आगामी मंसिर १४ गते हुने प्रदेशसभा उप–निर्वाचन बागलुङ क्षेत्र नं २ (ख) को लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् कांग्रेसका युवा नेता जीत शेरचन । २०५२ सालदेखि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका शेरचन २०६४ सालदेखि पार्टिको राजनीतिमा क्रियाशिल छन् । मुलधारको राजनीतिमा पहिलोपटक शेरचन कांग्रेसको महाधिबेशन प्रतिनिधि भएर प्रबेश गरे । यसअघिको एक कार्यकाल महाधिबेशन प्रतिनिधि भएर काम गरेका उनी अहिले पनि बहालवाला महाधिबेशन प्रतिनिधि हुन् । जनजागृत माध्यमिक बिद्यालयबाट नेविसंघको राजनीति सुरु गरेका शेरचनले लामो समय बिद्यार्थी राजनीतिमा बिताए । उच्च शिक्षा अध्ययनको लागि काठमाण्डौ पसेपछि महेन्द्र रत्न क्याम्पस ताहचलमा नेविसंघको इकाई समितिको सदस्यदेखि सभापती र स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसम्म भए । लामो समय बिद्यार्थी संगठनमा रहेकाले केन्द्रिय स्तरका नेताहरुसँग राम्रै हिमचिम भएका युवा नेता माानिन्छन् उनी । यसअघि २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शेरचन राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीसँग पराजित भएका थिए । घर्तीको बिरामीका कारण मृत्यु भएपछि हुन लागेको उप–निर्वाचनमा उनी पुनः उम्मेदवार बनेका छन् । पहिलेको चुनावको पराजयको घाउ ओभाई नसक्दै हुन लागेको उप–निर्वाचनमा पुनः उम्मेदवार बनेका शेरचनसँग ढोरपाटन न्यूजका लागि सहकर्मी तारानाथ आचार्यले गरेको संवाद ।
पराजित भएको निर्वाचन क्षेत्रमा फेरी उम्मेदवारी के का लागि ?
–२०७४ को निर्वाचनमा मैले जनताका बिचमा कयौं एजेण्डाहरु लिएर गएको थिएँ । निर्वाचनको समयमा बेहोर्नु परेको हारका कारण मैले ती एजेण्डामा रहेर काम गर्न पाईन् । अहिले परिमार्जन र थप केही एजेण्डा र पुराना एजेण्डालाई सार्थक बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँु । निर्वाचनपछि बितेको समयमा मैले यस क्षेत्रमा संगठन बिस्तार, बिकास निर्माण र जनसम्पर्कलाई ध्यानमा राखेर काम पनि गरेको छु । अझै ती कामलाई सशक्त र प्रभावकारी बनाउनको लागि मेरो उम्मेदवार हो ।
तपाईंका चुनावी एजेण्डा के हुन् ?
–निसीभूजी क्षेत्र चेतनाका हिसाबले निकै कमजोर र पछाडी परेको क्षेत्र हो । यहाँ अशिक्षाका कारण विकासले गति लिन सकेको छैन । राज्यको उपस्थिती नै छैन् भन्दा पनि भयो । अशिक्षाका कारण यहाँ जागिर खानेको संख्या एकदमै कम छ । जागिर खानेको संख्या वा उद्यम गर्नेको संख्या नभएपछि आर्थिक अवस्था कमजोर हुनु स्वभाविक हो । पूर्वाधारको बिकास पनि जिल्लाका अन्य क्षेत्रको तुलनामा निकै कमजोर रहेको छ । त्यसैले मैले मत माग्नका लागि जनताको माझमा जाँदा शिक्षा र जनचेतनालाई पहिलो एजेण्डा बनाएको छु । हामीले यहाँ रहेको एउटा क्याम्पस महायज्ञ लगाएर, दान उठाएर चलाउनु पर्ने अवस्था छ । त्यसलाई सरकारले नै चलाउनु पर्छ भन्ने माग मेरो हो । अझै यो क्षेत्रमा क्याम्पसलाई आंगिक बनाउनु पर्छ भन्ने छ । हिउँदमा ओधारेको सडकको माटोले बर्षात्मा दुर्घटना निम्त्याएको कुरा यहाँहरुलाई पनि जानकारी छ । बिना योजनाको बिकासका कारण यस्तो भैरहेको छ । योजनाबद्ध र एकीकृत बिकास दोस्रो एजेण्डा हो । स्वास्थ्य क्षेत्रमा सुधार । बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनु पर्छ भन्ने छ । निसीभुजी क्षेत्रमा रहेका कयौं पर्यटकीय क्षेत्रको पहिचान नै भएको छैन् । तिनको पहिचान, बिकास र प्रचारप्रसार मेरो चुनावी एजेण्डा नै हो । जनजागरणमार्फत शैक्षिक, भौतिक र आर्थिक बिकास मेरो एजेण्डा हुने छ । पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत सुधार पनि गर्नुपर्ने छ । त्यो पनि मेरो एजेण्डा नै हो ।
तपाईंले चुवान जित्ने आधार के–के हुन् ?
–निर्वाचनको समयमा पहिलो आधार त संगठन नै हो । पहिलेको तुलनामा यस पटक हाम्रो संगठन बलियो भएको छ । अर्को मैले चुनाव जित्ने आधार भनेको दुई तिहाईको सरकारका काम हुन् । सरकारले आर्थिक समृद्धिको नारा लगाएर जनतालाई गुमराहमा पारेर काम केही गरेन । निसीभूजी निकै पछि परेको क्षेत्र हो । यहाँका जनताको दैनिकी, यहीँ जन्मे हुर्केको वा भोगेको नेताले मात्रै बुझेको छ । यहाँका जनताले पहिले–पहिलेका निर्वाचनमा निसीभूजीको दुःख नदेखेका र नचिनेका नेतालाई जिताए । केही गरेरनन् । त्यो कुरा जनताले बुझेका छन् । यस पटक यहाँको दुःख बुझेको उम्मेदवारलाई छुटाउँदैनन् भन्ने लागेको छ ।
तपाईं चुनाव लड्दै गरेको क्षेत्रका समस्या के–के हुन् ?
–बागलुङको पश्चिमलाई सिंहदरबारले कहिलै देखेन, केन्द्र सरकारको नजरमा नपरेपनि जिल्लाले हेरेको भए हुन्थ्यो । जिल्लाले पनि कहिल्यै हेरेन । त्यसैले यहाँका जनता धेरै पछि परेका छन् । अहिले मध्यपहाडी लोकमार्गका कारण केही सहज भएको छ तर यहाँका जनताले प्रशासनिक कामका लागि पाएको दुःख सम्झीनसक्नु छ । एउटा कामका लागि सदरमुकाम पुगेको मान्छे गाउँ फर्किन हप्ता दिन लाग्छ । राज्यको पुनःसंरचनाको समयमा जिल्लाको मुकाम समेत सर्ने संकेत गरेकाले बागलुङलाई दुई जिल्ला बनाउनु हुँदैन भन्दा हामीले समर्थन ग¥यौं । अहिले पार्टिले जागरण अभियानदेखि नै बागलुङ टुक्राएर दुई जिल्ला बनाउने अभियान चलाएको छ । सबैखाले दुःखका कारणले निसीभुजी, ढोर र तमान क्षेत्रलाई अब छुट्टै जिल्ला बनाउनै पर्छ । यो चुनावी अभियानमा पनि म यो कुरा जोड्छु र जनताको मत बुझ्छु । फरक जिल्ला नहुनु यहाँको मुख्य समस्या हो ।
छुट्टै जिल्ला बनाउने हजुरको पनि एजेण्डा हो ? अनि जनताको मन कसरी जित्नुहुन्छ त ?
–पार्टीले एजेण्डा बनायो, यहाँका जनताले चाहन्छन् भने मेरो किन नहुने । जनताको मर्म बुझ्ने सबैको एजेण्डा हो फरक जिल्ला । जनताको मन जित्नका लागि त हामीले सामाजिक र आर्थिक बिकासका काम गर्ने हो, गरिरहेका पनि छौं । यहाँ सम्भावना धेरै छन् । बिजुली निकालेर बेच्न सकिने निकै सम्भावना भएको क्षेत्र हो । पर्यटनमा सम्भावना अथाह छ । कृषिमा उर्वर भूमिलाई कुनै न कुनै बालीको हब बनाउन सकिने अवस्था छ । यि सबै काम गरेर हामी जनताको मनमा बस्छौं । ढुक्क हुनुहोस् हामीले जनताका दुख बुझेका छौं ।
प्रतिष्पर्धि उम्मेदवार र तपाईमा के फरक छ ?
–मैले मेरो प्रतिस्पर्धि कमजोर छन् भन्दिन । उनीहरु राजनीतिज्ञ होईनन् वा व्यक्तित्व माथि पनि केही टिप्पणी गर्न चाहन्न । जनताले मत दिने हो । जनताले आफ्नो सुखदुःख बुझ्ने को छ भनेर छान्नु हुन्छ । यहाँका जनताको सुखदुःख बुझ्ने म नै हो । यहाँको समाज, माटोसँग मेरो चिनजान छ । त्यसैले मैले चुनावी परिणाम आफ्नो पक्षमा पार्छु तर अरु उम्मेदवारको बिषयमा टिप्पणी गर्न चाहन्न ।
तपाईंको पार्टीभित्र नै कयौं असन्तुष्टिहरु छन् । कसरी सम्बोधन गर्नुहुन्छ ?
–लोकतान्त्रिक पार्टिमा प्रतिष्पर्धा हुन्छ । त्यो प्रतिष्पर्धा मैले टिकट नपाउने बेलासम्म थियो । त्यतिबेलासम्म हामी आपसी रुपमा भिड्यौं, जतिबेलासम्म मैले चुनावका लागि पार्टिबाट टिकट पाएको थिईन् । अबको हाम्रो लडाईं बिपक्षि दलहरु वा उम्मेदवारसँग हो । आन्तरिक तिक्तता होलान वा प्रतिष्पर्धा होला, अब ति सबै कुरालाई थाँती राखेर चुनावी मैदानमा होमिने बेला हो । पार्टिमा पालो भन्ने हुँदैन् । पहुँच भन्ने पनि हुँदैन । जसको क्षमता छ वा जसले अर्को प्रतिष्पर्धिसँग भिड्न सक्छ उसैले टिकट पाउने र मैदान ओर्लिने हो । बाहिर हल्ला चलेको जस्तो पार्टिमा तिक्तता पनि छैन् । हामी सबै मिलेर अघि बढ्छौं ।
दोस्रोपटक तपाईंनै उम्मेदवार, अरुले कहिले पालो पाउने ?
–पाँच बर्षका लागि २०७४ मा भएको निर्वाचनको घाईते उम्मेदवार हो म । यो उप–निर्वाचन हो । पहिलेको निर्वाचनमा घाईते भएकाले यस पटक मल्हमपट्टि लगाउन मैले नै पाउनु पर्दथ्यो र पाएँ । यसको अर्थ अरुले पालै नपाउने भन्ने होईन् । फेरी तीन बर्षपछि चुनाव हुन्छ । त्यो बेला अरु कोही उम्मेदवार हुनसक्छ । यो त पाँच बर्षभित्रमा भएका प्रकृयाको निरन्तरता मात्रै न हो ।
चुना जित्नु भो भने प्रदेशसभामा जाँदा तपाईको पहिलो एजेण्डा के हुन्छ ?
–अहिले सरकार निरंकुश बनेको छ । सरकार सरकार जस्तो भएन, अहिले सरकार होईन सत्ता चलेको छ । सरकार र सत्ता फरक कुरा हुन् । सरकार जनताको हुन्छ, सत्ता पार्टिको । सरकारको निरंकुशताको बिरुद्ध लाग्छु । मेरो निर्वाचन क्षेत्रमा शिक्षालाई पहिलो एजेण्डा बनाएर लैजान्छु । अशिक्षा, बरोजगारी, भोकमरी र विकासका हरेक गतिबिधिबाट पछि परेको हाम्रो क्षेत्रको बिकासका लागि लड्छु ।





