पोखरा, ८ मंसिर – उपनिर्वाचन त देशभर हुँदैछ । तर, मंसिर १४ मा कास्कीमा हुने चुनाव केन्द्रमा छ । कारण, प्रतिनिधिसभाको निर्वाचन हुने एकमात्र क्षेत्र भएरै मात्र पनि हैन, पूर्वमन्त्री रवीन्द्र अधिकारीको चुनावी क्षेत्र पनि भएकाले कास्की क्षेत्र नम्बर २ चर्चामा रहेको हो । लगातार ३ पटक चुनाव जितेका रवीन्द्र यतिबेला छैनन् । चुनावी मैदानमा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले उनकै धर्मपत्नी विद्यालाई उम्मेदवार बनाएको छ । प्रतिष्पर्धा २१ जनाबीच हुँदैछ र सबैभन्दा नजिकका प्रत्यासी नेपाली कांग्रेसका पाका नेता खेमराज पौडेललाई ठानिएको छ । त्यसो त, समाजवादीका धर्मराज गुरुङ, साझाकी रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, स्वतन्त्र हैसियतमा चुनावमा होमिएकी विवेकशीलकी जमुना शर्मालगायतका सबै भोट माग्न व्यस्त छन् । मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका सबै अनुहार नयाँ छन् । उनीहरुमध्ये कसैले पनि यसअघिको चुनावमा भाग लिएका थिएनन् । यसमानेमा उनीहरु पहिलो पटक जनपरीक्षणमा उत्रिएका हुन् । पहिलो पटक चुनावी मैदानमा उत्रेकाहरुमध्ये दलबाट टिकट पाउनेहरुको दलीय एजेण्डा र आफ्ना प्रतिवद्धता पनि छन् भने बाँकी स्वतन्त्रले परिवर्तनको शंखघोष गर्ने उद्घोष गरेका छन् ।
ठूलाको ठूलै, सानाको सानै दलवल । घरघर हिँडेका छन्, उम्मेदवारहरु । यी उम्देवारलाई पार्टीका केन्द्रीय नेताहरुले पनि सघाएकै छन् । चुनाव नजिकिँदै गर्दा आयोजना हुने सभाहरुमा बोल्ने केन्द्रीय नेताहरुको लर्को पनि यहाँ राम्रै छ । यो मामलामा यसपटक नेपाली कांग्रेस अघि देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवादेखि बोलक्कड गगन थापासम्मले यहाँको चुनावी सभालाई संवोधन गरिसकेका छन् । प्रवक्ता देवप्रकाश शर्मा पनि आउँदै छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुकै प्रशिक्षण कार्यक्रममा सरिक भए । महासचिव विष्णु पौडेलले कार्यकर्तालाई सक्रियतापूर्वक मोर्चा सम्हाल्न आग्रह गरे । अन्तिम चुनावी सभामा प्रधानमन्त्री केप ओली र अध्यक्ष प्रचण्ड नै आउने तयारी छ । साझाका संयोजक रवीन्द्र मिश्र मुसुमुसु हाँस्दै,जनताका कुरा सुन्दै पोखराकै गल्लीमा भेटिन्छन् । समाजवादीका केन्द्रीय नेता पनि पोखरा आउँदै छन् । उम्मेदवार आफै पनि खुबै सक्रिय छन् । पूर्वलाहुेर समेत रहेका उनी जहाँ पुग्छन्, समानता र भ्रष्टाचार अन्त्यको कुरा गर्छन् । सबैजसो उम्मेदवारको प्रचार सामग्री बोकेका गाडीहरु यहाँका भित्री सडकसम्मै पुग्छन् । कोही झुक्किएर भोट माग्नै नपर्ने वडामा पनि पुग्छन् ।
चुनावी कार्यक्रम सबैभन्दा व्यवस्थित नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कै रहेको स्वतन्त्र विश्लेषण रहेको छ । ‘नेकपाले चुनावी कार्यक्रमलाई देखिने र नदेखिने दुबै तरिकाले संचालन गरेको छ’, चुनावमै खटिएका एक नेताले भने,‘हामीले टोलटोलमा भएका मतदाताको अवस्था बुझेका छौँ र उनीहरुले पछिल्लो मनोविज्ञान पनि अध्ययन गरेका छौँ ।’ उनका अनुसार रवीन्द्रको जस्तो विद्यालाई लोकप्रिय मत नआउने आँकलनसँगै चुनावी रणनीति पनि बदलिएको छ । सुरुको चुनावी सभालाई संवोधन गर्ने क्रममा नेकपाले अघि सारेका सबै कार्यक्रम पूरा गराउने प्रतिवद्धता व्यक्त गरेकी विद्याले पछिल्लो समयमा रवीन्द्रका ‘अधुरा सपना’ पूरा गर्ने प्रतिवद्धता जोडतोडले उठाउनुको कारण यही हो । ठूला चुनावी सभाभन्दा पनि घरदैलोलाई नेकपाले बढी जोड दिएको छ ।
अर्कोतर्फ, नेपाली कांग्रेस भने यो पटक टिकट पाएका खेमराज पौडेल सर्वसम्मत नेता भएकै कारण विजयी हुने आँकलनमै रहेको छ । पोखरा आएका ठूला नेताको वरपर झुम्मिने, जुलुसमा देखिएको जस्तो गर्ने र ‘सेल्फी खिचाउने ध्याउन्नमा कांग्रेसीहरु रहेको स्वयं कांग्रेसीकै गुनासो छ । शनिबार युवानेता गगन थापालगायतकासँग सेल्फी खिच्नेहरुको तँछाडमछाड देखेर एक नेताले भने,‘कांग्रेसको पारा नै यस्तै हो, आफ्नो धरातल कांग्रेसीले बुझ्दै बुझ्दैनन् ।’
साना दलहरुले भने आफू विचार बोकेर जनताकहाँ गएको बताउँदै आएका छन् । समाजवादीका उम्मेदवार धर्मराज गुरुङले कुलमान घिसिङले जलविद्युतको क्षेत्रमा गरेको क्रान्तिको स्मरण गर्दै आफू पनि त्यसरी नै लाग्ने प्रतिवद्धता जनाउँदै आएका छन् । ‘कुलमान घिसिङ जसरी रात दिन नभनी लागेर सिंगो नेपाललाई लोडसेडिङमुक्त बनाए । म पनि २४ सै घण्टा खटेर देशमा सुशासनको लागि सिस्टम बनाउँछु,’ उम्मेदवार गुरुङले भनेका छन्, ‘एक पटक मौका दिनुस् । काम गरेर देखाउने जिम्मा मेरो भयो ।’
अरु पार्टी व्यक्तिगत तथा दलगत स्वार्थमा फसेका कारण देशमा विकास निर्माण र सुशासन कायम नभएको उनको भनाई रहँदै आएको छ । साझाकी रजनीले परिवर्तनको मुद्धालाई जोडतोडले उठाउँदै आएकी छन् । चुस्त चुनाव प्रचार टिमसहित आफ्ना कुरा निर्धक्क राख्न सक्नु उनको विशेषता हो । उता विवेकशीलकी तर स्वतन्त्र बनेकी जमुना पनि कम छैनन् । तार्किक क्षमताकी उनले परिवर्तन र नयाँ पुस्ताको सुनौलो भविष्यलाई आफ्नो एजेण्डा बनाएकी छन् । राप्रपाका रोमबहादुर झन प्रष्ट छन् । उनी हिन्दुराष्ट्रको पक्षमा आफ्नो उम्मेदवारी भएको बताउँदै भोट माग्दै छन् । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरका ४,७,८,९,११,१५,१६,१७,२०,२१ र ३३ नम्बर वडा मात्रै पर्छन् । यहाँ ७१ हजार ८ सय ७१ मतदाता छन् ।
यस्तो छ जीत–हारको इतिहास
२०४६ सालको राजनीतिक परिवर्तनपछि कास्कीलाई ३ वटा क्षेत्रमा बाँडियो । तीमध्ये क्षेत्र नम्बर २ लाई कांग्रेसको पकड भएकै क्षेत्र मानिन्थ्यो । मुख्य बजार क्षेत्र समेटिएकाले पनि त्यो अनुमान गलत थिएन । तर, कास्की क्षेत्र नम्बर २ को २०४८ र २०५१ सालको चुनाव तत्कालीन एमालेका तुलबहादुर गुरुङले जिते । दुई पटकसम्म टिकट पाएर पनि कांग्रेसका शुक्रराज शर्माले सो क्षेत्रबाट विजय हात पार्न सकेनन् । पहिलो चुनावमा तुलबहादुरले २४०३४ मत पाउँदा शुक्रराजले २१,३११ र दोस्रो पटक तुलबहादुरले २२३७७ मत पाउँदा शुक्रराजले १८,६६३ मत पाएका थिए । सो चुनावी क्षेत्रमा तेस्रो पटक अर्थात् २०५६ सालमा भने पासा पल्टियो । कांग्रेसका महादेव गुरुङले एमालेका तुलबहादुरलाई हराएको सो चुनावमा महादेवले २६,४४३ र तुलबहादुरले २२,१२६ मत पाएका थिए । रमाइलो त के छ भने, त्यो बेला कास्की क्षेत्र नम्बर १ बाट मालेको तर्फबाट रवीन्द्र अधिकारी पनि चुनावी मैदानमा थिए । तर, उनले त्यो बेला कति भोट ल्याए भन्ने कुरा उनको तीन पटकको विजयले छायाँमा पारिदियो । २०६४ सालको संविधानसभाको चुनावमा कास्की ४ वटा क्षेत्रमा बाँडियो । क्षेत्र नम्बर २ मा परेका धेरैजसो भागहरु क्षेत्र नम्बर ३ मा पुगे । तत्कालीन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्र अधिकारीले माओवादी नेता झलकपाणि तिवारीलाई हराए । रवीन्द्रले त्यो चुनावमा १३,३८६ ल्याउँदा झलकपाणिले १०,९२६ मत ल्याएका थिए । २०७० को संविधानसभामा रवीन्द्रले दोस्रो पटक जित्दा निकट्म प्रतिद्धन्द्धी कांग्रेसका सोभियतबहादुर अधिकारीसँगको मतान्तर २५०२ मात्रै थियो । तर, २०७४ सालको चुनावमा उनै रवीन्द्रले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ पु¥याए । नेकपा यो पटक पनि त्यो मतान्तर कायम राख्न चाहन्छ ।
२०४८ मा ३ निर्वाचन क्षेत्रमध्ये २ क्षेत्रमा एमाले र १ क्षेत्रमा कांग्रेसले जितेको थियो । क्षेत्र नम्बर १ बाट जितेका तत्कालीन कांग्रेस महमन्त्री तारानाथ रानाभाट सभामुख नै भएका थिए । क्षेत्र नम्बर २ र ३ मा भने एमाले विजयी भएको थियो । २०५१ सालको मध्यावधी चुनावमा क्षेत्र नम्बर १ र २ एमालेले जित्यो भने क्षेत्र नम्बर ३ मा कांग्रेसका कृष्णबहादुर गुरुङ विजयी भए । २०५६ सालमा भने ३ वटै निर्वाचन क्षेत्र कांग्रेसले जित्यो । पहिलो संविधानसमा चुनावमा जिल्लाका ४ क्षेत्रमध्ये ३ वटा माओवादीको पोल्टामा जाँदा क्षेत्र नम्बर ३ मा एमालेको शाख रवीन्द्रले जोगाएका थिए । दोस्रो संविधानसभामा माओवादीले कुनै सिट जितेन । क्षेत्र नम्बर १ र २ कांग्रेसले जित्यो भने तत्कालीन एमालेले ३ र ४ मा विजय प्राप्त ग¥यो । २०७४ सालको चुनावमा कास्कीका ३ वटै क्षेत्र नेकपाको हातमा गयो । तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी तालमेल हुँदा कास्की क्षेत्र नम्बर २ ख मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापाले चुनाव जितेका थिए ।





