शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नाफाअघि सामाजिक दायित्वलाई राखेका छौं : पन्त

नाफाअघि सामाजिक दायित्वलाई राखेका छौं : पन्त

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७६, सोमबार

पोखरा,२३ मंसिर – पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरे ।
युआरएले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । पुरस्कृत व्यक्तित्व सुरेन्द्र पौडेलले पुरस्कारले आफूलाई ऊर्जा थपेको सुनाए ।
सामाजिक विकास मन्त्री पुनमगरले नागरिकलाई स्वास्थ्यबारे चेतना दिने र सित्तैमा शिविर गर्ने सरकारको काम गरेकोमा युआरएललाई धन्यवाद दिइन् । उनले नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई स्वास्थ्यबारे सचेतना जरुरी भएको बताइन् । उनले भनिन्, ‘हामी चेतनामूलक अभियान चलाउँदै छौं । सरुवा रोगहरु नियन्त्रण भइसके, नसर्ने रोगहरुबाट बाच्न खानपान, जीवनशैली र समय समयमा चेकजाँचको सुलभ व्यवस्था गर्न सरकार लागेको छ ।’
गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गरे । उनले रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको ठूलो भूमिका रहेको जनाए । अफिन अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान रहेको उल्लेख गरे । उनले भने, ‘प्रशासनले कानुन अनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको छ ।’ कमजोरी गर्ने चिकित्सक, स्वास्थ्य संस्था वा बिरामीका आफन्त जो भए पनि कारवाही हुनुपर्ने र नागरिकले सुलभ तवरले गुणस्तरीय सेवा पाउनुपर्नेमा उनले जोड दिए ।
युआरएलका अध्यक्ष शुशील थापाले संसारमा रगतका करिब ३ हजार थरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे । उनले स्वास्थ्य उपचारसँगसँगै सबैमा स्वास्थ सचेतना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष थापाले भने, ‘विशेष गरी नगर्ने रोगबारे सचेतना जरुरी छ । रोग लाग्नुभन्दा अघिको ज्ञानले खर्च, परिसानीमात्र काम गर्दैन, जीवन नै जोगाउन पनि सघाउँछ ।’
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ६ वर्षको अवधिमा ५८ हजारभन्दा बढीलाई निशुल्क सेवा दिएको जानकारी दिए । करिब ४ सय संघ, संस्थासँग सहकार्य गरी ७८ शिविरमार्फत सचेतना र निशुल्क जाँच सर्वसाधारणसम्म पु¥याएको उनको भनाइ छ । पन्तले भने, ‘हामीले नाफाभन्दा अघि सामाजिक उत्तरदायित्व र सेवालाई राखेका छौं । यो प्रदेशको पहिलो र अग्रणी ल्याब भएको दायित्व हामीले पूरा गरेका छौं ।’नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए । कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक हरि बास्तोला, युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेय, सञ्चारकर्मी अनिशा श्रेष्ठ लगायतले बोलेका थिए ।अग्रज पत्रकार हरि बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिमा डा. नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा सदस्य छन् । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा र यदुनाथ बञ्जारा सम्मानित भइसकेका छन् ।समारोहमा २०७६ को उत्कृष्ट कर्मचारी पुरस्कारबाट दमौली शाखा प्रमुख आशीष श्रेष्ठलाई सम्मान गरियो । दुलेगौंडा र दमौलीमा युआरएलका शाखा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->