शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्की २ उपनिर्वाचन : एजेण्डाको होइन, सपनाको राजनीति

कास्की २ उपनिर्वाचन : एजेण्डाको होइन, सपनाको राजनीति


  • ढोरपाटन संबाददाता
  • मंसिर ६ २०७६, शुक्रबार

पोखरा,६ मंसिर – २१ जना उम्मेदवारहरु मंसिर १४ गते हुने कास्की २ को उपचुनावमा भिड्दैछन् । प्रतिनिधीसभा उपनिर्वाचन हुने एकमात्र क्षेत्र भएका कारण यहाँका उम्मेदवारहरु हरेक हिसाबले केन्द्रमा छन् । सत्तारुढ दुईतिहाईवाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै अहिलेसम्मका मुख्य प्रतिष्पर्धी देखिएका छन् । विगतको चुनावको गणितका आधारमा पनि यी दुई दलले मात्र जमानत जोगाएका थिए ।
नेकपाबाट स्व. रविन्द्र अधिकारीपत्नी विद्या भट्टराई र नेपाली कांग्रेसका तर्फबाट पाका नेता खेमराज पौडेल बिचको प्रतिष्पर्धा रोचक हुने देखिन्छ ।आधिकारिक उम्मेदवार घोषणापछि निर्वाचन कार्यक्रम नै बनाएर अहिले यी दुवै उम्मेदवार चुनावमा होमिएका छन् । आवधिक निर्वाचन नभई उपनिर्वाचन भएका कारण यसपटकको चुनावमा चुनावी घोषणापत्र कुनै दलको पनि छैन भन्दा हुन्छ । उम्मेदवारले जे बोल्यो, त्यही घोषणापत्रलाई दलगत रुप दिइएको छ ।यसकारण, यहाँ उम्मेदवारको बोली र मतदाता फकाउने रणनीति बनाउनमा नै दलहरु लागिपरेका छन् । नेकपाकी उम्मेदवार विद्या भट्टराईले घरदैलो वा टोलैपिच्छेका सभा कहिँपनि दिवंगत पति रविन्द्रको नाम छुटाउँदिनन् ।
“रविन्द्रका अधुरा सपना साकार पार्छु ।” यही वाक्यलाई प्रयोग गरेर सहानुभूति बटुल्ने प्रयासमा नेकपा प्रयत्नरत छ । यसबाहेक निर्माणाधीन पोखरा विमानस्थल, सिर्जनाचोकमा आकाशेपुल नै अहिलेसम्म नेकपा उम्मेदवारले देखाएका ठेट योजना हुन् ।
नेकपाको मात्रै होइन, कांग्रेसको पनि एजेण्डा केही छैन् । विद्या भट्टराईलाई काउण्टर दिन खेमराजले प्राय एक वाक्य प्रयोग गर्छन्, “सपना रविन्द्रका मात्र होइन, हाम्रा पनि हुन्छन्, सपना कसका हुँदैनन र ?”
पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । सन्, २०२१ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ यस विमानस्थलको निर्माणकार्य तीव्रगतिमा भइरहेको छ । पर्यटनमन्त्रीमा बहाल रहँदा रविन्द्र अधिकारीले यस विमानस्थललाई विशेष प्राथमिकता र चासो दिएका थिए ।
यही कुरालाई नेकपाले मतदातामाझ फिँजाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँ समृद्धिको ढोका खुल्ने, रोजगारी सिर्जना हुने, अर्थतन्त्र बढ्ने र यसको प्रत्यक्ष फाइदा पोखरेलीलाई नै हुने कुरा मतदातालाई बुझाउँदै र यसको कारकको रुपमा रविन्द्रलाई नै चित्रित गरिरहेको छ नेकपा ।
विद्या भन्छिन्, ‘उहाँका थुप्रै सपनाहरु थिए, अब म कस्केलीकी छोरी भएर आएकी छु, रविन्द्रका सपनाहरु पुरा गर्न मलाई साथ दिनुहोस ।’पोखरेली जनताको पनि विमानस्थल निर्माणमा उत्तिकै भूमिका छ । धर्ना दिनेदेखि लिएर विमानस्थल निर्माणमा ढिलाई हुन नदिन यहाँका शिक्षित जनताले आवश्यक बेलामा दबाब पनि दिन्छन् ।
‘धर्ना दिन हामी पनि गएका थियौँ, रविन्द्रमात्र होइन पोखरेली जनताको धर्ना र दबाबले नै यहाँ विमानस्थल बनेको हो’, खेमराजले काउण्टर गर्ने गरेका छन् ।विशेषतः मुख्य दुई दलका उम्मेदवारहरु एजेण्डा गौण राखेर एकअर्काको बोलीलाई नै काउण्टर दिँदै मतदाता फकाउनमा व्यस्त छन् ।विद्याले मतदातासँग सिर्जनाचोकमा आकाशे पुल बनाइने घोषणा गरेकी छन् ।सिर्जनाचोकमा आकाशेपुल बनाएर ट्राफिक व्यवस्थापन गर्न, यात्रुलाई सहज आवतजावत गर्न रविन्द्र अधिकारीले निर्वाचन पूर्वाधार बापत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । महानगरले २ करोड थपेर सिर्जनाचोकमा आकाशे पुल बनाउने घोषणा गरेको गएको फागुनमा हो ।
आकाशेपुल सुुरुमा आरसिसी स्ट्रक्चरमा बनाउने भनिएतापनि अहिले भने त्यसको स्वरुप फेरेर स्टिल स्ट्रक्चरको बनाईने भएको छ । अझै चारमहिनासम्म यो काम पुरा नहुने पोखरा महानगरपालिकाले जानकारी दिएको छ ।यता, पोखरा चक्रपथ भने दुई दशकदेखि घुमिरहेको छ । महानगरले नै चक्रपथको योजना अगाडि सार्दै, त्यसलाई थन्क्याउने र फेरि नयाँ योजना सार्वजनिक गर्ने गरेको छ । केही महिनाअघिमात्रै चक्रपथको बारेमा प्रदेशका मुख्यमन्त्री सहितको बैठकमा छलफल भएको थियो । त्यसपछि यसको प्रगती शून्य छ ।
खेमराजको विकास निर्माणको योजना खासै छैन् । सामान्यरुपमा सुकुम्बासी टोलमा खानेपानी, रातोपूर्जा दिलाउने आश्वासन उनको छ ।सुकुम्बासी आयोगको अध्यक्ष हुँदा उनले सेतोपूर्जा उपलब्ध गराएका थिए । अहिले चुनाव जिताए रातोपूर्जा नै दिने आश्वासन उनले मतदातालाई दिएका छन् ।
कास्की २ क्षेत्रभित्र महानगरका ११ वटा वडा पर्दछन् । ०७४ को स्थानीय तहको निर्वाचनमा ११ मध्ये ७ वटा वडामा नेकपा र ४ वटा वडामा कांग्रेसले जितेको थियो ।
तर, पछिल्ला समय सत्तारुढ नेकपा सरकारका केही अलोकप्रिय काम, कर, महंगी लगायतका विषयका कारण नेकपालाई चुनौती भने कम छैन् । सत्ता चलाईरहेको सरकारलाई कास्की २ को उपनिर्वाचन जसरी पनि जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिन ठुलो चुनौती छ ।
यता, यसपटक भने कांग्रेसको वास्तविक परिक्षण हुने विश्लेषण कांग्रेसकै कार्यकर्तामाझ पनि चलिरहेको छ । अन्तर्घात यसपटक नहुने र सरकारको अलोकप्रियताको फाइदा उठाएर चुनाव जित्ने दाउमा कांग्रेस छ । तर, भद्रगोल भातृसंस्था, प्रतिपक्षीको शून्य भूमिका जस्ता कारण कांग्रेस पनि अछुतो भने छैन् ।
गत चुनावमा करिब ९ हजार मतान्तरलाई उल्टाएर चुनाव जित्नु कांग्रेसको लागि फलामे च्युरा चपाएसरह नै हो ।दुबै शीर्ष पार्टीको कमजोरीलाई नै एजेण्डा बनाएर चुनाव जित्ने दाउमा भने साना दल रहेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढि र घरदैलोमा व्यस्त साझा पार्टीले यसपटक आक्रामक प्रचार गरिरहेको छ । ‘वैकल्पिक शक्ति’ को रुपमा उदाउने साझा अघिल्लो चुनाव हेर्दा हजार मत पनि कटाउन सकेको थिएन, जबकी त्यतिबेलाको चुनावमा विवेकशील र साझा पार्टी एक भएर चुनाव लडेका थिए ।यसपटक साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ ।नयाँ शक्ति र संघीय समाजवादी एकीकरण पछिको समाजवादी पार्टी नेपालले इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । ईलेक्ट्रिकल ईन्जिनियर पृष्ठभूमिका गुरुङ विदेशी निकायका काम गरिसकेका व्यक्ति हुन् ।साना दल सबैको एजेण्डा र स्वर भने एउटै छ, ‘ठूला दलले केही गर्दैनन्, यसपटक हामीलाई मत दिएर हेर्नुहोस ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->