पोखरा, २८ मंसिर – लोकगायिका हरिदेवी कोइराला, झुमा लिम्बु र प्रकश सपुत फेवाताल किनारामै बनेको मञ्चमा उक्लदैँ गर्दा आकास छ्याङ्ग थिएन । ताल किनारमै जन्मेकी हरिदेवी त अभ्यस्त नै थिइन, पोखराको मौषमसँग । ‘आकासमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ……..।’ यहीँको मौषमले जन्माएको गीत न हो !
हरिदेवी अघिल्लो पुस्ताकी गायिका । झुमा संगीतको गहिराईमै डुब्न खोज्ने कलाकार अनि प्रकाश सपुतचाहिँ अहिलेका सबैभन्दा व्यस्त गायक । संचारकर्मी नारायण अमृतकै भाषा सापट लिने हो भने,‘बोलमायादेखि गलबन्दीसम्म आइपुग्दा उनका भ्युअर्स नै कति छन् कति ?’ यसमानेमा लोकप्रियता मापन गर्ने थर्मामिटर नै हुन्, सपुत ।
जे भए पनि उनीहरु तीनैजना गाउँका गीत गाउँछन् । समाजका गीत बनाउँछन् र त्यसैमा रमाउँछन् । फेवातालको किनारामा लोकगीत भनेको ‘लोकगीत कि लोकप्रियता’ भन्ने विषयमा कुरा गरिरहँदा उनै सपुतले भने,‘ आफ्नै गाउँको चरा कराएको र गाउँकै परिवेश गाइएको गीत नै लोकगीत हो तर हाम्रो पुस्ता अलिकति अभागी भएकाले बदलिएको परिवेश नै गीत भएको हो ।’
हरिदेवीले २०४० सालमा गुरुङ समुदायको विदेशिने कथालाई गीतमा बुनेको हो भनिरहँदा सपुतले त्यसमा भने सहमति जनाए ।
उनै हटकेक प्रकाशका अनुसार उनले सबैले चिनोस् भनेर गीत गाउन सुरु गरे रे ! ‘गीत गाएर चर्चित हुन्छु भन्ने थिएन । बीचमा भात खानलाई पनि गीत गाइयो । समय अनुसार आफ्नो रुचि र सपना पनि बदलिँदा रहेछन्, ८–९ कक्षा पढ्दा हिट हुनु थियो’, उनले भने,‘मैले छिटो अवसर नै लोकगीतबाट पाएँ । फिल्म खेल्ने पहुँच थिएन । लोकगीत हुन्थ्यो, मेला हुन्थ्यो । म लोकगीत गाएर हिट हुन्छु भन्दा पनि गीतले नै मलाई लोकप्रिय बनायो ।’
हरिदेवी पनि प्रकाशको कुरामा सहमत देखिइन् । ‘लोकगीतले शिष्टता पनि खोज्छ, पृथकता पनि खोज्छ, भूगोल पनि खोज्छ, त्यहाँको परिवेश र परिदृष्य पनि खोज्छ’,हरिदेवीले भनिन्,‘ अहिलेका पुस्ताहरुलाई उत्साह पनि दिनुपर्छ, लोकगीतको उपादयता पनि धेरै छ, लोकप्रिय बनाउन मसला राखिएका छन्, यसरी नै लोकगीत धमिलियो भने त्यसले के सन्देश दिन्छ ?’हरिदेवी त्यतिमै रोकिइनन् । उनले आफूले नै गाएको पाइन खवर भन्ने गीतसँग लमजुङतिरको गुरुङ समुदायभित्र रहेको लाहुरे संस्कृतिको प्रभाव परेको पनि सुनाइन् ।
‘त्यतिबेला एउटा रेडियो नेपाल नै थियो नै, क्यासेट निक्लन्थ्यो । गीतको यसरी चर्चा हुन्थ्यो कि, त्यो यो कारणले गाएको गीत भनेर चर्चा हुन्थ्यो’, हरिदेवीले भनिन्,‘ पाइन खबर गाएपछि म चाहिँ लमजुङमा थिएँ, दुई महिनापछि मैले मेरो गीत चलेको खवर पाएँ र यो गीत उसको श्रीमान विदेश गएर गाएको हो रे भन्ने चर्चा भयो ।’
झुमा लिम्बु लोकगीत नै गाएर कलाकर्म सुरु गरेका हुन् । अमर गुरुङसँगको संगतले उनी रैथाने संगीत खोज्ने कर्मतिर तानिइन् । उनी मुन्धुम संगीतमै डुबिन् । लोकगीत कसलाई बनाउन खोजेको हो, त्योबारेमा कलाकार आफै प्रष्ट हुनुपर्ने उनको धारणा थियो ।‘ हामीले विश्वसम्म पु¥याउने कि, आफ्नै जात वा समुदायको लागि पु¥याउने हो गीत भन्ने बुझ्नुपर्छ’, झुमाले भनिन्,‘ हाम्रो मुलधारको संगीतले विश्वमा कहिँकतै चिनाउँदैन । यसको लागि लोकगीत नै गाउनुपर्छ । यो बाजा यसरी समायोजना गरेको भन्न सक्यो भने राम्रो होला ।’
कार्यक्रममा बोल्दै गर्दा तीनै जनाले आफ्नै रुचिको लागि गाएको र म गायक हुन्छु भनेर सुरु गरेकै हैन भन्ने कुरामा भने सहमत देखिए । प्रकाशले रेडियोबाट हैन, आफ्नो आमाको मुखबाट रत्यौली सुनेको बताए । उनले लोकगीत भनेको के हो भन्नेमा आफू द्धिविधामा रहेको बताउन पनि चुकेनन् । हरिदेवीले प्रकाशको जमानामा आउँदा गीत भाइरल हुने जमाना आएको स्वीकार्दै अबको गीत हेर्ने र सुन्ने दुबै भए पनि त्यो सुन्न मन नै चाहिनेमा जोड दिइन् । झुमाले संगीतका बहुआयामहरुलाई समातेर लोकगीत सृजना हुनुपर्ने बताइन् । फेवातालको किनारामा जारी आइएई लिटरेचर फेष्टिवलमा लोकगीत चोखो नभएकोमा पनि उनीहरुले थकथकी माने ।
‘हिजो ढिकी कुट्दै गरेको मात्रै लोकगीत हैन, हामीले अहिले भोगेको कुरा पनि लोकगीत हो, लोकगीतमा त्यो आउनुपर्छ’, झुमाले थपिन्,‘अहिले भोगेको समयको कुरा पनि लोकगीतमा आयो भने त्यो पक्कै मुलधारको बन्छ ।’ त्यसो भनिरहँदा उनले आफूले गर्दै गरेको काम धेरैलाई थाहा नभए पनि त्यसको समेत प्रवद्र्धन गरिनु पर्नेमा जोड दिइन् ।





