आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धार्मिक पर्यटकीय चक्रपथ: बागलुङ-पञ्चकोट-बेलढुंगा-रिजालचोक 

धार्मिक पर्यटकीय चक्रपथ: बागलुङ-पञ्चकोट-बेलढुंगा-रिजालचोक 


  • खिमानन्द कँडेल
  • मंसिर २८ २०७६, शनिबार

फोटो: प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोट, बागलुङ
नेपालकै उत्कृष्ठ पर्यटकीय स्थलको रुपमा आफ्नो परिचय दिन सफल बागलुङ जिल्लाको सर्बसिद्धिधाम पञ्चकोटमा ठूलो संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । यस स्थानमा मुक्तिनाथ बाबाका नामले परिचित धार्मिक गुरु कमलनयन आचार्यको नेतृत्वमा मानिसहरुका मनै लोभ्याउने खालका धार्मिक पर्यटकीय संरचनाहरु बनिरहेका छन् । पछिल्लो समय यस स्थानमा जाने पर्यटकहरुको संख्या दिनानुदिन बढिरहेको छ ।फोटो: प्रसिद्ध धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम, भकिम्ली, म्याग्दी
यसै स्थानबाट पश्चिम तर्फ म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं ३ भकिम्ली अन्र्तगत मुसुङको धुरीमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम रहेको छ । यस स्थलमा क्रृषि मुनीहरुले तपस्या गरेको ठाउँ भएको र गुरु छविलाल एवं बम्हालीन १००८ स्वामी परमानन्द सरस्वती महाराज ज्यूले समेत तपस्या गर्नुभएको थियो । बागलुङ जिल्लामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सर्बसिद्धिधाम पञ्चकोट, ज्यामरुककोटको गौसारा गाउँ र म्याग्दी जिल्लामा रहेको प्रसिद्ध पर्यटकीय स्थल स्वर्गाश्रम हालै मात्र सडक संजालले जोडिएको छ । हाल सडकको ट्रयाक खोल्ने काम सकिएको र धेरै नै चाँडो यस सडकमा मोटरसाईकल र ट्याक्सीसम्म गुड्न सक्ने गरी थप काम गर्ने तयारी भैरहेको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका अध्यक्ष श्री हिरा थापा ज्यूले जानकारी दिनुभएको छ । यसै गरी स्थानीय साधन स्रोत जुटाएर सहजै पर्यटकहरुले मोटरसाईकल, ट्याक्सी वा जीपमा स्वर्गाश्रम बेलढुंगा पुग्न सक्ने गरी यस सडकलाई पर्यटकीय सडकको रुपमा विकास गर्ने तयारीमा रहेको बेनी नगपालिका वडा नं ३ का अध्यक्ष पदम पुनले जानकारी दिए ।
फोटो: प्रसिद्ध पर्यटकीय स्थल बेलढुंगाको शीरबाट खिचिएको तस्वीर
हालै मात्र प्रसिद्ध धार्मिक स्थल स्वर्गाश्रमको शीरमा २६१८ मिटर उचाईमा रहेको पर्यटकीय स्थल बेलढुंगा क्षेत्रसम्म वडाको बजेटबाट सडक संजाल बेनी नगरपालिका वडा नं ३ को पहलमा बिस्तार भएको छ । यसरी बागलुङ र म्याग्दी जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरु पञ्चकोट, स्वर्गाश्रम, बेलढुंगा, झुलेनी, बिहुँ रिजालचोक, रामकोट हुँदै बागलुङ बजारसम्म पर्यटकहरु पर्यटकीय चक्रपथमा रमाउने नयाँ अवसर सृजना भएको छ ।
बागलुङ र म्याग्दी जिल्लाको सिमानामा उच्चपहाडको शीरमा बिशाल चट्टान सहितको प्राकृतिक भ्यू टावरलाई बेलढुंगा भन्ने गरिएको छ । पहाडको शीरमा बेल जस्तै बिशाल ढुंगामा १५, २० जनासम्म पर्यटकहरु व्यवस्थित पैदलमार्गबाट पुग्न सकिन्छ । पछिल्लो समय यस स्थानमा म्याग्दी र बागलुङ जिल्लाबाट उल्लेख्य संख्यामा पर्यटकहरु पुग्न थालिसकेको यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा निरन्तर लागिरहनुभएका गोपाल श्रीसले जानकारी दिए ।
यस अगाडि नै मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बजारबाट २० किलोमिटर पश्चिम क्षेत्रमा रहेको रणनीतिक क्षेत्र बिहुँको रिजालचोकबाट लटेखोरिया, फापरखेत, धम्जा देउराली, ओखले हुँदै बेलढुंगासम्मको सडक काँठेखोला गाउँपालिकाले निर्माण गरिसकेको छ । बेलढुंगा देखि प्रसिद्ध पर्यटकीय स्थल गाजाको दहलाई जोड्ने सडकलाई काठेखोला गाउँपालिकाले गौरवको योजनाको रुपमा समेत समावेश गरिसकेको छ । यसरी प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोटबाट नेपाल भ्रमण बर्ष २०२० मा म्याग्दीको गौसारा, भकिम्ली, स्वर्गाश्रम, बेलढुंगा क्षेत्रबाट म्याग्दी, मुस्ताङ र कास्की जिल्लामा रहेका दर्जनौं हिमशृंखलाहरुलाई नजिकैबाट नियाल्न सक्नेछन् ।फोटो: यसै धार्मिक चक्रपथमा रहेको प्रसिद्ध मन्दिर त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट), बिहुँ , बागलुङ
बेलुढंगाबाट ओखले, धम्जा देउराली, लटेखोरिया, रिजालचोक हुँदै गण्डकी प्रदेशको उत्कृष्ठ १०० गन्तव्यको रुपमा सूचिकृत भएका पर्यटकीय स्थलहरु त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट) र बिहुँका दुईवटा कोटहरुमा पुग्न सकिन्छ । यस रामकोट मन्दिर क्षेत्र घना जंगलको बीच भागमा सुन्दर भूभागमा मध्यपहाडी लोकमार्गको काखमा अवस्थित रहेको धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिरको निर्माण बम्हालीन १००८ स्वामी परमानन्द सरस्वती महाराज ज्यूको विशेष पहलमा भएको हो र यस स्थानमा प्रशस्त मात्रामा कालिजहरु बिहान र बेलुकाको समयमा मन्दिर परिसरमा नै रमाईरहेको देख्न सकिन्छ ।
यति मात्र हैन यस सडकखण्ड अन्र्तगत गौसरा, भकिम्ली, धम्जा ओखले, फापरखेत र विहुँ क्षेत्रमा रहेका सामुदायिक होमस्टे एवं विशेष गरी मगर समुदायहरुको संस्कृतिसँग घुलमिल हुने अवसर पनि पर्यटकहरुलाई उपलब्ध हुनेछ । यो पर्यटकीय सडकको ट्रयाक खोलिँदा पर्यटकहरु पञ्चकोेट, स्वर्गाश्रम, बेलढुंगा, झुलेनी, शिबधुरी, रामकोट (त्रिपुरेश्वर महादेव मन्दिर) हुँदै बागलुङमा रहेको कालिका भगवती मन्दिरको एकमुष्ट भ्रमणको नयाँ आनन्द लिन सक्नेछन् ।
कँडेल धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हुन् । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->