पोखरा, १४ मंसिर – गण्डकी प्रदेशको बागलुङको बडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालप्रसाद शेरचन विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन् । वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टिका हरीलाल रानाले ६ मत प्राप्त गरे भने १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाअध्यक्षको निर्वाचनमा नेकपा बाट बाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप–संयोजकमा निर्वाचित भएपछि उक्त वडा खालि भएको हो । १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो ।
यता लमजुङको सुन्दर बजारमा नगरपालिका २ मा नेकपाका नविनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९८९ मत ल्याउँदा उनका प्रतिद्धन्दी कांग्रेसका प्रकाश सेडाईँले ४८४ मत पाए । त्यहाँ १५२३ मत खसेको थियो ।





