आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ बजारदेखि प्रसिद्ध दुई धाम पुग्ने सडक कालोपत्रे हुँदै

बागलुङ बजारदेखि प्रसिद्ध दुई धाम पुग्ने सडक कालोपत्रे हुँदै


  • ढोरपाटन संबाददाता
  • पुष ३ २०७६, बिहिबार

बागलुङ, ३ मंसिर – सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिर जाने सडक र जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरादेखि प्रसिद्ध जैमिनी धाम जाने सडक स्तरोन्नती तथा कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । भैरवस्थान जाने सडकका लागि साढे तीन करोड र जैमिनीधाम जाने सडकका लागि सवा एक करोडभन्दा धेरै बजेट बिनियोजन भएको हो । राष्ट्रिय योजना आयोगले समपुरक कोषअन्र्तगत बागलुङ नगरपालिका वडा नं १३ को लजुकनीदेखि बागलुङ नगरपालिका–१२ अमलाचौरको कालभैरव मन्दिरसम्म जाने सडकको लागि १ करोड ७४ लाख र जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरा बजारबाट जैमिनी धाम जाने सडकका लागि ६७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
आयोगले स्थानीय तहसँग केही समय पहिले समपुरक अनुदानका लागि योजना माग गरेको थियो । स्थानीय तहले उपलव्ध गराएका योजनाहरुलाई प्राथमिकताका आधारमा छनौट गर्दै अर्थ मन्त्रालयलाई बजेटका लागि सिफारीस गरिएको आयोगले जनाएको छ । उक्त सडकहरु निर्माणका लागि अर्थ मन्त्रालयले उपलव्ध गराउने रकम बराबरकै रकम स्थानीय तहहरुले साझेदारी गर्नेछन् । दुई धाम जाने सडकमा समपुरक अनुदान र स्थानीय तहको साझेदारीसहित ४ करोड ८२ लाख रुपैयाँ खर्च हुनेछ ।
दुवै तर्फको रकमलाई एउटै डोकोमा राखेर योजनाको काम अघि बढाईने बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले बताए । ‘योजना आयोगले अर्थलाई सिफारिस गरेको छ । सोही अनुसार खर्च गर्ने आदेश प्राप्त भयो’ पौडेलले भने ‘हामीले पनि समपुरक साझेदारीको लागि राखेको बजेटलाई परिचालन गरेर ३ करोड ४८ लाखमा योजना सञ्चालन गर्छौं ।’ जलुकेनीदेखि भैरवस्थान सम्मको ९ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गर्ने योजना नगरपालिकाले बनाएको छ ।
कुश्मीसेरादेखि जैमिनी धामसम्मको तीन किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे हुने छ । ‘अहिलेनै सबै सडक कालोपत्रे नहोला काम सुरु हुन्छ’ पौडेलले भने ‘बहुबर्षे कार्यक्रम हो तीन बर्षमा सबै सडक कालोपत्रे गर्ने लक्ष राखिएको छ ।’ जैमिनी नगरले पनि त्रिबर्षे योजना बनाएर काम अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । बलेवा कालभैरव मन्दिरको बिकास र प्रचारप्रसार तथा जैमिनी धामको बिकासका लागि यी सडक निर्माण महत्वपुर्ण हुने प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले बताए । ‘स्थानीय सरकारसँग मिलेर सम्बोधन नभएका क्षेत्रलाई समाबेश गर्ने प्रयत्न हामीले ग¥यौं’ पाठकले भने ‘सडक बनेर पनि लामो समय स्तारोन्नती र कालोपत्रे हुन नसकेको जिल्लाको दक्षिणमा कालोपत्रेको लहर चल्छ ।’
धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने सडकमा समपुर अनुदान खर्च हुनुले सकारात्मक सन्देश दिएको स्थानीय बताउँछन् । ‘सडक राम्रो भयोभने दर्शनार्थी बढ्छन्’ नेकपा बागलुङका नेता तथा प्रभावित क्षेत्रका स्थानीय कृष्ण पाठकले भने ‘धार्मिक पर्यटनको बिकासका लागि यो सडक कोषेढुंगा हुने छ ।’ अफ्ठेरो सडकका कारण बलेवा कालभैरवको दर्शमा जाने दर्शनार्थीहरुले सास्ती खेप्ने गरेका छन् । स्थानीय तह र प्रदेश तथा केन्द्र सरकारका स–साना योजनाले यो सडकको चक्लाबन्दीका केही काम भएका भएपनि लामो दुरीमा काम हुन सकेको थिएन् ।
बागलुङ बजारदेखि पाग्जासम्म गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सडक कालोपत्रेको काम गरिरहेको र त्यो भन्दा माथी केन्द्र तथा प्रदेश सरकारको साढे २ करोड बजेटमा सडक बिभागले केही खण्ड कालोपत्रेको प्रकृया अघि बढाएको छ । सडक बिभागले कालोपत्रे गर्ने अन्तिम बिन्दुदेखि माथी समपुरक अनुदानको बजेटले काम थालिने प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले बताए । गतबर्ष नगरपालिकाले यही सडकलाई समपुरक अनुदानका लागि सिफारीस गरेको भएपनि अर्थले उपलव्ध गराएको बजेट अनुसार नगरले साझेदारी गर्न नसकेपछि बजेट प्र्रिmज गएको थियो । अनिवार्य साझेदारी गर्नुपर्ने प्रावधानका कारण बजेट फ्रिज गएको नगरप्रमुख पौडेलले बताए ।
नेपाल सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न समपुरक अनुदान दिने गरेको छ । यस्तो अनुदान कूल लागतको अनुपातका आधारमा प्रदान गरिन्छ, जसमा सबै तहका सरकारले कुनै न कुनै रुपमा लगानी गर्नुपर्छ । यो बर्ष गाउँपालिका वा नगरपालिकाभित्र सञ्चालित १ करोडदेखि १० करोडसम्मका आयोजनाले बजेट पाएका छन् ।
स्थानीय तथा प्रदेश सरकारले समपुरक अनुदानका लागि पर्यटन पूर्वाधार आयोजना÷कार्यक्रम, कृषि, भूमिसुधार तथा वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमले अनुदान पाएका छन् । पूर्वाधार निर्माणतर्फ नमुना आवास निर्माण, मझौला तथा ठूला पुल, सौर्य, वायु वा जैविकजस्ता वैकल्पिक उर्जा कार्यक्रम, स्थानीय, ग्रामिण सडक तथा कृषि सडक, शहरी वा प्रदेश लोकमार्गजस्ता आयोजनामा बजेट सिफारिस भएको छ । बलेवामा बन्ने यो सडकले साविकको पश्चिमाञ्चलका भक्तजनलाई यात्रामा सहजता प्रदान गर्ने छभने पर्यटकीय क्षेत्र भैरवस्थान, मुलाबारी लगायतका बलेवा क्षेत्रमा आवात–जावतमा समेत सहज हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->