बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महाभारतका नारी पात्रहरूको ‘भर्जिनिटी’

महाभारतका नारी पात्रहरूको ‘भर्जिनिटी’


  • चेतना शर्मा
  • कार्तिक १६ २०७६, शनिबार

भौतिक र अलौकिक गीता ज्ञानको पृष्ठभूमिका लागि आधार प्रदान गरेका महाभारतको कथाको जीवन्तता  मानव सभ्यताको कुनै पनि कालखण्डमा कम भएको छैन। महाभारत  केबल धर्मयुद्धसँग जुधेको  राजपरिवारको कथा मात्र होइन। यस महाकथाले मानिसका जीवनका विविध पक्षहरूमा पनि सूक्ष्म तरिकाले प्रकाश पारेकोले कथाका सबै पात्र र घटनाहरू सधैं स्मरणीय छन्।
महाभारतको कथाका पुरुष पात्र र घटनाहरूजस्तै  कथाका नारी चरित्रहरूको भूमिका पनि युगौयुगसम्म आकर्षणका केन्द्रबिन्दु रहिरहेका छन्। कथामा नारी चरित्र भन्ने बित्तिकै उसको यौनिकताको पर्दारोपण कथामा कसरी गरिएको छ भन्ने कुरा सधैं चासोको विषय रहेको हुन्छ। महिला र यौनका विषयहरूले परापूर्वकालदेखिका कला साहित्यहरूमा रसपूर्ण बनाउँदै आएका छन्। कुनै पनि साहित्यमा महिला सुन्दता र आकर्षणका स्थानबिना किनारा पाएका कथाहरू प्रायः कमै हुन्छन्।
महाभारतको कथा  पनि महिला र महिलाका यौनिक मुद्दाहरू केन्द्रबिन्दुमा रहेका छन्। अदम्य साहस र यौनिक सवालका कारण महाभारतका नारी चरित्रहरू ऐतिहासिक पात्र बनेका हुन्। महाभारत कथामा महिला पात्रहरूमा यौन अधिकारको प्रयोगलाई  फरक ढंगले हेर्न सकिन्छ। झट्ट हेर्दा कथामा महिला पात्रहरूले यौनका मामलाहरू केबल एक पुरुषसँगमात्र सीमित नभई बहुपुरुषसँगको समागमलाई सहज तरिकाबाट प्रस्तुत गरिएको भएता पनि उनीहरूको कौमार्यलाई तेजस्वी ऋषिहरूका साथै शासनमा रहेकाहरूले आफ्नो कामावेश शान्त पार्न र वंश बढाउनका लागि स्वार्थपूर्ण ढंगबाट उपभोग भएको वास्तविकता हो।
एउटै महिला पात्रलाई बढी पुरुष वा देवताहरूले सम्बन्ध राखेका सन्दर्भहरू महाभारत कथामा भेट्न सकिन्छ। महिलाको भर्जिनिटीलाई धेरै जटिल र एउटै पुरुषको संरक्षकत्वमा राखिएको छैन। ता पनि अरुका स्वार्थ र आवश्यकताका अनुरूपमात्र महिलाको स्त्रीत्वको प्रयोग भएको देखिन्छ। महाभारत कथाकी एक महत्वपूर्ण नारी पात्र सत्यवती हुन्,  जसका कारणले  देवव्रत भीष्म प्रतिज्ञाको राखमा जीवनभरि जलिरहे। उनले  राजा सान्तनुसँग विवाह हुनुअघि परासर ऋषिसँगको सहवासबाट ब्यासलाई  जन्म दिएकी थिइन्।
सत्यवतीको यौवनबाट विचलित परासर ऋषिले उनको कौमार्य फिर्ता हुने सर्तमा उनलाई भोग गरेका थिए। ऋषि व्यासको जन्म अनैतिक सम्बन्धको परिणाम भएकोले  आमाको मातृसुखबाट उनी सधैं विमुख रहेका देखिन्छन्। सान्तनुतर्फका  दुइटै छोराहरू विचित्रविर्य र चित्रांगतको  नि:सन्तानै अवस्थामा निधन भएपश्चात कुरुवंशको उत्तराधिकारी प्राप्त गर्न आफ्ना  बुहारीहरू (विचित्रविर्यका श्रीमती) अम्बिका र अम्बालिकालाई तिनै व्याससँग समागमका लागि सत्यवतीले निर्देशन दिन्छिन् जसबाट धृतराष्ट्र र  पाण्डुको  जन्म हुन्छ।
यस प्रसंगले महिलाको सतित्वको प्रयोग यदि कुनै प्रयोजनका लागि भंग भएको हुनाले त्यो अनैतिक ठहरिएको छैन  र उनीहरूको प्रजनन अधिकारलाई सत्यवतीले उत्तराधिकारी प्राप्त गर्न अधिनमा राख्न खोजेकी छन्। सत्यवतीको उक्त कदमको एकमात्र उद्धेश्य हस्तिनापुरको उत्तराधिकारीको अभावलाई पूरा गर्नु थियो। तर इतिहासले पाण्डु र धृतराष्ट्रलाई व्यासका पुत्रभन्दा  कुरुवंशबाट बढी चिनाउँदछ।
सत्यवतीको निर्णय र राजकाजमा बाहुल्यताका कारण महाभारतका नारी चरित्रहरूमध्ये उनको भूमिका प्रभावशाली देखिन्छ। कथाकी यी पात्रलाई महाभारतको युद्घको बिउ अंकुरण गराउने पात्र भनेर आलोचना पनि गरिन्छ। बिदुरको जन्म पनि व्यास र दासीबाट भएको थियो ता पनि उनको पहिचान दासीपुत्र नै रह्यो।
इतिहासले उनको पहिचान पनि बुवाका माध्यमबाट गराउँदैन। महिलाका यौन अधिकारहरूको प्रयोगका सम्बन्धमा महिलाको स्वतन्त्रता र बन्देजको विरोधाभास देखिन्छ। अप्रत्यक्ष रूपमा महाभारतमा विरोधाभासषपूर्ण तरिकाबाट बहुपतिप्रथाको अवधारणालाई स्वीकारिएको छ। तर तिनको कौमार्यता पुर्नप्राप्तिलाई महिलाको शुद्घतासँग गाँसिएका विषय पनि कथामा सँगसँगै प्रस्तुत भइरहेको हुन्छ।
महाभारतकी अर्की महत्वपूर्ण नारीपात्र हुन, कुन्ती।  कुन्ती अविवाहित हुँदा उनले दुर्वासा ऋषिबाट देवताहरूलाई बसिभुत गराउनसक्ने गोप्यमन्त्र पाएकी थिइन्। पाण्डु र कुन्तीको विवाहपश्चात् पाण्डुलाई किन्दम ऋषिले दिएको श्रापका कारण उनी वंश बढाउन असक्षम हुन्छन्। आफू यस्तो अवस्थाबाट जोगिन पाण्डुले नै कुन्तीलाई उक्त मन्त्रको प्रयोग गरी सन्तान जन्माउन अह्राउँछन्। कुन्तीले सो मन्त्रद्वारा आमन्त्रित गरिएका धर्मराज, वायु र इन्द्रबाट क्रमशः युधिष्ठर , भीम र अर्जुनको जन्माउँछिन्। पाण्डुले माद्र देशसँगको लडाइँमा जितपश्चात हस्तिनापुर ल्याइएकी  माद्रीबाट पनि सोही मन्त्रका प्रभावले अश्विनीकुमारबाट नकुल र सहदेवको जन्म हुन्छ।
कुन्ती र माद्रीबाट जन्मेको यी पाँच जनाका पिता फरक फरक भए पनि इतिहासमा पाण्डुपुत्र भनेर नै चिनिए र चिनिरहनेछन्। कुन्तीको जीवनको अर्को यथार्थ भनेको कुन्तीले सोही मन्त्रको प्रयोगबाट पाण्डुसँग विवाह हुनुपूर्व नै सूर्य देवताबाट कर्ण जन्माइसकेकी थिइन् र अनैतिक सम्बन्धका कारण जन्मेकोले कर्णलाई उनले गंगामा बगाइदिन्छिन् र आफूले गरेको यस कुरालाई सम्झन पनि चाहँदिनन्।
कर्ण  सुरवीर भएता पनि विभिन्न लान्छनाहरूको सिकार हुँदासम्म कर्णलाई छोरा भन्न कुन्तीले रुचाएको देखिँदैन। किनभने कर्णलाई उनले अविवाहित अवस्थामा जन्माएकी थिइन्। तर उनको प्रजनन् अधिकारलाई आवश्यकता अनुरूप पाण्डुको निर्देशनमा एक पटकभन्दा बढी अन्यबाट परिचालित भएको हुनाले कुन्तीलाई पुजनीय पात्र नै मानिन्छ । यसरी हेर्दा ती देवहरू कुन्तीलाई विर्य दान गर्ने जरिया मात्र बने। कुन्तीलाई हिन्दुधर्ममा कन्या मानिन्छ। “कन्या” भन्नाले  कुनै पनि  पुरुषसँग सहवास नभएकी  स्त्री /बालिकालाई संकेत गर्छ।
नारीपात्रहरूको यौन अधिकार शासकहरूको इच्छा अनुरूप धेरै पटक प्रयोग हुन बाध्य भएको महाभारतमा देखिन्छ। तर महिला यो अधिकारको प्रयोगमा पूर्णरूपमा स्वतन्त्रता थिएनन्। जस्तै  स्वेच्छाले राखेको आपसी सम्बन्धलाई नारीपात्रहरूले लुकाएरै राख्न खोजेका छन्। चरित्रमा लाग्ने लान्छनाका डरले कुन्तीले कर्णको जन्म आफ्नो गर्भबाट भएको हो भन्ने सत्यलाई अन्तसम्म पनि खोल्न चाहेकी हुँदैनन्। लोकलज्जाको भयमा कर्णको परिचय अन्तिम अवस्थासम्म पनि लुकेरै बस्यो र कर्णले अभिशप्त जीवन बाँचिरहे। यद्यपी फरक पिताबाट जन्म लिएका अन्य सबै कुन्तीका छोराहरूलाई भने इतिहासले गौरवका पात्र बनायो।
महाभारत कथाले राजकुमारीहरूलाई आफ्ना वर चुन्ने अधिकार दिएको भनिएता पनि कतिपटक उनीहरूको यो अधिकार प्रभावशाली व्यक्तिबाट नै खोसिएको हुन्छ वा हस्तक्षेप गरिएको देखिन्छ। अम्बिका , अम्बालिका र अम्बालाई राजसभाबाटै अपहरणको शैलीमा हस्तिनापुरमा ल्याइएको हुन्छ भने  अम्बाले मन पराएका शाल्भ देशका युवराजको घाँटीमा वरमाला पहिराउन दिइएन।
गान्धारीलाई पनि वर चुन्ने अधिकारै नदिई भीष्मले धृतराष्ट्रका लागि  हस्तिनापुरमा ल्याएको सन्दर्भहरूबाट यो कुरा प्रष्ट हुन्छ। अर्जुनले पनि कृष्णकी बहिनी शुभद्रालाई अपहरणको शैलीमा पत्नी बनाएर ल्याएका थिए। महाभारतका कथामा  महिला स्वतन्त्रताको सन्दर्भमा कथनी र करनीमा सामञ्जस्यता देखिँदैन।
सत्यवतीलाई केवल सुन्दरता र यौन आवश्यकता पूर्तिका रूपमा राजा सान्तनुले विवाह गर्दा महाभारतको कथाले महत्वपूर्ण मोडलिने आधारहरू सृजना भए। महिलाप्रति उनको आसक्तिले राजधर्मप्रतिको कर्तव्यबाट उनी डगमगाएका हुन्छन्। गंगा र सत्यवतीसँग सान्तनुको विवाह महिलाप्रति उनको अन्धो आसक्तिकै नतिजा थियो।  ऋषि र देवहरूले महाभारतका नारी पात्रहरूसँग प्रत्यक्ष सहवास गर्नुका साथै आवश्यक परेका बेला यौन अधिकारको प्रयोग गर्ने वरदान दिएका हुन्छन्।
त्यस्तै अर्जुनसँगमात्र स्वयम्बर गरेकी द्रोपतिका  पाँच पाण्डुहरू पति बन्न पुगे। भलै उनले पाँच पति चुनेकी थिइनन् तर पनि भवितव्यका कारण उनले पाँच जनालाई पति स्वीकार्नु पर्यो। कुन्ती कुनै वस्तुसरह बाँडिएर पाँचै जना पाण्डुपुत्रहरूकी  साझा पत्नी भइन्। पालैपालो उनले प्रत्येक पतिसँग एक वर्ष बिताउनु पर्दथ्यो। उनलाई पाँच फरक फरक स्वभावका पतिसँग रहनु र उनीहरूसँग गर्नुपर्ने व्यवहारहरूका कठिनाइहरूलाई कसरी व्यवस्थापन गर्दथिन् भन्ने कुरा सोचनीय विषय हुन्छ। महाभारतका महिला पात्रहरूमा द्रोपदी मानसिक रूपमा सशक्त महिला भएता पनि आफूले मन पराएका कर्णले माछाको आँखाका निसाना साँध्न खोज्दा श्रीकृष्णले उनलाई उनको वरमाला कर्णका लागि होइन भन्ने संकेत गर्दछन्।  र द्रोपदीले कर्णलाई आफ्नो वरमाला नरहेको भनेर घोषणा गर्दछिन्।
यसको नतिजा उनी आफूले इच्छाएको व्यक्तिलाई वरचुन्न सक्दिनन्। दुर्योधनले द्रोपदीको चीरहरणको प्रसंग द्रोपदीसँगको व्यक्तिगत रिसिइबी र पाँच जनै पतिहरूतर्फ प्रतिशोध उन्मुख घटना भन्न सकिन्छ। आवेग ,  रिस, प्रतिशोध , जय पराजयका निम्ति द्रोपदीको चीरहरणलाई माध्यम बनाइयो। मानव सभ्यताले विभिन्न चरणहरू पार गरिहँदा समाजमा विकासका विभिन्न सन्दर्भहरूले नयाँ नयाँ मान्यताहरू पाउँदै गयो। विकासका अवधारणहरूसँगै समाजका धेरै विषयहरू खुकुला भए।
तर धनी गरिब,  स्त्री, पुरुष, जातजातिबीचको संघर्ष भने झन् पेचिलो बन्दै गयो। कुनै न कुनै रूपमा समाजमा यी तत्वहरू सधैं संघर्षरत रहे।समाजमा स्थापित मूल्यमान्यताहरूले यस्ता विषयहरूमा जहिले पनि कठोर रवैयाहरू अपनाएको देखिन्छ। महिला र पुरुषबीच शक्तिको संघर्षमा जहिले पनि गहुँमा घुनजस्तै महिलाको सतित्वका प्रश्नहरू महिलालाई पेल्नकै लागि अघि सारिए। नत्र सत्यवती, अम्बिका र अम्बालिका र कुन्ती जस्ता नारीहरूको सतित्व कसैको स्वार्थका निमित्तमात्र प्रयोग किन भयो?  तर उनीहरूले विवाहपूर्व भएका सम्बन्धहरूका बारेमा खुलेर बोल्न सक्ने वातावरण किन पाएनन् भन्ने कुरा प्रश्न पनि अहम् हुन्छ।
कुन्ती र सत्यवतीमा पनि  आफूप्रति समाजले लागाउने लाञ्छनाको डर लुकेर बसेको थियो। महिलाको सतित्वलाई अभिभावकत्व एकजना मात्र पुरुषको अधिकार रहने गरी सीमारेखा , धार्मिक , सामाजिक संहिताहरू  निर्माण गरिए। तर पुरुष आफ्ना यौन विषयमा चराले प्वाँख फटकारे जता पनि उड्न पाउने बनाइयो भने आजसम्म आइपुग्दा महिलाको यौनिकतामा नियन्त्रण भनेको सम्पूर्ण महिलाको भौतिक र मानसिक अवस्थामाथि नै नियन्त्रण गर्ने बलियो आधार भएका छन्।
जुनसुकै अवस्थामा महिलालाई केबल भोग्य वस्तुकारूपमा लिइन्छ। जसको चाबुक पुरुषसत्ताको हातमा रहिआएको छ। महिलाको यौनिकता महिलालाई नै कमजोर बनाउन तर आफूलाई शक्तिशाली बनाउन आफ्नो अनुकूल बनाउन पितृसत्ताले प्रयोग गरिहन्छ। महाभारत कथाका नारी पात्रहरू असंगत सामाजिक मूल्यमान्यताका क्रन्दनहरूबाट अछुत रहेका छैनन्। जस्तोसुकै दैवीय गुणबाट सुशोभित भएका नारी भएता पनि समाजिक संरचनाहरूबाट निर्देशित भएरै आफ्नो प्रजनन् अधिकारलाई प्रयोग गर्न र लुकाएर अघि बढ्न बाध्य भएका छन्।
यौन स्वतन्त्रताका विषयमा दोहोरो मापदण्डमा नारीहरूको चरित्र प्रस्तुत भएको छ। पुरुष पात्रका एकाधिकार महिलासँगको सम्बन्धलाई भने स्वभाविक रूपमा देखाइएको छ। शक्ति , आवश्यकता, वासना , गृहस्थी, प्रतिशोध, वासना र सामाजिक मान्यताहरूलाई मूर्तरूप प्रदान गर्न नारीहरूको सतित्व प्रयोग भएका नारीपात्रहरूको चारित्रिक लज्जाको पवित्रतालाई यथावत् राख्नेतर्फ कथामा नारी चरित्रहरू प्रेरित छन्।  नारीपात्रहरूको कौमार्यत्व  पितृसत्तात्मक संस्कृति र मान्यताबाट शासित भएको हुन्छ। अथवा महिलाको भर्जिनिटीका  सवालहरू महाभारतमा विरोधाभासपूर्ण तरिकाले  “सेक्सुअल पोलिटिक्स” बाट प्रभावित देखिन्छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->