आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दशक अघि कच्ची सडकमा तोकिएको भाडा समायोजन भएन

दशक अघि कच्ची सडकमा तोकिएको भाडा समायोजन भएन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

बागलुङ, २० कात्तिक – सदरमुकाम देखि मध्यपहाडी लोकमार्गको बाटो भएर बडिगाड २ को खरवाङ पुग्दा यात्रीले ६ सय देखि ७ सय रुपैयाँ भाडा तिर्नुपर्छ । बसले ६ सय र जिपले ७ सय भाडा लिन्छन् । बुर्तिवाङ पुगेको ९ सय रुपैयाँ छ । बुर्तिवाङदेखि निसीको भलकोट पुग्न ४ सय रुपैयाँ तिर्नुपर्छ । सिधा यातायात चलेको बेला एक हजार ३ सय रुपैयाँ एकतर्फी भाडा तिरेपछि मात्र सदरमुकाम देखि निसी पुग्न सकिन्छ । यो खण्ड १ सय ४० किमी छ ।

दशक अघि यो खण्डमा ट्रयाक मात्र थियो । पहिरो, हिलो, साँघुरो र दुइ दिनको जिपको यात्रा लाग्ने यो खण्ड अब ७ घण्टामा यात्रा गर्न सकिन्छ । तर भाडादर भने घट्नुको साटो बढेको बढ्यै छ । तोकिएको भाडा लागू नभएपछि बार्गेनिङ गरेर तिर्न खोज्दा धेरै यात्रीहरु बिच बाटोमै अभद्र व्यवहार सहन बाध्य छन् । ‘मागे जति भाडा नदिए अभद्र व्यवहार हुन्छ, बरु नबोलीकनै तिर्ने गरेको छु’ बडिगाड २ का हर्कबहादुर कुमालले भने, ‘पैसा तिरेर यात्रा गर्दा पनि हामीलाई अपराधिझै व्यवहार हुन्छ ।’ यो खण्डमा पुरानो दर अनुसार ५ सय ५० रुपैयाँ भाडा तोकिएको छ । दशक अघि कच्ची सडकमा तोकिएको भाडा समायोजन भएको छैन । अहिले यो खण्ड कालोपत्रे भएको छ ।

मध्यपहाडी लोकमार्गमा सूचिकृत यो सडक राष्ट्रिय गौरवको आयोजना हो । तर जिल्ला भाडादर समायोजन समितिले अहिले सम्म राजमार्गको रुपमा भाडादर कायम गरिदिन सिफारिस गरेको छैन । प्रमुख जिल्ला अधिकारी अध्यक्ष र यातायात व्यवस्था कार्यालयका प्रमुख सचिव रहने भाडादर निर्धारण समितिले सिफारिस गरेमा यातायात व्यवस्था बिभागले दररेट समायोजन गराउने प्रावधान छ । ग्रामीण सडकको भाडा कायम गर्न पाउने प्रावधान राखेको यो समितिले राष्ट्रिय राजमार्गमा सूचिकृत भएको बर्षौ भैसक्दा पनि ग्रामीण र अस्थायी सडकको रुपमा आँफै भाडा तोकिरहेको हो । ‘सिफारिस समितिको बैठक बसेर बिभागमा पठाउने हो, तर बैठक बसेको छैन’ यातायात व्यवस्था कार्यालय बागलुङका अधिकृत तुलसीराम कंडेलले भने, ‘मनोमानी गर्न पाईदैन, हामी अनुगमन गर्छौ ।’ हरेक गाडिमा पसेर कति भाडा तिरेका छौं भनेर सोध्न नमिलेपनि ट्राफिक मार्फत यो काम गर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले उजुरी आएको खण्डमा छलफल चलाउने बताए । यो खण्डमा यस अघि तोकिएको प्रति किमी बसमा ८ र जिपमा ९ रुपैयाँ भाडादर कालो पत्रे भैसक्दा पनि नहटेको हो । ‘गत बर्ष भाडा समायोजन भएको रहेछ, तर अझै लागू नभएको भेटियो’ प्रजिअ क्षेत्रीले भने, ‘तत्काल बैठक राखेर गत बर्षको लागू गराउने पहल गर्छु ।’ यातायात व्यवसायीले मनोमानी गरेर निर्णय पालना नभएको उनले टिप्पणी गरे । उनले यातयाता व्यवस्था कार्यालयको प्रमुख पारसिं थापालाई तत्काल पुरानो निर्णय अध्ययन गरेर बैठक बसाल्न निर्देशन दिएको बताए ।

यो खण्ड मध्यपहाडी लोकमार्गमा सूचिकृत छ । राष्ट्रिय राजमार्गमा सूचिकृत भएपछि प्रतिकिमी साँढे दुइ रुपैयाँ देखि तीन रुपैयाँ मात्र भाडा लिन पाइन्छ । यो सडकको ९० किमी मध्ये ६५ किमी कालोपत्रे छ । कच्ची ट्रयाकमा लिने ग्रामीण सडकको भाडाकै रुपमा ग्राभेल र कालोपत्रेको लिनु न्ययिक नभएको खरवाङका कलम पौडेलले बताए । यातायात व्यवस्था कार्यालयका अधिकृत कंडेलले सडकलाई राजमार्गको रुपमा सूचिकृत नगरेकोले महंगो भएको बताए । ‘अब समिति कंपनी भएको छ, हामी कंपनीसँग बसेर यो बिषयमा छलफल गर्छौ’ कंडेलले भने, ‘मनोमानी गर्ने, दिन्छु भनेको सेवा नदिने गरेको अबस्थामा जरिवाना र अन्य कारवाहीका प्रकृया छन्, हामी गर्न तयार छौं ।’ यो खण्डमा यात्रा गर्ने कुनैपनि जिप र बसले टिकट समेत नदिएको यात्रीको गुनासो छ । यातायातका समितिहरु खारेजी भएर कंपनी भएपनि अहिले सम्म चोकचोकमा समितिको बोर्ड राखेर टिकट काउन्टर भने चलिरहेका छन् । यहाँ धौलागिरी यातायात बस तथा जिप व्यवसायी समिति, बागलुङ कालिका भगवती, बुर्तिवाङ यातायात लगायतका समितिमा सूचिकृत सबारी साधन चल्छन् ।

समिति खारेज भएपछिको धौलागिरी यातायात कंपनीका अध्यक्ष उमेश केसीले भाडादर बारे केही बोलेनन् । उनले गुणस्तरीय सेवा दिन थालेको दावी गरे । ‘यात्रीलाई गुणस्तरीय सेवा दिएका छौं’ उनले भने, ‘सेवा अनुसारको भाडा लिएका छौं ।’ बागलुङ देखि काठमाण्डौका लागि तोकिएको ७ सय रुपैयाँमा एसी, खानेपानी र म्युजिक भिडियो सेवा दिने भन्दै ८ सय लिने गरेकोमा गत बर्ष बढेको रकम जोडेर ८ सय ८० रुपैयाँ असुल्छन् । तर ती सवारीमा पानी खान नपाएको र एसी नचलेको यात्रीले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->