पोखरा, १९ कात्तिक – प्रतिनिधीसभा उपनिर्वाचन हुने देशकै एकमात्र निर्वाचन क्षेत्र कास्की २ मा आउँदो बिहिबार मनोनयन दर्ता हुँदैछ । दलहरुले उम्मेवारहरुको टुंगो लगाउने कसरतमा छन् । साना दलहरुले भने उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालनी गरिसकेका छन् ।
निर्वाचनकै लागि आइतबार कास्कीमा मुख्य निर्वाचन कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्र मात्रै पर्ने एकमात्र प्रतिनिधीसभा क्षेत्रमा यसअघि रविन्द्र अधिकारी विजयी भएका थिए । तर, गएको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएपनि रिक्त क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
यस क्षेत्रमा यसअघि ७० हजार छ सय ५१ मतदाता थिए । अहिले मतदाताको संख्या ७१ हजार आठ सय ७१ पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय, कास्कीले दिएको तथ्यांक अनुसार यसपटकको उपनिर्वाचनमा पनि साविककै केन्द्र र मतदान स्थल तोकिएका छन् । मंसिर १४ गते मतदाताहरुले ३२ मतदान स्थलका ८२ केन्द्रमा मतदान गर्नेछन् ।
प्रतिनिधीसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६÷१६ वटा मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनमा मतदान गर्नेमा पुरुषको तुलनामा महिला मतदाता बढि छन् । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मंसिर १४ को उपनिर्वाचनमा ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष मतदाताले मतदान गर्नेछन् ।
एक जना तेश्रोेलिंगी मतदाताले पनि मतदान गर्नेछन् । ती मतदाताले वडा नं. ९ को सहारा बाल आधारभूत विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् ।
हेरौँ, मंसिर १४ को निर्वाचनमा वडागत आधारमा मतदाताको संख्या, मतदान स्थल र केन्द्र ः






