भने मलाई थाहा छैन । तर, म कर्ममा विश्वास गर्ने मान्छे हुँ । मेरा पिता दयाशंकर पालिखेले हामीलाई कर्म गर्न सिकाउनु भयो । बुबाले पसलमा बस्दा हामीलाई काम गराउनु हुन्थ्यो । बुवा अर्थात घरकै काम सही, हामीले काम गरेपछि केही पैसा पाउँथ्यौँ । पिताजीले हामीलाई काम गर्नुपर्छ भन्ने शिक्षा दिनु भएकैले म पनि कर्ममा विश्वास गर्छु र काम गर्ने क्रममा व्यस्त हुनु अस्वभाविक हैन भन्ने मेरो मान्यता छ । तर, भनिहालुँ, यतिबेला म फुर्सदिलो जस्तै छु, मेरो अर्को पुस्ताले व्यापारमा हात हालेपछि म अहिले अभिभावकत्वको भूमिकामा आफूलाई ढाल्न खोज्दैछु । सामाजिक क्षेत्रमा काम गर्न मेरा पिताजीले नै सिकाउनु भएको हो । कामलाई पूजा गर्नुपर्छ र काम जसरी पनि पूरा गर्नुपर्छ भन्ने मान्यताले गर्दा म आफूले थालेको काममा विशेष ध्यान दिन्छु । धेरैजसो आफै काममा खटिन्छु । व्यस्तता भनेको कर्म नै हो भनेर बुझ्दा विश्वशंकर पालिखे कहिँ चुकेको छ र ?
कुरा गज्जबको गर्नुहुन्छ, यो वाकपटुता भनेको राजनीज्ञको जस्तै भएन र ?
हेर्नुस्, म राजनीतिक संस्कार बुझ्छु । व्यापार गरेको नाताले प्रशासनिक क्षेत्रका मान्छेहरुसँग पनि मेरो संगत छ । पिताको राजनीतिक संस्कार मसँग आएको हो कि के हो ? थाहा छैन तर हामी सबै विचारका मान्छेहरुलाई समान व्यवहार गर्छौँ । मेरो पिताजीले त्यो बेला कांग्रेस, कम्युनिष्ट सबै पार्टीका नेताहरुलाई समान व्यवहार गर्नुहुन्थ्यो । उहाँ आफै स्वतन्त्रताको लागि लडेको मान्छे । संघर्ष मुक्तिको लागि थियो र मुक्ति सबैको हुुनुपर्छ भन्ने मान्यता मेरा पिताको थियो । यति भनि सकेपछि मलाई तपाईँले राजनीतिज्ञ भन्नुहुन्छ र ? खासमा राजनीति के हो भन्ने मलाई थाहा छ तर म व्यवहारवादी मान्छे हुँ । मान्छेको व्यवहारलाई राजनीतिसँग जोड्नु हुन्न भन्ने मान्यतामा म अडिग छु । म निजी क्षेत्रको सामाजिक व्यक्ति हुँ । राजनीति हैन सामाजिक नीतिमा ठीक हुुनुपर्छ भन्ने मेरो मान्यता हो ।
यी त तपाईँसँगका व्यक्तिगत कुरा भए, अहिले अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ को लागि दौडनु भएको छ । यो दौडबारे केही भन्दिनुहोस् न !
दौड भनेको खेलकुद नै हो । तपाईंँलाई थाहा छ, नेपाल साहसिक पर्यटनको गन्तव्य हो । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा चढेको कुरा गरौँ कि, मौरिस हर्जौकले अन्नपूर्ण आरोहण गरेको कुरा गरौँ ? ती दुबै आरोहण साहसका प्रतिक थिए । म पोखरेली भएको नाताले के भन्न चाहन्छु भन्दा, साहसिक पर्यटन गण्डकी प्रदेशबाटै सुरु भएको हो । किनकि, मौरिसले अन्नपूर्ण आरोहण गरेर ८ हजार मिटरभन्दा माथिल्लो चुचुरा पनि मान्छेकै लागि हो भनेर प्रमाणित गरेको ठाउँ यही हो । मैले यो किन भनेको भने, साहसिक पर्यटनको गन्तव्य भनेकै नेपाल हो । यहाँ हिमाल, पहाड, समथर भूभागदेखि साहस देखाउनेहरुको लागि सबै थोक छ । र, यो क्रस कन्ट्री दौड पनि साहसको एउटा स्वरुप हो भन्ने हामीले ठानेका छौँ ।४२ किलोमिटरको दौडमा साइक्लिनिङ, बोटिङ र दौड समावेश भएको खेल पोखराको भूगोल सुहाउँदो छ । यहाँको भूगोल नै साहसीको लागि बनेको हो । प्रकृतिसँग रमाउने र साहस देखाउनेहरुको यो खेललाई पर्यटन प्रर्वद्धनको माध्यम बनाउने हाम्रो ध्येय हो । हाम्रो अर्थतन्त्रलाई माथि उकास्न सक्ने माध्यम नै पर्यटन हो । हामीसँग समुन्द्र छैन तर हिमाल र पहाड अनि जंगल पनि छ । हामीले यही कुरालाई बेच्न सक्नुपर्छ । बेच्ने भनेको बजारमा हो । बजार भनेको विश्व हो । विश्वमा पनि हामीले सबैभन्दा पहिले छिमेकीलाई हेर्नुपर्छ । दुई ठूला अर्थतन्त्र भएको मुलुकलाई ध्यानमा राखेर पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने मान्यताले यो दौड आयोजना गरिएको हो । साहसिक खेलको माध्यमबाट यो पटक हामीले चिनियाँ बजारमा नेपाल र पोखराको प्रचार गर्न खोजेका छौँ । क्रस कन्ट्री दौड खेल हो र खेलबाटै हामीले पर्यटन प्रवद्र्धन गर्न खोजको हो ।
यो अवधारणाको विकास कसरी भयो त ?
हेर्र्नुहोस्, यो भन्दा पहिला पनि हामीेले यस्तै प्रकृतिको ट्रायाथलन पोखरामै आयोजना गरेका छौँ । क्रस कन्ट्री दौड होस् कि ट्रायाथलन, अझ प्याराग्लाइडिङ नै किन नहोस् ! नेपालमा यी सबै खेल आयोजना गर्न सकिने ठाउँ भनेको पोखरा मात्रै हो । पोखरालाई प्रकृतिले नै यी सबै कुरा दिएको हो । नेपालको प्रमुख पर्यटकीय गन्तब्यको प्रचार हुनु भनेको समग्र नेपालकै प्रचार हुनु हो । नेपालको भौगोलिक अवस्थितिले हामीलाई गरिबी मात्रै हैन, अवसर पनि दिएको छ । अर्को कुरा गण्डकी प्रदेशले यतिबेला आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको छ । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र गण्डकी प्रदेशले नै सन् २०२२ मा २० लाख पर्यटक यो प्रदेशमा ल्याउने योजना सार्वजनिक गरेको छ । यो अवस्थामा हामीले हाम्रा क्षेत्रका सम्भावनाहरुबारे विश्वलाई जानकारी दिन सक्नुपर्छ । यहाँ आएका पर्यटकहरुको बसाई लब्याउन अतिरिक्त क्रियाकलाप गरिनुपर्छ र साहसिक पर्यटनको पर्याय नेपाल हो भन्ने कुरालाई पटक–पटक दोहो¥याउँदै पुष्टी गर्नुपर्छ भन्ने ठानेर नै यो खेल आयोजना गरिएको हो । यो मेरो एकल प्रयास हैन, यसमा धेरै सहयोगी हातहरुको साथ छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोेरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपािलकाको संरक्षकत्वमा विभिन्न संघ÷संस्थाहरुको सहकार्यमा आयोजित यो दौडलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायत विभिन्न संघ÷संस्थाले सघाएका छन् ।
भर्खरै चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाल आउँदा पर्यटन वर्ष २०२० लाई सघाउने वचनवद्धता प्रकट गर्नु भएको छ, यता तपाईँहरु चिनियाँहरुलाई नै सहभागि गराएर दौड आयोजना गर्दै हुनुहुन्छ । यो संयोग हो कि के हो ?
म महामहिम राष्ट्रपतिज्यूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । घुम्ने संस्कृतिमा अगाडि देखिएको चीनको बजारमा नेपालबारे उहाँले दिएको अभिव्यक्तिले विशेष अर्थ राख्छ । उहाँले त्यति भनेपछि पक्कै पनि नेपालमा चिनियाँ पर्यटक बढ्छन् भन्ने हाम्रो ठम्याई हो । यसो भनिरहँदा, क्रस कन्ट्री दौड र महामहिमको अभिव्यक्ति संयोगले मिल्न गएको मात्रै हो । खासमा कुन्मिनसँग पोखराको पहिल्यै भगिनी सम्बन्ध छ । महामहिमले भगिनी सम्बन्धबारे पनि कुरा गर्नु भएको छ । हामीसँगको पुरानो साइनोलाई उपयोग गर्दै नेपाललाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन यो दौड आयोजना भएको हो ।
चिनियाँहरुको सहभागिताबारे केही बताइदिनुहोस् न !
यो क्रस–कन्ट्री दौडमा हामीले मित्रराष्ट्र चीनका २ टिमसहित करिब २४ जना धावक,त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहितको टोलीले सहभागिता जनाउँदैछ । नेपाली खेलाडीसहित यो प्रतियोगितामा करिब १ सय ५ जनाको सहभागिता रहनेछ । यो प्रचारात्मक अभियान हो । हामीले यो दौडको मिडिया कभरेजको लागि चिनियाँ संचार माध्यम र विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुसँग पनि सहकार्यको हात अघि बढाएका छौँ । आशा छ, यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । भनिहाँलु, यो दौड पोखराको पर्यटकी क्षेत्र बैदामको बाराही चोकबाट सुरु हुनेछ । दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन् ।
अरु केही भन्न चाहनुहुन्छ ?
धेरै कुरा भनिसकेँ । मुख्य कुरा, हामीले पर्यटन प्रवद्र्धनको लागि यो दौड सुरु गरेका हौँ । दौडपछिको परिणाम के हुन्छ ? भन्ने प्रश्नको उत्तर समयले दिनेछ । निजी क्षेत्रले आयोजना गरेको यो कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग भएको छ । म सबै सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु र यो दौडलाई पोखरा प्रवद्र्धनको माध्यम बनाउने अभियानलाई निरन्तरता दिने वचनवद्धता पनि व्यक्त गर्दछु ।
अन्त्यमा एउटा कुरा फेरि सोध्न मन लाग्यो, यति धेरै काम गर्नु हुन्छ , राजनीति नै गरेर नीति निर्माण तहमा पुगे के गर्नु हुन्थ्यो होला ?
प्रश्नको लागि धन्यवाद । उत्तर पनि आफैले दिए राम्रो हुने । सुरुको प्रश्नजस्तै म काममा खटिन्छु । काममा खटिनु भनेको मेरो स्वभाव हो । नीति निर्माण तहमा पुग्न जनताले पत्याउनुपर्छ । म पोखरेलीको लागि काम गर्दैछु । कुनै दिन तपाईँले भनेजस्तै अवस्था आयो भने नेतृत्वमा जान पनि सकिन्छ । तर, कर्म नै मेरो धर्म हो भन्ने मैले बिर्सेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->