पोखरा, २९ असोज – पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एफिएफ) क्लवका खेलाडीहरुको पोल्टामा गएको छ । बुधबार पोखरामा आयोजना भएको प्रतियोगितामा ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पूरा गरि एपिएफको टिम पहिलो भएको हो ।एफिएफको टिममा सन्तोषविक्रम विष्ट,गणेश ठकुरी र ईन्द्रकला नेवाङ्ग सहभागि थिए ।
क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ(डुंगा) समावेश गरिएको थियो । ट्रायथलनमा पौडी समावेश हुन्छ भने क्रस–कन्ट्री दौडमा पौडीको सट्टा डुंगा समावेश गरिएको हो । प्रतियोगि टोलीले १९ किलोमिटर साइक्लिङ,१.९ किलोमिटर बोटिङ( डुंगा सयर) र बाँकी दूरी दौडेर नै पूरा गरेका थिए । साइक्लिङ भनिए पनि तीन जनाको टोलीमा एउटा मात्रै साइकल थियो । प्रतियोगितामा सहभागि हुने तीन जनाको टोलीमा एकजना महिला सहभागिता अनिवार्य थियो । यसैगरि प्रतियोगितामा गुरिल्ला टे«ेल टोलीले दोस्रो स्थान प्राप्त ग¥यो । सो समूहले निर्धारित दूरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरेको थियो । टोलीमा दुर्गाराज बुढा,रसिला तामाङ र दामोदर बुढा मगर सामेल थिए । तेस्रो स्थान भने पाहुना चिनियाँ टोलीले कब्जा जमायो । काइनेटिक नामक सो टोलीले ४ घण्टा ५६ मिनेट २३ सेकेण्डमा दौड पूरा ग¥यो । टोलीमा च्याङ यी,पेङ वाइ सु र लाइ युजुन सहभागि थिए । चौथो स्थानमा चित्त बुझाएको नेपाली अन्नपूर्ण टोलीमा जीवन लामा,सौरभ राई र प्रतिभा श्रेष्ठ सहभागि थिए । सो टोलीले ४ घण्टा ५६ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरेको थियो । 
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रस–कन्ट्री दौडको उपाधिसँगै कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिताको अवसर प्राप्त गरेको छ । नेपालीतर्फ चौथो हुने टोलीले पनि कुन्मिन क्रस–कन्ट्री दौडमा सहभागिता जनाउन पाउनेछ । प्रतियोगितामा चिनियाँ दुई टोलीसहित २७ वटा टिमको सहभागिता थियो ।
यता, क्रस–कन्ट्रीको व्यक्तिगत विधाको दौडको सबै उपाधी चिनियाँको पोल्टामा गएको छ । ४० किलोमिटर दूरीको दौडमा चीनका झाङ जी पहिलो, चाङ चियान दोस्रो र झाओ वान तेस्रो भए । उनीहरुले क्रमशः ३ घण्टा ३९ मिनेट,२७ सेकेण्ड,३ घण्टा५० मिनेट १२ सेकेण्ड र ४ घण्टा १ मिनेट १२ सेकेण्डमा दूरी पूरा गरे ।
चिनियाँ खेलाडीहरुको सहभागितामा पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एसोसियसनको आयोजना एवं पोखरा र चीनको कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा क्रस–कन्ट्री दौडको आयोजना भएको हो ।









