तनहूँ,२९ मंसिर – विश्वकर्मा गुठी समाजको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गरिएको छ । शुक्लागण्डकी ४ पुलचोकमा निमार्ण गरिएको नवनिर्मित भवनको शुक्लागण्डकी नगरपालिकाको उपमेयर सबिता रसाइलीले उद्घाटन गरेकी थिइन् । उद्घाटन पछिको सभामा बोल्दै उपमेयर रसाइलीले दलित समुदायको लागि विनियोजित रकम दलित समुदायकै विकासका लागि खर्च हुनुपर्नेमा जोड दिइन् । उनले दलित समुदायभित्रको परम्परागत पेसा संरक्षण गर्न नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएकाले परम्परागत पेसालाई आयआर्जनसंग जोड्न सुझाव दिएकी थिइन् । उनले दलितको विकासका लागि दलित समुदायभित्रको असमानता हटाउनु पर्ने बताउँदै दलित समुदायले शिक्षामा जोड दिनुपर्ने समेत बताएकी थिइन् । समाजका अध्यक्ष बाजिराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी वडा नं ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य दिव्यश्वरी विश्वकर्मा, शुक्लागण्डकी नगर कार्यपालिका सदस्य भरत लाम्गादे ,विश्वकर्मा आमा समुह दुलेगौँडाकी अध्यक्ष मिना रोका लगायतले जातिय समानताका विषयमा बोलेका थिए । उक्त नवनिर्मित भवन वडा नं ४ को १ लाख ५० हजार सहयोग र स्थानियको श्रमदान गरी ३ लाख ५० हजारमा निमार्ण सम्पन्न भएको बताइएको छ । झण्डकै २ रोपनी क्षेत्रमा फैलिएको जग्गा भित्र बनेको संरचनालाई विश्वकर्मा समुदायले प्रयोग गर्ने सक्ने गरि क्रियापुत्री भवन निर्माण भएको हो । गुठी समाजको नियमित बैठक लगायतका कार्यक्रमहरु समेत उक्त भवनमा गर्न सकिने जानकारी दिदै समाजका सस्थापक सदस्य समेत रहेको लामगादेले निकट भविष्य सभा समारोहका लागि उपयुक्त सामाजिक भवन बनाउने योजनामा रहेको बताए । गुठी समाजमा वडा भित्रका झण्डै ५५ घरधुरी समावेश रहेको छन् ।





