आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तमानखोलामा विकास भित्राईदै

तमानखोलामा विकास भित्राईदै


  • ढोरपाटन संबाददाता
  • मंसिर २४ २०७६, मंगलबार

बागलुङ, २४ मंसिर – बुर्तिवाङ देखि तमानखोला गाउँपालिका केन्द्र बोंगादोभान पुग्ने सडक स्तरउन्नती गरिएको छ । यो सडकमा यस अघि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । भूकम्प पुन निर्माण प्राधिकरणले यो सडकलाई पुन निर्माणको कोटामा राखेर डेढ बर्षदेखि काम गरेपछि अहिले सहज यात्रा गर्न सकिने भएको हो । सदरमुकाम देखि १ सय १० किमी पश्चिमको बोंगादोभानमा अहिले ट्याक्सी चढेर पुग्न सकिने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
यस अघि ईलाका गोष्ठी मार्फत योजना छनौटमा मात्र केन्द्र तोकिने बोंगादोभान पुग्न धेरैलाई सास्ती थियो । सास्ती खेपेर पुगेकाहरुले छिटो फर्कन मात्र खोज्थे । तमानखोला गाउँपालिकाले पनि यो क्षेत्रमा धेरै लगानी गरेको छ । गत बर्षको स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट पनि यो सडक हुँदै खुंखानी जाने तर्फ लगानी गरिएपछि बिकासले गति लिएको हो । अहिले खुंखानी सम्मै ट्याक्सी चढेर जान सकिने भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । प्राधिकरणले ९ करोड लगानी गरेको थियो भने स्थानीय सरकारले पनि करोडौं लगानी गरिसकेको छ । ‘सहजै यात्रा गर्न सकिने भएपछि उपचारकालागि बाहिर जान कम खर्चिलो भयो, सेवाग्राहीले केन्द्र आउन पनि सुबिधा पाएका छन्’ बुढाले भने, ‘कालोपत्रे पनि गर्ने चाहना छ, स्थानीय बजेटले यो काम संभव छैन, केन्द्र्रीय बजेटको खोजी भैरहेको छ ।’ स्थानीय तह गठनपनि स्थानीय आवस्यकतामा लगानी पर्दा गाउँपालिकामा बिकास भित्रिएको स्थानीय अनिता सेन्चुरीले बताईन् । स्थानीयले पछिल्लो दुइ बर्षमा राम्रो परिवर्तन भएको बताए । गाउँपालिककै लगानीमा तमानखोलाका सबै आधारभूत बिद्यालयमा कम्प्युटर शिक्षक र ५ वटाको दरले कम्प्युटर पनि दिइएको छ । कम्प्युटर पाएपछि आधुनिक विधिमा पढाउने काम भएको शिक्षकहरुले बताए । पछिल्लो समय बोंगादोभान र खुंखानीमा बर्थिङ सेन्टर पनि स्थापना भएको छ । बोकिएर बुर्तिवाङ पुग्नुपर्ने बाध्यता हटेको छ । जसको कारण सुत्केरी अबस्थामा आउने जटिलटा कम भएको समेत स्थानीयले बताए । ‘अहिले यही परीक्षण गर्न पाइन्छ, बुर्तिवाङ जानु परेन’स्थानीय मिना बिकले भनिन्, ‘उपचार यही भैदियो भने हामीले धेरै खर्च गर्न पर्दैन ।’ भौगोलिक जटिलताका कारण पछाडि परेकोले तमानखोला गाउँपालिकालाई बिशेष क्षेत्रको रुपमा राखिएपनि बिकास बजेटका लागि भने बिशेष बजेट नआएको बुढाले बताए ।
बुढाका अनुसार तमानखोलामा मात्र अहिले बर्षेनी झण्डै २१ करोड बजेट जान्छ । उक्त मध्ये ४० प्रतिशत बिकास बजेट हुन्छ । उक्त बजेटबाट गाउँपालिकाले चाहेको स्थानमा र आवस्यकता परेको स्थानमा लगानी गर्न पाएको छ । सिंहदरवारबाट आउने बजेटमा यो क्षेत्रमा लगानी असाध्यै कम हुन्थ्यो । उक्त बजेटले सडकको ट्रयाक खोल्न पनि नसकिएको उनीहरुले बताए । अहिले आउने बजेटले आफ्नो गाउँ बनाउन सहयोग पुगेको छ । गाउँपालिकाको केही स्थानमा पर्यटकीय स्थान बनाउने, सोले डाँडा हुँदै ढोरापटन पुग्ने पदमार्ग बनाएर आन्तरिक तथा बाहिरी पर्यटक भित्राउने तयारी अनुसार काम पनि थालिएको छ । कतिपय स्थानमा बासै बस्ने स्थान चाहिने भएकोले होमस्टे बनाउने, होटल तथा रेष्टुरेन्ट खोल्नेलाई आब्हान गर्ने योजना पनि बुढाले सुनाए ।
तमानखोलाकै तमान र लामेलामा पनि सहज यातायातको तयारी छ । बोंगादोभान देखि जाने एउटा सडक र खुंगादेखि जाने अर्को सडकको स्तरउन्नती गरेर तमानखोलामा बिकास भित्राउन केही बर्षदेखि लगानी भैरहेको छ । म्याग्दीको ओखरबोट र रुमदेखि आउने अर्को सडकले पनि जोडेको छ । ती सबै सडक स्तरीय बनाउन सकियो भने तमानमा अन्य बिकासका पूर्वाधार सहजै लैजान सकिने समेत बताइएको छ । तमानमा इलाका स्तरीय स्वास्थ्य केन्द्र बनाउने तयारी समेत छ । भवन पूर्वाधार बनिसकेकोले अन्य सेवा थप्ने योजना पनि जिल्ला स्वास्थ्यले बनाएको छ । पर्यटकीय दृष्टीले राम्रो भएकोले लगानी बढाउन सक्दा भ्रमणबर्षको अवसर पारेर आर्कषक गन्तव्यको रुपमा बिकास गर्न सकिने समेत बुढाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->