काठमाडौँ, १८ मंसिर – करातेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्ण जितेकी हुन् । उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७-४ ले हराएकी थिइन्। करातेमा नेपालको यो दसौं स्वर्ण हो।
यसैगरी, उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले कुल १९.३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन् । उनको निकटमत प्रतिद्वन्द्वी भारतका साजन लामाले १९.१२ अंक प्राप्त गरी रजत पदकमा चित्त बुझाए । यस्तै कास्य पदक भने बंगलादेशका अमिर होसैनको भागमा पर्यो ।
यसअघि थाइची प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका थिए । नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद तालिम केन्द्रमा भएको थाइचीमा भारतीय टोलीका सदस्यहरु रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेकोभन्दै त्यसको विरोधमा म्याटमा नै बसिदिएका थिए ।





