तनहूँ,१६ कात्तिक – शुक्लागण्डकी नगरपालिकाको बजार र राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणको लागि करिब २१ लाख रुपैयाँ खर्चिएर सुक्लागन्डकी नगरपालिका भित्रका १९ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । शुक्लागण्डकीमा पर्ने पृथ्वीराजमार्गको कोत्रेदेखी शेराटारसम्मका सडक तथा बजार क्षेत्रका विभिन्न स्थानहरुमा क्यामेरा जडान गरी निगरानी थालिएको सुक्लागन्डकी नगरपालिकाका सुचना अधिकारी त्रिलोचन लम्सालले बताए। नगरपालिकाले उद्योग वाणिज्य संघ दुलेगौँडा र खैरेनीटार बजार इकाइसँग समन्वय गरेर १० स्थानमा क्यामेरा जडान गरिसकेको छ। शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी लगायतका स्थानमा क्यामेरा राखिएको उनले बताए। उनका अनुसार १२ लाख ६० हजार रुपैयाँमा उच्चस्तरिय क्यामेरा जडान गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ८ ले पनि तीन स्थानमा दुई लाख रुपैयाँ खर्चिएर क्यामेरा जडान गरेको छ । सहरोन्मुख वडाको वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बिच भागमा र संवेदनशिल स्थान सेती नदीको पुलमा क्यामेरा जडान छ। यहाँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडा बजार पर्ने वडा नम्बर ४ का वन्केवाचोक, हेल्थपोष्टचोक र भित्री बजारमा तीन वटा क्यामेरा जडान गरेको वडाअध्यक्ष शिव कुमार श्रेष्ठले बताए। क्यामेरा जडानमा वडाले एक लाख २५ हजार रुपैयाँ लगानी गरेको उनले जानकारी दिए। यस्तै सुर्य नेपाल प्रालीले इलाका प्रहरी कार्यलय परिसरमा तीन वटा क्यामेरा राखिदिएको छ। राजमार्गमा हुने सडक दुर्घटना न्युनिकरण र अपराधिक क्रियाकलाप निरुत्साहित गर्न सीसी क्यामेरा जडान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । लम्साल भन्छन्, ‘शान्ति सुरक्षामा क्यामेरा प्रभावकारी देखिएको छ, अन्य स्थानमा क्यामेरा थपिने कार्य जारी छ । क्यामेराको मर्मत सम्भारमा चुनौती रहेको उनले जनाए। क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ। प्रहरीले २४ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशिल क्षेत्रको निगरानी सिसि क्यामराको माध्यम बाट राखिरहेको छ । क्यामेरा जडानपछि सडक दुर्घटनामा कमी आएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले बताए। क्यामेराका कारण दुलेगौँडाको एक सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन सफल भएको उनले सुनाए। पसल चोरी गर्ने व्यक्तिलाई समेत पक्राउ गर्न क्यामराले सहयोग गरेको बताउदै बजारका अन्य स्थानमा पनि क्यामरा जोड्न आवस्यक रहेको उनले बताए । ‘बजारमा सीसी क्यामेरा राखेपछि आपराधिक गतिविधिमा उल्लेख्य कमी आएको छ’ उनी भन्छन्, ‘कन्ट्रोल रुमबाट हामीले निगरानी गरिरहेका छौँ। चोकचोकमा सीसी क्यामेरा भएकाले अपराधिक मानसिकता भएकाहरु सचेत बनेका छन्।’





