पोखरा,१९ कात्तिक – दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग गेम) को लागि पोखरामा एक अर्व २८ करोड रुपैयाँको बजेट विनियोज भए पनि बजेट निकासा भने भएको छैन । नेपालमा हुने साग गेमको लागि पोखरामा ९ खेलको सम्भावना रहेको छ । साग गेम लक्षित पोखरामा बजेट बिना नै पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।
पोखराको लागि बजेट विनियोजन भए पनि हाल सम्म कुनै पनि खेलको लागि बजेट भने आएको छैन । ‘हामीले निकै चुनौतीपूर्ण तरिकाले काम गरेका छाँ, अहिलेसम्म बजेट आएको छैन काम गर्न असहज छ“ साग गेम स्थानीय तयारी तथा व्यवस्थापन समिति सचिव एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीले भने“ हामी साग गेम सभ्य र भव्य रुपमा सफल पार्नका लागि जुटेका छौँ, बजेट निकासाको लागि पटक पटक ताकेता गरेका छौँ ।’ बजेट निकासा नहुँदा पूर्वाधार निर्माणमा निकै समस्या खेप्नुपरेको सुनाउँदै हरेक कम्पनीलाइ सान्त्वना दिएर काम गर्न बाध्य भएको उनले बताए ।
हाल पोखरा रंगशालामा पूर्वाधार निर्माणको काम चलिरहेको छ साग गेम आउनको लागि अब करिब २८ दिन मात्र बाँकी छ । तर पनि केन्द्रले भने अझै बजेट पठाएको छैन । सरकारी प्रक्रियाको कारण बजेट आउन निकै ढिला भएको योगीको धारणा रहेको छ । यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले प्रतियोगिताको लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । ‘मुख्य कुरा भनेकै आर्थिक हो, तर हामी विना बजेट पनि तिव्रताका साथ अघि बढेका छौँ, बजेट आउन ढिला भएको छ, यस्ले समस्या बनाएकै छ’, सदस्य गुरुङले भने । पोखरामा साग गेम हुन नदिन केही संघकै व्यक्ति लागि परेको गुरुङले बताए । ‘संघ भित्रै केही साथीहरुमा धमिलो देखियो, हामी खेलाडीको हितमा काम गर्ने हो स्वार्थको लागि होइन’,गुरुङले भने । प्रतियोगिताको लागि संघकै पदाधिकारीको समन्वय नहुँदा समस्या भएको उनले सुनाए । ‘ठेकेदारलाइ जिम्मा दिँदैमा मात्र काम सम्पन्न हुँदैन, यसमा पदाधिकारीले नै चासो दिनु पर्छ’, उनले थपे,‘ अनि मात्र समयमै काम सकिन्छ ।’
पोखरामा पूर्वाधार निर्माण हुने क्रम तीव्र रहे पनि केही खेलको लागि भने बजेट निकासा नहुँदा काम भने हुन सकेको छैन । यस्तै साग गेम लक्षित गर्दै पोखरा रंगशालामा तत्कालै करिब ४० थान सिसिटिभी जडान गरिने गुरुङले जानकारी दिए । पोखरा रंगशालामा पुर्वाधारका साथ साथै रंगशालालाइ सिँगार्ने काम भएको छ ।





