पोखरा,४ मंसिर – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार तेस्रो खेलमा जित निकालेको छ। चितवन शुक्रबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै दोस्रो चरण नजिक पुगेको हो। धनगढीको यो दोस्रो हार हो। चितवनले दिएको १८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४९ रन जोडे। त्यसअघि शुभेन्दु पाण्डे र श्रिमन्था विजयरत्ने पहिलो २ बलमा शून्यमा आउट भएपछि धगनढी सुरुमै दबाबमा परेको थियो। बलिङमा चितवनका भुवन कार्कीले ३ विकेट लिए भने सनी पटेल र करण केसीले २–२ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन जोड्यो। चितवनका लागि आरिफ शेखले २० बलमा नटआउट ४७ रन जोडे। म्याच अफ दि म्याच भएका उनले २ चौका र ४ छक्का प्रहार गरे। सनी पटेलले नटआउट ३२ रन, बाबर हायतले ३६ रन र कप्तान पारस खड्काले २३ रन जोडे। बलिङमा धनगढीका अनिल खरेल र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पारे।





