पोखरा, ८ मंसिर – नेपाल सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवाको अभिव्यक्ति लज्जाजनक भएको बताउँदै खेद प्रकट गरेका छन् । उनले देउवाको अभिव्यक्ति चुनावी मसला भएको र उनले नेपाली जनतालाई विभाजित गर्ने कोसिस गरेको आरोप पनि लगाएका छन् ।
केपी ओलीको राष्ट्रवादी अडानबारे प्रश्न उठाउनु लज्जाजनक कुरा हो, म खेद प्रकट गर्दछु । यो सरकारलाई मुन्टो लुकाएर हिँड्नु पर्ने जरुरत छैन’, नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबरा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘ हामीलाई अरुको एक इञ्च जमिन पनि चाहिँदैन र हाम्रो एक इञ्च जमिन पनि छाड्दैनौँ ।
उनले देशभक्ति र सार्वभौमिकताको कुरा सस्तो प्रचारवाजीको कुरा नभएको बताउँदै देउवाले चुनावी प्रचारवाजीको लागि बोलेको जिकिर पनि गरे । उने भने,‘ पोखरामा आएर लगाउनु भयो रे ! पोखरामा आएर किन लगाउनु भयो, बुझ्छु ,यति सस्तो कुरा बोल्नु हुन्न, उहाँ आफैले बालुवाटारमा सर्वदलीय बैठकमा उहाँको कुनै विमति थिएन , यसलाई चुनावको मसला बनाउनु गैरजिम्मेवार कुरा हो ।
भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति नेपालकै इतिहासमै पहिलो पटक बहालवाला प्रधानमन्त्रीले म यो मान्दिन नेपालको लागि यो स्वीकार्य छैन भनेर बोलेको स्मरण गर्दै उनले थपे,‘जबकि शेरबहादुर देउवा भारतजाँदा, सार्वजनिक समारोहमा प्रधानमन्त्रीको रुपमा समकक्षीसँगै उपस्थित भएर बाबा म यो संविधान तिमीले भने बमोजिम नै के–के गर्छु भनेर बकबकाएको त अहिले पनि पनि देखिन्छ, यो ओपन कुरा हो, तथ्य हो ।’
उनले यसअघि कयौँ विवादाष्पद सन्धी संझौताको जिम्मेवारी देउवाले लिनुपर्ने जिकिर पनि गरे । ‘उहाँले आत्मसमर्पण गर्नु भयो कि उहाँ अरुको अलिकति एकलौटी पेलाईमा पर्नुभयो,त्यो उत्तर दिनु पर्ने हुन्छ , हामीले टनकपुर सन्धी बिर्सेका छैनौँ, त्यो सन्धिप्रति खुद शेरबहादुर देउवाको धारणा के ? जसले सम्मानित सर्वोच्च अदालतले गलत हो भनेको छ’, उनले भने,‘ र त्यो सन्धि कसको पालामा भएको हो ? संचारमन्त्री बास्कोटाले गण्डकी कोशी सम्झौताप्रति कांग्रेसले जवाफ दिनुपर्ने जिकिर गरे । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।
पोखरामा पत्रकार माझ मन्त्री बास्कोटाले दिएको अभिव्यक्तिको मुख्य अंश :
प्रमुख प्रतिपक्षी जस्तो जिम्मेवार दलका प्रमुख नेताले यस्तो आरोप लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन । यदि त्यस्तो लगाउनु भएको हो भने उहाँको बारेमा हामीले पनि केही गम्भीर प्रश्नहरु उठाउनुपर्ने हुन्छ ।
यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि-सम्झौताका बेलामा उहाँले आत्मसर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ । टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो । त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सम्मानित अदालतले पनि गलत हो भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ?
त्यसैले आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ । यहाँहरु सबैलाई थाहा छ, भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोल्यो । तर शेरबहादुर देउवाले देशमा संविधान जारी भएपछि भ्रमणमा जाँदा भारतीय नेतृत्वसित बसेर, सार्वजनिक समारोहमा ‘बाबा म त्यो संविधान पनि तिमीले भनेबमोजिम नै गर्छु’ भनेर बक्बकाएर आएको त अहिले पनि देखिन्छ । त्यो ओपन कुरा हो, मैले लगाएको आरोप होइन । तथ्य हो त्यो, भिडियोहरु हेर्नुस् पहिलाको । उहाँले प्रधानमन्त्रीको रुपमा समकक्षीहरुसँगै उभिएर बोलेका कुराहरु ।
एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय हो । म खेद प्रकट गर्न चाहन्छु, उहाँले यदि त्यसो भन्नु नै भएको हो भने ।
र म यो पनि बताउन चाहन्छु, यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत छैन । हामीले भनेको कुरा के हो भने अरु कसैको एक इन्च जमिन हामीलाई चाहिएन । तर, हाम्रा जनताले संघर्ष गरेर, हाम्रा पुर्खाले रगत बगाएर विरताका साथ जे जति हिजोको जमिन जोगाएर राखेका छन्, त्यो जमिनमाथि अरु कसैको हस्तक्षेप वा त्यसप्रतिको अतिक्रमण हाम्रालागि स्वीकार्य छैन । यो कुरा हामीले बोलेका छौं । यति कुरा बोल्नका निम्ति हामीले कसको इजाजत लिउँ र ?
देशभक्त जनताहरुको जुन भावना र दृष्टिकोण छ, त्यसमा हामी बेखबर भएका छौं र यो आरोप लगाएको ? त्यो पनि पोखरामा लगाउनु भयो रे । म बुझ्छु, पोखरामा त्यो आरोप किन लगाउनुभयो भन्ने कुरा । किनभने १४ गते यहाँ चुनाव छ । यति सस्तो कुरा उहाँले बोल्नु हुन्न । उहाँ आफैं उपस्थित हुनु भएको बैठकमा, सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाउनु भएको बैठकमा, सर्वपक्षीय, सर्वदलीय बैठकमा उहाँको कुनै विमती थिएन ।
प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने, हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने, यसमा उहाँको विमती थिएन । यसलाई चुनावको मसला बनाउनु साह्रै झूठ कुरा हो । गैरजिम्मेवारपूर्ण कुरा हो । यस्तो विषयलाई मसला बनाउनु हुँदैन ।
सबैले व्यक्त गरेको कुरा र राष्ट्रले एउटा ऐतिहासिक सहमति प्राप्त गरेको कुरा हो यो । बालुवाटारको त्यो बैठक, जहाँ कुनै दलको असहमति थिएन । प्रत्येकले आफ्नो देशभक्तिको भावना, आफ्नो सार्वभौमिकता रक्षाको कुरालाई एक स्वरले, एक मतले स्वीकार गरेको र त्यसको निम्ति दुईटा बाटो प्रयोग गरेर जानुपर्छ भन्ने सुझाव दिइएको थियो । त्यो भनेको कूटनीतिक र राजनीतिक प्रयासबाट यो समस्या समाधान गर्नुपर्छ भन्ने थियो ।
यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।
पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी इण्डिया जाँदाखेरि १९५० का सन्धिलगायतका विषयमा पुनर्विचार गर्नुपर्छ भनेर हामीले प्रस्ताव गर्यौं । त्यसअघि कांग्रेसका कुनै नेताले राख्नुभयो ? आँट गर्नुभयो ?
म कुनै दल विशेषमा जान चाहन्नँ । यो राष्ट्रभक्तिको मुद्दा हो । यसमा कुनै दल हुँदैन । यसमा नेपाल राष्ट्र, नेपाली जनता, नेपाली रगतको मात्र हिसाबकिताब हुन्छ ।
हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।





