बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संघियताको मुद्दा थाँती राखेर चुनावमा

संघियताको मुद्दा थाँती राखेर चुनावमा


  • Dhorpatan News
  • मंसिर १ २०७६, आइतबार

बागलुङको निसीखोला गाउँपालिका–४, बोहरागाउँका खिमबिक्रम शाही आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ (ख) मा उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रहेका शाही सत्तामा रहेको नेकपास“गको तालमेलमा उम्मेदवार बनेका हुन् । विद्यार्थी आन्दोलन र खेलकुदमा सक्रिय शाहीले प्रभा माध्यामिक विद्यालय बोहरागाउ“मा प्रारम्भिक शिक्षा हासिल गरी उत्तरगंगा मावि बुर्तिवाङबाट २०४६ सालमा मावि तह पुरा गरे । शाहीको उच्च शिक्षा भने अधुरै रह्योे । २०४० सालमा अखिल नेपाल बाल संगठनमा संगठित भई राजनीतिक यात्रा शुरु गरेका उनले विद्यार्थी कालमा अखिल (छैठौं)मा आवद्ध भई विद्यार्थी आन्दोलनमा सहभागी भए । २०४७ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला समिति बागलुङमा रहेर काम गर्दै जिल्ला समितिको उपाध्यक्ष समेत बने । २०५४ सालदेखि अस्थायी शिक्षकका रुपमा प्रभा माध्यामिक विद्यालयमा शिक्षण पेशा सुरु गरेदेखि उनी पेशागत आन्दोलनमा पनि सक्रिय रहेको उनका सहकर्मीहरु बताउ“छन् । २०६५ सालदेखि राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा रहेर काम गर्दै आएका शाही हाल सचिवालय सदस्य रहेका छन् । लामो समय राजनीतिमा बिताएका शाही अघिल्लो निर्वाचनमा उनकै पार्टिबाट बिजयी भएका टेकबहादुर घर्तिको मृत्युपछि खालीरहेको बागलुङ क्षेत्र नं २ (ख)मा उम्मेदवार बनेका छन् । प्रस्तुत छ आफ्नै पार्टीको बिरासत जोगाउनका लागि नेकपास“ग तालमेल गरेर चुनावी मैदानमा रहेका शाहीसंग सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानी ।
उप–निर्वाचनमा तपाईंको उम्मेदवारी के–का लागि हो ?
– बिषेशतः यो क्षेत्रको विकास र निकासका लागि मेरो उम्मेदवारी हो । आधारभुत तहको बिकास समेत नभएको हाम्रो क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने छन् । यहाँ जनताले सधैं दुःख पाएका छन् । हाम्रै पार्टीबाट सांसद बन्नुभएका टेकबहादुर जि’ले धेरै सपना देख्नुभएको थियो । सपना पुरा गर्नका लागि उहाँले सुरुवात गरेका कयौं कामहरु अधुरा छन् । ती कामहरु पुरा गर्नु छ । हाम्रो पार्टि, तालमेलमा रहेको नेकपा र मेरो राजनीतिक जिवनका प्रतिबद्धताहरु पनि पुरा गर्नु छ । गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकारात्मक उपलब्धीको रक्षा गर्ने, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्ने, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई सुरक्षित गर्ने कामका लागि पनि मेरो उम्मेदवारी हो । यो क्षेत्रको आर्थिक र सामाजिक बिकास गर्नु हाम्रो दायित्व हो । यो दायित्व बोध गरेर पुरा गर्नु छ । जनताको जनजिविकासँग जोडिएका पक्षहरुलाई सरलीकृत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक बिकास र भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउनका लागि म जनताको साथ खोजिरहेको छु । पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुत पार्ने मेरो दृढ संकल्प छ ।
तपाईंका चुनावी एजेण्डा के छन् ?
– मुलतः यो क्षेत्रमा रहेका राष्ट्रिय गौरवका योजना सम्पन्न गर्नका लागि मैले दबाव सिर्जना गर्ने भनेको छु । मध्येपहाडी लोकमार्ग र ढोरपाटन–सालझण्डी लोकमार्गमा भैरहेको ढिलासुस्तीको बिषयमा कुरा उठाउँछु । यी आयोजना बने भने हाम्रो क्षेत्रमा अरु बिकासका कामले गति पाउँछन् । नेपाल सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्नु छ । यहाँ अझै पनि विकासका समान्य पूर्वाधारहरु समेत बनेका छैनन् । जस्तै हाम्रो क्षेत्रका कयौं गाउँमा बिजुली छैन्, शिक्षामा कयौं बिकृतीहरु छन् । पहुँचनै कम छ । त्यसलाई सुधार गर्ने मेरो योजना छ । ढोरपाटन शिकार आरक्ष जस्तो क्षेत्र हामीसँग छ । त्यसको बिकास र उपयोग गर्नु छ । सामाजिक बिकास, खेलकुद तथा युवाहरुलाई रोजगारी सिर्जनामार्फत आय–आर्जनसँग जोड्ने मेरो योजना छ ।
तपाईं संघियता बिरोधी पार्टिको नेता, संघियताको पक्षधर नेकपा सँगको तालमेल । चुनावी सभामा के बोल्नु हुन्छ ? बिरोध कि समर्थन् ?
– त्यसो होईन् । पार्टिका आफ्नै नारा हुन्छन् । आ–आफ्नै नीति हुन्छन् । सिद्धान्त पनि आफ्नै हुन्छ । हामिले चुनावमा तालमेल गर्दा साझा एजेण्डा बनाएका छौं । साझा नारा हुन्छ । चुनाव अबधिभर हामीले संयुक्त सभा गर्छौं । हाम्रा आफ्ना एजेण्डा र नाराहरुलाई थाँती राखेर सझा भाषा बोल्छौं । हाम्रो पार्टि संघियताको बिरुद्धमा छ र रहन्छ, तर यो मुद्धा निर्वाचनको अबधिभरलाई थाँती राखिएको छ । पार्टिका आफ्ना एजेण्डा स्थापित गराउनका लागि त अरु फोरमहरु पनि छन् । अहिलेलाई यी सबै कुरा साझा भएर जान्छन् । मतान्तर भएका कुरा सबै थाँती रहन्छन् ।
चुनाव हार्ने त्रासले तालमेल गर्नुभएको हो ?
– हामी हिजो पनि सँगै थियौं र उप–निर्वाचनको समयमा पनि सँगै छौं । हार्ने त्रासभन्दा पनि उहाँहरुलाई हाम्रो दलले धेरै ठाउँमा सघाएको छ र हामीलाई उहाँहरुले । देशभरि नै सँगै जाउँ भन्ने भएर तालमेल भएको हो । हामी सँगसँगै जाउँ भन्ने हो । हार्ने जित्नेभन्दा पनि जनताका साझा समस्या समाधानमा सँगै जाँदा जनता खुसी हुन्छन् र केही गर्न सकिन्छ भन्ने हो ।
तपाईं चुनाव लड्दै गरेको क्षेत्रका समस्या के हुन् ?
– बिशेषत हाम्रो पूर्व सांसदले यो क्षेत्रको समस्याहरुको पहिचान गरेर तीनको समाधान थाल्नुभएको थियो । देशकै पर्यटकीय क्षेत्र जुन हाम्रो क्षेत्रमा रहेका तीन पालिकाको साझा क्षेत्रको रुपमा रहेको छ । ढोरपाटन शिकार आरक्ष । जहाँ अहिलेसम्म पनि बिजुली छैन् । सडक सहज छैन् । उत्तरगंगामा बन्ने भनेर डिपिआर समेत भैसकेको उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङमा बन्ने वा रुकुममा बन्ने भन्नेमा जिकज्याक छ । शिकार आरक्षमा राखिएको नेपाली सेनाले त्यहाँका सर्वसाधारणलाई जमिन उपायोगमा अबरोध गरिरहेको छ । नीतिगत रुपमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दा त्यहाँका जनताले दुःख पाएका छन् । शिक्षामा सुधार गर्नुपर्ने छ । स्वास्थ्यमा कयौं समस्या छन् । अस्पताल बनाउनुपर्ने छ । पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचारप्रसार गर्नुपर्ने छ । बिद्युतको अथाह सम्भावना भएर पनि निकाल्नु पर्ने छ ।
प्रतिष्पर्धि दलका उम्मेदवार र तपाईमा के फरक छ ?
– पहिलो कुरा त नेपालमा नेपाली कांग्रेसले कयौं बर्ष सत्ता चलायो । सत्तामा रहँदा कांग्रेसले कहिलै पनि जनताका पिर मर्का बुझेन । जनताको मतको कदर गर्न सकेन् । उसले सत्तामा रहेर काम गर्दा जनताले कहिलै पनि केही पनि पाएनन् । न त विकासले गति लियो न त सुशासन नै कायम राख्न सक्यो । जो जहाँ थियो त्यही अवस्थामा रहयो । अहिलेको दुई तिहाईको सरकारले थालेका केही कामको कुरा गरौं । जुन सरकारमा रहेको दलसँग हामी तालमेल गरेका छौं भने हाम्रो पार्टिको यो सरकारलाई समर्थन रहेको छ । यो सरकारले केही कामहरु गरेको छ । परिणम आउन बाँकी छ, यद्धपी सुरुवात भएका छन् । जनताका पक्षमा भएका काम र सत्तामा रहेको दल हामीलाई भएकाले प्रतिष्पर्धि र मेरो बिचमा अन्तर यसैमा पनि छ । व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा को लोकप्रिय र जनताको प्रिय छ भन्ने हो । मैले घरगाउँमै बसेर गरेको जनसेवा अर्को मेरो फरक पाटो हो । मैले यही क्षेत्रमा बसेर यहाँका जनताको सुखदुःखमा साथ दिएको छु, सँगै उकाली–ओराली गरेको छु ।
बागी र असन्तुष्ट पक्षलाई कसरी मिलाउनुहुन्छ ?
– बिचार गर्नुस् त । हाम्रो सानो परिवारमा त बिमतिहरु हुन्छन् भने हामी त पार्टीका कुरा गर्दैछौं । अझै तालमेल गरेर दुई पार्टि हुँदा बिमती नहुने भन्ने कुै भएन् । पार्टिभित्र देखिएका र तालमेलामा देखिएका बिमतीहरुलाई हामी बिस्तारै समाधान गर्दै जाने छौं । बिमतीहरु भएपनि जनताले मत हामीलाई दिनुहुन्छ ढुक्क हुनुहोस् । अर्को कुरा आगामी मंसिर १३ गतेसम्म हामी भित्रका सबै बिमति समाप्त हुनेछन् र हामी एक ढिक्कै चुनावमा होमिने छौं । यसमा शंका गर्नुपर्ने ठाउँ रहेन् । जहाँसम्म बागीको कुरा छ । प्रकृयागत हिसाबले शेरमान जीले उम्मेदवारी फिर्ता लिन नपाएको भएपछि पत्रकार सम्मेलनमार्फत उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छ । अहिले पनि हामीसँगै चुनावी प्रचारमा छौं । उहाँले मलाई भरपुर सहयोग गर्नुभएको छ । यसमा शंका गर्ने ठाउँ छैन र मिलाउन पर्ने ठाउँ पनि छैन् ।
बागीलाई मिलाउन जिल्ला टुक्राउने सहमति भयो, अनि कांग्रेसले पनि यहि एजेण्डा अघि सारेको छ, तपाई पनि जिल्ला टुक्राउन तयार हो ?
– मेरो मत के हो भने ७५ जिल्ला टुक्राएर ७७ बनायौं भने एउटा जिल्ला थपेर ७८ बनाउँदा फरक पर्दैन । यहाँका जनताले पाएको दुःख देख्दा त्यो पनि जायज छ तर त्यसको विकल्प पनि त छ । हामीले जिल्लामा रहेको शक्तिलाई प्रशासनलाई बिकेन्द्रिकरण गर्न सक्छौं । सानो–सानो कामको लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि यहाँ रहेका स्थानीय तहलाई मुकामका कार्यालयको अधिकार दिँदा के हुन्छ ? ढोरपाटनको शिरबाट कालीगण्डकीको तिरमा सेवा लिन जानु यहाँका सर्बसाधारणले धेरैनै दुख झेल्नु हो । त्यसैले प्रशासनिक इकाई स्थापना गरेर वा यहाँ भएका स्थानीय सरकार जस्तो तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई अधिकार दिएर जनताको दुःखलाई सुखमा परिणत पनि त गर्न सकिन्छ ।
निर्वाचन जित्नुभयो भने प्रदेशसभामा पहिलो एजेण्डा के हुन्छ ?
– पहिलो कुरा त प्रतिक्रियाबादीका कारण देशमा गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकारात्मक उपलब्धीको रक्षामा संकट उत्पन्न भैरहेको छ । यो उपलव्धि रक्षार्थ मेरो बलियो उपस्थिती रहने छ । अर्को कुरा सुशाशन कायम गराउनका लागि म प्रयासमा रहने छु । आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गराउन, बिधिको शासन कायम गराउन, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई सुरक्षित गर्नेका लागि मेरो पहिलो एजेण्डा प्रस्तुत हुने छ । जहाँसम्म मेरो क्षेत्रको कुरा छ । यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनका लागि मैले प्रदेश सभामा आफ्नो मत राख्ने छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->