पोखरा,५ कात्तिक – मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौँ खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत सोमबार ६ खेल भएका छन् ।
सोमबार भएको पहिलो खेलमा आरकेटीले चाउथे १४ लाई १–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आरकेटीको जीतमा अनिल गुरुङले निर्णायक गोल गरेका थिए ।त्यस्तै दोस्रो खेलमा मसिना अर्गानिकले संगम एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा रोकिए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
तेस्रो खेलमा सन्तोष फुटबल क्लवले मझेरी फुटबल क्लवलाई ४–२ गोल अन्तरले पाखा लगाएको हो । सन्तोषको जीतमा सन्दिप परियारले २ तथा प्रदिप क्षेत्री र राजन बस्नेतले समान एक –एक गोल गरे भने मझेरीको लागि राजन नेपाली र विशाल नेपालीले एक– एक गोल गरेका थिए ।
चौथौ खेलमा हिटी फुटबल क्ववले गलेश्वर फुटबल क्लवलाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
पाँचौँ खेलमा चाउथे फुटबल क्लबले मसिना फुटबल क्लवलाई ४–१ फराकिलो गोल अन्तरले पाखा लगायो । चाउथेको जीमा अजित गुरुङले दुई तथा जीवन गुरुङ र सरोज योञ्जनले समान एक –एक गोल गरे भने मसिनाको लागि सुजित गुरुङले सान्त्वना एक गोल गरे ।
सोमबारको अनितम खेल काजीपोखरी फुटबल क्लब र रञ्जन मेमोरीयल क्लब बीच भएको थियो । उक्त खेलमा १ –० गोलको अन्तर पार्दै रञ्जन मेमोरीयल दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटन भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् ।
प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैया र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०÷१० हजार प्रदान गरिनेछ ।अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक एगेन्द्र कुवरले जानकारी दिए ।





