तनहुँ, ५ कात्तिक – तनहुँ महोत्सव हाम्रो आधार , आर्थिक सामाजिक विकासको पूर्वाधार, भन्ने मूल उदेश्य सहित सातौँ तनहुँ महोत्सव २०७६ पुस २४ गते देखि माघ ६ गते सम्म हुने भएको छ । तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।
तनहुँ जिल्लाको ऐतिहासिक सांस्कृतिक र प्राकृतिक साधनको प्रचारप्रसार एवम् नयाँ सम्भावनाको खोजी गर्दै तनहुँ जिल्ला भित्रको आर्थिक सामाजिक र सांस्कृतिक गतिविधिलाई अगाडि बढाउने हेतुले महोत्सवको आयोजना गरिएको संघकी सचिव सीता गुरुङले बताइन् । महोत्सव अवधिभर राष्ट्रि तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुतिका साथै औद्योगिक प्रदर्शनी तथा खरिद बिक्री , दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्री,सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी तथा खरिद बिक्री,खाना महोत्सव,बाल उधान रमाइलो मेला,सांस्कृतिक नृत्य प्रतियोगिता , अटोमोबाइल प्रदर्शनी तथा बिक्री, पुष्प प्रदर्शनी तथा बिक्रीका साथै अन्य मनोरञ्जनात्मक कार्यक्रम समावेश हुने आयोजकले जनाएको छ । महोत्सवको ४ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोडको हाराहारीमा आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सवबाट हुने आम्दानीले दमौली बजारमा अव्यवस्थित रुपमा संचालित हाटबजारलाई हटाई ब्यबस्थित हाट्बजार स्थापना गर्ने, र पुराना घरहरुलाई ब्यबस्थापन गरिने संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।





