बागलुङ, १ पुस – गत आर्थिक बर्षको तथ्यांक अनुसार बागलुङका दशवटै स्थानीय तहले बिकास बजेटको अधिकांश अंश सडक निर्माणमा खर्च गरे । चालु आर्थिक बर्षको प्रस्तावित बजेमा समेत पूर्वाधार निर्माणमा खर्चिने मध्येको अधिकाशं रकम सडकमै खर्चिने निश्चित छ । किनभने उनीहरुले सडक निर्माण देखि स्तरोन्नतीको कामलाई प्राथमीकतामा राखेका छन् । स्थानीय तहले मात्रै होईन् बागलुङ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक संयोजक रहेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ठूलो रकम सडक निर्माणको क्षेत्रमा विनियोजन गरेका छन् । पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौट हुँदा सबै भन्दा बढी रकम सडक क्षेत्रमा विनियोजन गरिएको हो । ती योजनाका लागि सबै पालिकासँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हरेक निर्वाचन क्षेत्रका निर्वाचित प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा सबै पालिकाका प्रमुख सदस्य रहने कार्यक्रमले बागलुङ नगरपालिका भित्र २ करोड २५ लाख अनुदान दिने निर्णय गरेको छ । जिल्लाको बरेङ गाउँपालिकाले भने तोकिएको भन्दा केही कम रकमा पाउने छ भने बरेङलाई कम हुने रकम जैमिनी नगरपालिकाले पाउने छ ।
सांसद पाठकका अनुसार बागलुङ नगरपालिकामा भलाटाकुरा काप्रे कालीमाटी सडक कालोपत्रेका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएको छ । बाँझाखेत बोक्से खोलाखेत सडक स्तरउन्नतीका लागि ३० लाख, पाखे, भुजाकाटे निफन्नी सडकमा ३० लाख, बोक्सेखाल्टा खहरे सडक स्तरउन्नतीका लागि ३० लाख र सहिद स्मृति पार्क निर्माण गर्न वडा नं. ७ मा १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस बाहेक धौलागिरी अञ्चल अस्पतालमा ‘हाइकेयर युनिट’ निर्माणका लागि ५० लाख र धौलागिरी बहुमुखी क्याम्पसमा बिद्युतीय पुस्तकालय निर्माण गर्न ५० लाख रुपैयाँ बिनियोजन गरिएको संघिय सांसद डा.सूर्य पाठकले जानकारी दिए ।
योजना संचालनका लागि बागलुङ नगरपालिकाले ७५ लाखको योगदान गर्नुपर्ने प्रावधान रहेको छ । अस्पतालमा ए र बी ब्लक व्यवस्थापनका लागि गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटाले ८ देखि १० लाख रुपैयाँ लगानी भित्राउने आश्वासन समेत दिएको अध्यक्ष केवी राना मगरले बताए । त्यस्तै काठेखोला गाउँपालिका तर्फ १ करोड २५ लाख विनियोजन गरिको छ । त्यसमा गाउँपालिकाले २७ लाख ५० हजार लगानी थपेपछि १ करोड ६२ लाख रुपैयाँमा भिमापोखरा धम्जा, तंग्राम बिहुँ लेखानी रेश जोड्ने पहाडी चक्रपथ निर्माण गरिने भएको छ । जैमिनी नगरपालिका तर्फ १ करोड ३५ लाख अनुदान र नगरपालिकाको १ करोड लगानी गरेर कुश्मीसेरा–सरंगे सडक कालोपत्रे गर्न २ करोड लगानी गरिने निर्णय छ । त्यस्तै पैयुँथन्थाप गैरापाटा खेल मैदानका लागि १० लाख र वडा कार्यालय छिस्तीदेखि चाउकेवारी पैयुँडाडा केवै सडक निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । बरेङ गाउँपालिका तर्फ १ करोड १५ लाख विनियोजन भएको छ । त्यसमा गाउँपालिकाले ५१ लाख लगानी गरेपछि बरेङदेखि नाम्दुक सडकमा १ करोड ३० लाख, काफलठुटा देखि घट्ट सुधाला सडकका लागि १८ लाख र बराहकोटदेखि सुधालाचोक सडकका लागि १८ लाख बिनियोजन गरिएको छ ।





