बागलुङ, १५ मंसिर -बागलुङको क्षेत्र नम्बर–२ (ख) मा सम्पन्न गण्डकी प्रदेशसभा सदस्य उपनिर्वाचनको मत गणना सुरु भएको छ । मतदान कार्यक्रम सकिए लगतै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम सकेसंगै सर्वदलीय बैठक बसेर मध्यान्ह देखि मत गणना सुरु भएको हो । प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।





