पोखरा,१ पुस – खेलकुदमन्त्री जगत विश्वकर्माले ‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्त भएको जिकिर गरेका छन् । उनले खेलक्षेत्र बाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ भन्ने कुरा स्थापित गर्न मन्त्रालयले आफ्ना कामहरु अघि बढाएको दावी पनि गरे ।
पोखरामा मंगलबार प्याब्सन स्पोर्टस् मिटको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास नभई मुलुकको समृद्धिको कल्पना गर्न नसकिने पनि बताए
‘वर्तमान सरकार मुलुकको समृद्धको नारा लाई सफल बनाउनका लागि सरकारले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशालाको निर्माण र ७५३ वटै स्थानिय निकायमा खेलग्राम स्थापना हुनुपर्ने कुरालाई विशेष महत्वका साथ उठाएको छ’, पोखरामा प्याब्सनले आयोजना गरेको खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै उनले भने,‘ सरकारले बनाएको सोचलाई मूर्तरुप दिन खेलकुद मन्त्रालय दृढ संकल्पमा साथ अगाडी बढेको छ ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकूद (साग) को सम्पन्न पश्चात प्राप्त उपलव्धीले समाजले खेलकूद क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएको धारणा राख्दै मन्त्री विश्वकर्माले निजी शिक्षण संस्थाहरुले शिक्षासँंगै खेलक्षेत्रलाई महत्वका साथ राखेकोमा सिंगो शिक्षा र खेलकुद क्षेत्र गर्विलो अनुभव गरिरहेको कुरा उल्लेख गरे ।
पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स्थापित गर्न स्टेडियमको काम छिट्टै सम्पन्न गरिसक्ने बताउँदै मन्त्री विश्वकर्माले अव नवौ राष्ट्रिय खेलकुदका लागि स्विमिङ लगाएत अन्य पूर्वाधार समेतको काम सुरु गरिने बताए । पोखरा रंगशाला स्थित क्रिकेट स्टेडियमको समेत चाँडैनै काम थालिने उनले बताए ।
सो अवसरमा मन्त्री विश्वकर्माले १६ औं प्याबसन स्पोर्टस मिटको उद्घाटन कार्यक्रम अन्तरगत सम्पन्न मार्च पासमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरे । मार्चपासमा सहभागी ४१ विद्यालय मध्ये रेन्वो एकेडेमी प्रथम, नोवेल एकेडेमी द्वितिय, ढुंगेसाँघु बोर्डिङ स्कूल तृतीय भए । त्यसैगरि कन्चन्जंघा बोर्डिङ स्कूल, पोखरा लर्नस, सोसियल पव्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थान प्राप्त गरे ।




