बागलुङ, ३० कात्तिक – जिल्लाको बडिगाड गाउँपालिकामा आईतवारबाट सुरु हुन गइरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय कराँते प्रतियोगिता गाउँपालिकाको खार बजारमा मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेशका १ सय ६४ खेलाडी, १६ प्रशिक्षक, अन्तर्राष्ट्रिय १८ र राष्ट्रिय ४२ गरी जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए। अधिकांश खेलाडीहरु कार्यक्रमस्थल आईपुगेका छन । सातै प्रदेशबाट खेलाडी आउनेक्रम जारी छ । कार्यक्रम स्थलमा आईपुुगेका खेलाडीहरुलाई गाउपालिकाका अध्यक्ष मेहरसिङ पाईजाले टीका लगाएर स्वागत गरेका छन ।
प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रोका लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेका लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको उदघाटन संघीय सांसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ । न्वागी मेलाको अवसरमा बडीगाड डोजोको आयोजना र बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले २२ लाख ५० हजार विनियोजन गरेको छ ।





