
तनहुँ, ३ कात्तिक – सहर बजारका ठूलाठूला उद्योग तथा कलकारखानामा काम अनुसारको दामको कुरा धेरै भए पनि गाउँघरका दलित समुदायहरु अझैसम्म बालीघरे प्रथा रहदै आएको छ । तनहुँको भिमाद ५ बल्छीगौँडामा पनि अझै सम्म बालिघरे प्रथा कायम छ । वर्षभर विष्टको कपडा सिलाए बापत वर्षेनी अन्नपात लिने गरेको घिरिङ्ग ५ बल्छीगौडाका लेखबहादुर परियारले बताए ।‘अझै बालीघरेमा कपडा सिलाउँदै आएका छौ,’ उनले भने,‘कपडा सिलाएको ज्याला नै अन्नबाली लिने हो ।’गाउघरमा चलन नै यस्तै छ । परिवारको संख्याको आधारमा पाथी देखि मुरीसम्म अन्न विष्टले दिनुहुन्छ ।’ उनकोमा बालीघरे बाहेक ज्यालामा पनि कपडा सिलाउन आउने गरेका छन । गाउँमा बालीघरे प्रथा अझै चलेको छ । चाडपर्वको समयमा बढी कपडा सिलाउनुपर्छ । शैक्षिक सत्र सुरु हुने समयमा नानीबाबुको स्कुलको ड्रेस सिलाउनुपर्छ । विस्टहरुले कामको मूल्याङ्कन गरेर वर्षमा अन्न दिँदै आएका छन् । सहरी क्षेत्रमा आरन व्यवसाय विस्तापित भए पनि ग्रामीण क्षेत्रमा अझै पनि बालिघरे आरन सञ्चालनमा छ । भिमाद ५ आहालडाडाका ५७ बर्षका नत्थे कामीले गाउँलेको कृषि सामग्री हँसिया, कोदालो, करौते बनाउने र धार लगाइ दिए बापत केही पाथी अन्न लिएर काम गरिरहेका छन् ।
भिमाद ५ आहालडाडाका ५७ बर्षका नत्थे कामीले पनि बाबु कमनसिं कामीले सुरु गरेको बालीघरे आरन पेशालाई निरन्तरता दिएको ४१ बर्ष भइसक्यो । उनी भन्छन ‘बालीघरेको माध्यमबाट आरन पेशा गर्दै आएको छु,’ उनले फलामबाट बनेका घरेलु हातहतियार र कृषिजन्य सामग्री निर्माण गर्छन् । हसिया, कुटो कोदलो, बन्चरो बनाए बापत बालीघरेबाट वर्षेनी अन्नपात उठाउर्दै आएको उनले बताए । उमेर पनि ५७ बर्ष भइसक्यो । ‘अझै आरन पेशा गरिरहेको छु । अझै अलि वर्ष काम गर्न सक्छु जस्तो लाग्छ । विष्टहरुको विश्वासका कारण आरन पेशालाई निरन्तरता दिइरहेको हो । घरेलु हातहतियार र कृषिजन्य सामग्री अरचाप्ने गरिन्छ । नगदको सत्ता घरमा भएका अन्नपात विस्टाहरुले दिर्दै आउनुभएको छ । सेर्का, आमडाडा, मिछुर्लुङ्ग, मालेबगर गरी ४५ घरबाट वर्षमा बाली उठाउँदै आएको उनले बताए । वर्षमा कोदो, मकै र धान गरी १२ मुरी जति अन्न संकलन हुन्छ । बालीघरेबाट उठेको अन्न वर्ष दिनसम्म खान पुग्छ । यहीबाट जीवन निर्वाह भएको छ । घरेलु र कृषि जन्य हातहतियार अराचापेबापत एउटा घरले कोदो र मकै ५ देखि ८ पाथीसम्म विष्टहरुले दिर्दै आएका छन । भने धान पनि ५ देखि ३० पाथी सम्म बालीघरे दिने गरेको उनले बताए । कामको आधारमा बालीघरे उठाउने गरेका छन । उनी मात्र होइन सोमबहादुर, रणबहादुर, ठगबहादुर विक लगायतले अझै पनि बालीरघरेको भरमा आरन पेशा संचालन गरिरहेका छन । ‘आरन पेशाबाट घरव्यवहार चलिरहको छ,’ रणबहादुर भन्छन,‘ वर्षेनी अन्न उठाइन्छ ।’ यसबाट जीवन निर्वाह भइरहेको छ । बालीघरे चलन हुदा त अन्नपात उठाउनु ठीकै थियो । तर, अहिले पैसाको जमाना छ । नगदमा काम गर्न पाए राम्रै हुन्थ्यो होला । गाउ घरको चलन हो । सबैले मानेपछि मान्नै प¥यो नि । दुःख गरेको मेहेनत अन्नबाट आउँछ । आफुले पाउने अन्नबाली कतै जाँदैन । सुरक्षित हुन्छ । तर, फलामका काम गर्न गाह्रो छ । फलामलाई पाइनमा ल्याउन बढी बल प्रयोग गर्नुपर्छ । आरनका लागि आवश्यक कच्चा पदार्थ गोलको समस्या छ । गोलका लागि काठजन्य पदार्थ पर्याप्त पाउँदैन । गोलविना आरन पेशा पनि चल्दैन । बालीघरेले अन्नको सत्ता नगदमा रुपान्तरित गरिदिए राम्रो हुने उनले बताए । नगद भएको हरेक कार्य गर्न सजिलो हुने थियो । तनहुको ऋषिङ्ग, घिरिङ्ग ,देवघाट र म्याग्दे गाउपालिका अधिकांश ठाउँमा अझै पनि बालीघरेमा आरन पेशा संचालनमा छन । बालीघरे प्रथा राम्रो भएको स्थानीय पदमबहादुर चितौरे मगरले बताए । ‘हसिया, कुटो कोदालो बढी मात्रमा अरचाप्न पर्छ,’ उनले भने,‘अरचापे बापत वर्षमा अन्नदिन खासै गाह्रो हुँदैन ।’ गाउँका किसानसँग खासै पैसा पनि हुदैन । आफ्नो घरेलु तथा कृषिजन्य सामग्री बनाई दिए बापतको ज्याला स्वरुप घरमा भएका अन्न दिने हो । अन्न निकालेर दिन सजिलो भएको छ । फाली अरचापेको २०, हसिँया ६० र बन्चरो १२० रुपैयाँ लाग्छ । तर, बालीघरले भने अन्नपात दिए पुग्छ ।





