शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सागको पोखरामा हुने खेलस्थल तोकियो

सागको पोखरामा हुने खेलस्थल तोकियो


  • Dhorpatan News
  • मंसिर ७ २०७६, शनिबार

पोखरा, ७ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को खेलस्थल र अभ्यासस्थल सार्वजानिक गरिएको छ । पोखरामा हुने खेलस्थान र अभ्यासस्थल समेत तयार गरिएको छ । पोखरामा हुने ८ खेल पोखरा रंगशाला र पोखरा भित्रका अन्य क्षेत्रमा हुनेछन् । पोखरा रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याडण्बल, र व्याडमिन्टनका खेल हुनेछन् भने भारोत्तोलन पोखरा १२ माटेपानीस्थित एसआर केसी क्याटरिङको हलमा हुनेछ । विच भलिबल र ट्रायथलन पोखरा फेवाताल किनारमा हुने प्रविधिक समिति संयोजक विद्याप्रसाद मर्सानीले बताए ।
यस्तै खेलाडीको लागि अभ्यासस्थलको समेत व्यवस्था गरि सकेको छ । आर्चरी,ह्याडण्बल र व्याडमिन्टन पोखरा रंगशालामै अभ्यास गरिनेछ भने विच भलिबल बाराहिघाटमा तथा ट्रायथलन बसुन्धरा पार्क र पुम्दीभुम्दीमा हुने छ । महिला क्रिकेटको अभ्यास नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ भने महिला फुटबलको लागि हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतनाको खेल मैदान तोकिएको छन् । तर, महिला फुटबलको लागि भने सहारा एकेडेमीको खेल मैदानलाई अभ्यासस्थल बनाउने भनी पत्राचार गरे पनि तालिकामा भने सहाराको नाम नै छैन । प्राविधिक समितिका संयोजक मर्सानीले सहारा खेल मैदानलाई समेत अभ्यासस्थलको रुपमा राखिएको बताए । ‘तर,साग प्राविधिक समिति सचिवालयमा टासिएको तालिकामा भने सहारा एकेडेमी खेल मैदानका नाम नै छैन । हामीले खेलको लागि अभ्यासस्थल समेत तयारी अवस्थामा राखेका छौँ, खेलाडी आएर अभ्यास गर्न सक्छन’, मर्सानीले भने । यता, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने आठ खेल मात्रै हुने भएको छ । पोखरामा ९ खेल हुने भनिए पनि पदकको आश गरेको प्याराग्लाइडिङ भने सागबाट हटाइएको छ  ।
प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदकको आश गरेको थियो । नेपालले स्वर्णको आश गरेको खेल साग गेम बाट हटाइएको छ । साग गेममा २७ खेल हुने भनिएपनि २६ खेलमात्र हुने भएको छ । जसमध्ये पोखरामा ८ खेलमात्र हुने छ ।  प्याराग्लाइडिङको लागि नेपाल र पाकिस्तानले मात्र सहभागिता जनाएको थियो । प्रतियोगिता हुन कम्तिमा ३ टिमको सहभागिता हुन जरुरी थियो । तर दुई राष्ट्रको मात्र सहभागिता भए पछि सो खेल हटाइएको हो ।
त्यस्तै, पोखरामा हुने विभिन्न खेलको  अन्तरगत पोखरामा हुने आठ खेलका लागि ७ सय ७ जना खेलाडीको सहभागिता हुने स्थानीय सहजिकरण तथा व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । यसैगरि सहभागी सात राष्ट्रका गरि १ सय ८१ जना अफिसियल समेत प्रतियोगितामा सहभागि हँुदैछन् ।  पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्रायथलन, व्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुषभन्दा महिला खेलाडीको संख्या बढी रहेको छ । आठ खेलका लागि ४ सय १ महिला र ३ सय ६ जना पुरुष खेलाडीको सहभागिता रहेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए । प्रतियोगिता नेपालबाट सबै आठ खेलमा १ सय ८४ जना सहभागि हँुदैछन् । तीमध्ये ५२ पुरुष, १ सय २ महिला र ३० अफिसियल रहने छन् ।
भारतबाट ६ खेलको लागि १ सय २७ जना खेलाडि तथा अफिसियलको सहभागिता रहेको छ जसमा ४१ जना पुरुष, ६१ जना महिला खेलाडी तथा २५ जना अफिसियल रहेका छन । भारतले आर्चरी, र महिला क्रिकेटमा भने भाग लिएको छैन । माल्दिभसबाट  ५ खेलमा १ सय १६ जना आउँदै छन् । टोलीमा महिला ६१, पुरुष २६ र  खेलाडी तथा २९ जना अफियलको सहभागिता रहेको छ  । माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्रायथलनमा सहभागिता जनाएको छैन ।
बंगलादेशबाट ६ खेलका लागि खेलाडि तथा अफिसियल गरि १ सय ५० जनाको सहभागीता रहने छ । जसमा पुरुष ५९ जना,  महिला ५५  र  ३६ जना अफिसियल रहने छन् । बंगलादेशले महिला फुटबल र ट्रायथलनमा सहभागिता नजनाउने भएको छ । पाकिस्तानबाट ५  खेलका लागि ९४ जना सहभागी हुदैछन् । जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जना रहने छन् । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथलनमा सहभागिता जनाएको छैन । श्रीलंकावाट आठ खेलमा १ सय ७५ जना खेलाडी तथा अफिसियल आउँदै छन् । जसमध्ये पुरुष ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ ।  भुटानबाट चार खेलका लागि खेलाडि तथा अफिसियल गरी ४२ जनाको सहभागीता रहने । जसमध्ये पुरुष २९, महिला ६ र अफिसियल ७ जना रहेको छन् । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र  ट्रायथलनमा सहभागिता जनाएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->