पोखरा, २५ मंसिर – नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ ।
कुनै पनि वहानामा पत्रकारलाई प्रभावित पारिनु निन्दनीय छ विज्ञप्तिमा भनिएको छ,‘पत्रकारलाई आतंकित पार्न छोडेर सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौँ।’
युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार अधिकारीलाई शारीरिक तथा मानसिक याताना दिने उद्देश्यले सादा पोशाकका प्रहरी खटाई जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी गरेकोप्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा राजनैतिक आस्थाका आधारमा पटकपटक पत्रकारलाई पक्राउ गर्ने र यातना दिने क्रम नरोकिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।
अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । हाल उनी न्यूज २४ टेलिभिजनमा आवद्व छन् । यसअघि नेपाल पत्रकार महासंघले पनि एक विज्ञप्ति जारी गर्दै पत्रकार अधिकारीमाथि भएको ज्यादतिको विरोध गरेको थियो ।





