बागलुङ, २२ मंसिर – संविधानसभा निर्वाचनको प्रचारमा आउँदा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बागलुङको बाङगेचउर खेल मैदानलाई आधुनिक रंगाशाला बनाउने घोषणा गरेका थिए । तर त्यो ६ बर्ष बित्यो । अहिले सम्म यो खेलमैदान रंगाशाला बन्ने नबन्ने पत्तो भएको छैन । डेढ बर्षअघि यो मैदानको डिपिआर पनि बनाइएको छ । तर यो मैदानका लागि कसले लगानी गर्ने, कहिले बनाउने, कस्तो बनाउने भन्ने जिल्लामा बहस चलेको छैन । राजनीतिक वृत्तमा बहुमत र अल्पमतको धेरै बिषयमा छलफल चल्छ । चर्काचर्की पनि हुन्छ । तर यो मैदानलाई जिल्लाको गौरवको योजना बनाउन भने कोही तयार छैनन् । गत बर्ष युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले यो मैदानको डिपिआर बनाएको थियो । तर डिपिआर अहिले थन्केको छ । खेलबाट विश्व सामु नेपालीले आफ्नो अस्तित्व राख्न सक्छन् भन्ने प्रमाणित भैरहेपनि खेलका बिधा र मैदानहरुको व्यवस्थापनमा राज्यको लगानी भएको छैन । डिपिआर बनेपछि बागलुङ नगरपालिकाले साझोदारी कार्यक्रममार्फत निर्माण गर्न सकिने आसय सहितको प्रस्ताव मन्त्रालयमा पठाएको छ । उक्त आसय स्विकृत हुँदा मन्त्रालयले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान अहिलेसम्म अगाडि बढ्न सकेको छैन । नगरले बजेट बिनियोजन नगरेको र मन्त्रालयले आसय स्विकृत नगरेकोले रंगशाला बनाउने सहमति अहिले कार्यान्वयनमा आउन नसरेको बताइएको छ ।
मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले बाङगे चउर अहिलेकै अबस्थामा रहन्छ वा फेरिन्छ । सडकको मापदण्डले यो मैदानलाई कति ओगट्छ भन्ने यकिन छैन । केही व्यक्तिले मैदान संरक्षणका लागि मदन आश्रित पार्कलाई केही कटौती गरेर जानुपर्ने सल्लाह पनि दिएका छन् । ‘जिल्लाकै गौरव गर्न लायक मैदान भएकोले कुनैपनि ढंगले संरक्षण गर्नुपर्छ भन्ने हो’ जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘खेलको बिकासमा बजेट राख्ने र काम गर्ने संस्कार बसाल्न सकिएको छैन ।’
रंगाशाला निर्माणका लागि १५ करोड ४० लाख खर्च हुने अनुमान छ । सहमति अनुसारको काम गर्न बागलुङ नगरपालिकाले ६ करोड लगानी गर्नुपर्छ । तर चालु बर्षका लागि यो रकम बिनियोजित छैन । बजेट बिनियोजन नभएकोले मन्त्रालयबाट योजना कार्यान्वयन नथालिएको समितिका अध्यक्ष धनबहादुर परियारले बताए । नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने आन्तरिक बजेट अभाव भएपनि खोजी गरेर जुटाउन सकिने बताए । ‘आसय आउन पनि ढीलाई भएको छ, त्यसैले नगरपरिषदबाट बजेट बिनियोजन भएन’ पौडेलले भने, ‘बन्ने पक्का भएमा अन्य श्रोतबाट खोजेर भएपनि लगानी गरिन्छ ।’ अहिले सम्म कति रकम लगानी गर्ने भन्ने यकिन अंक प्राप्त नभएको उनले बताए ।
बागङगेचउरलाई रंगाशाला बनाउनका लागि आवस्यक पूर्वाधार बनाउँदा त्यहाँ रहेको बहिरा बिद्यालय र रामरेशा आधारभूत बिद्यालय प्रभावित हुन्छ । त्यसका लागि बिकल्प दिएर काम गर्न सकेमा पोखरा पछिको महत्वपूर्ण खेल गन्तव्य बनाउन सकिने समेत सरोकारवालाको भनाई छ । प्याराफिट निर्माण, कोठाभित्र खेलाईने खेलका लागि सबै प्रकारका कवर्डहल समेत यहाँ निर्माण गर्ने गरी डिपिआरमा उल्लेख छ । डिपिआरका लागि मात्र समितिले २० लाख खर्चेको थियो । ‘डिपिआर र सहमति अनुसार चालु बर्षबाटै काम थालिनु पथ्र्यो, ढीलाई भएको छ’ परियारले भने, ‘जति ढीलाई गरियो, त्यति खर्चको अंक पनि बढीरहन्छ ।’ तत्काल निर्माण गर्न सकेमा जिल्ला स्तरमा हुने खेल प्रतियोगिता बाहेक राष्ट्रिय खेलकुदका धेरै प्रतियोगिताहरु पनि यहाँ संचालन गर्न सकिने उनले बताए ।
नगर प्रमुख जनकराज पौडेलले साझेदारीमा गर्न तयार भएपनि ठूलो बजेट पु¥याउन कठिन हुने बताए । ‘नगरले एकैपटक यतिधेरै रकम लगानी गर्न सक्दैन’ उनले भने, ‘जिल्लाकै गौरवको योजना भएकोले सल्लाह गरेर अरु पालिकाबाट पनि लगानी थप्न सकियो भने सहज हुन्थ्यो ।’ संघिय सरकार बाहेक प्रदेश सरकार र स्थानीय तहको समेत लगानी मिसाएर रंगाशाला निर्माण गर्न सकिने उनले बताए । जिल्लाकै गौरवको योजना भएकोले सबैको चासो र साथ चाहिने भन्दै उनले एकल लगानीमा असंभव भएको बताए । करोडौं लगानीका योजना साझेदारी गर्न खोज्दा नगरको बजेट अभाव हुने गरेको उनको टिप्पणी छ ।





