पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर आम्दानीलाई बलियो मनाउन मन लागेको छ । कारण हो गाउँपालिका र वडाले कृषकहरुको सहजताका लागि बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याउनु ।
चुनाव जीत्नकै लागि मात्रा कृषिमैत्री नारा तयार पारेका जनप्रतिनिधिहरुले कृषकहरुले अुनुभूति गर्न सक्ने गरी कृषिका माध्यमबाट नागरिकसँग सहकार्य गर्न सकीरहेका छैनन् । तर महाशिला गाउँपालिकाले भने कृषकहरुलाई हित हुने र उनीहरुको व्यवसायिकतामा बृद्धि हुने गरी हालै मात्रै दुई ओटा कार्यक्रम सुरु गरेको छ ।
वडा कार्यालयले बेचिदिन्छ कृषकले पालेका खसी बोका
बिचौलियाका कारण कृषक मारमा परेको भन्दै पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीले कृषकका खसी र बोका केही दिनदेखि आपैmले नै बजार पठाउने काम गरिरहेको छ ।
बेच्ने बेला भएका खसी र बोकाले उपयुक्त मूल्य नपाउँदा कृषकहरु ठगिएको ठहर सहित स्थानीय महाशिला महिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्य गरेर कृषकले पालेका खसी बोका आफैँले खरिद गरेर बिक्री गर्न सुरु गरेको हो । ‘कृषकहरुको पिडा बुझिदिने कोही पनि छैन् । कृषकले गरेको दुःखको महसुस गर्नेहरु कमै छन् ।’ वडाध्यक्ष जीवनविक्रम उचैले भने, ‘काम गर्ने कालुः मकै खाने भालु भनेको जस्तो, बाख्रा पालेर दुःख गर्ने चाहिँ कृषक अनि बिचैमा पैसा कमाउने चाहिँ बिचौलिया। यो अवस्थाको अन्त्य गर्न वडाले नै कृषकका खसीबोकाको जिम्मा लिएको हो।’
वडा कार्यालयले कृषकको समेत आम भेला राखेर वडाको माध्यमबाट खसी बोका बिक्री गर्ने सहमति गरेको छ । सहमतिअनुसार किसानका खसी बोका ज्युँदो प्रति किलो ४२० रुपैयाँका दरमा सहकारीले खरिद गर्ने छ भने त्यसको ढुवानी खर्च र बजारको व्यवस्थापन वडाले गर्ने छ । स्थानीय कृषक विष्णु शर्माका अनुसारमहाशिला गाउँपालिका खसी बोका धेरै पालिने क्षेत्र भएकोले बिचौलियाको बिगबिगी रहने गरेको थियो । अब भने बिचौलियाको सहाराबिना वडाले खसी बोका सिधै पोखरा पठाउन थालिएको छ । वडाध्यक्ष उचैका अनुसार वडाले खरिद गरेका खसी बोका बिक्रीका लागि कास्कीको पोखरास्थित बिरौटामा सम्पर्क तथा बिक्री केन्द्र राखिएको छ ।
वडाले कृषकबाट खरिद गर्ने बेलामा नै स्वास्थ्य परीक्षण गरेर लिने भएकोले पनि स्वस्थ मासुको कारोबार हुने उनको भनाई छ । कृषकले पालेका पशु पंक्षीको बजारलाई स्थानीय रूपमा पनि व्यापक पार्न पशु हाट लगाउने गरी तयारी थालिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका उचै बताउँछन् । कृषकलाई प्रोत्साहन गर्नकै लागि पालिकाले यस अगाडि पालिकाभित्र रहेका १७ वटा खसी बोका उत्पादन गर्ने पशु फर्महरूमा बोयर जातको एक÷एक वटा ब्याँठे बोका वितरण गरिसकेको छ । कृषकले पालेकामध्ये अहिले सबैभन्दा बढी एउटै बोकको तौल ९३ किलोग्रामसम्म पुगेको छ । गाउँपालिकाले पालिकाबाट तयारी मासु निर्यात गर्नका लागि वधशाला बनाउने योजना पनि राखेको प्रवक्ता उचैले जानकारी दिए ।
कृषकले उत्पादन गरेको दूधको बजार प्रबद्र्धन गर्न संकलन केन्द्र
हालै मात्रै अण्डाको मूल्य उपयुक्त नपाएको भन्दै चितवनका कृषकहरूले उत्पादित अण्डा फुटाएर सडकमै अण्डाको खोलो बगाईदिए । बेला बेलामा दूधको मूल्य नपाएको भन्दै दूध नै सडकमा बगाएको खबर पनि हामीले थाहा पाएकै छौँ । यसको ठीक बिपरित महाशिला गाउँपालिकाले भने कृषकहरुकले उत्पादन गरेका विभिन्न उपजहरूको बजार र भाउ खोज्नका लागि आपैm किसान बनेर काम गरिरहेको छ । अबबाट पालिकामा उत्पादन हुने दूधलाई एकै ठाउँमा जम्मा पारेर बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।
गाउँमा उत्पादित दूधलाई बजारसम्म पु¥याउन नसक्दा कृषकहरूको आर्थिक स्तर माथि उठ्न नसकेको र बजारको अभावमा राम्रो मूल्य आउने दूधलाई मोही बनाएर फाल्नुपरेको अवस्थालाई मध्यनजर गरेर कृषकहरूको घरमा हुने दूधलाई बजार खोज पठाउन थालिएको वडाध्यक्ष जीवनविक्रम उचै बताउँछन । ‘केही दिन अगाडिबाट कृषकहरूको घरमा पालिएका खसी बोका स्थानीय सहकारी र वडा कार्यालय मिलेर खरिद गरेर पोखरामा लगेर बेच्ने काम सुरु गरिसकेका छौँ ।’ उनले भने, ‘खसी बोका बेचेर मात्रै कृषकहरूको जीवनस्तर माथि उठ्न सक्दैन, त्यसैले गाउँमा उत्पादन हुने कुनै पनि बस्तुलाई खेर नफाली सकेसम्म बिक्री गर्न लागिपरेका छौँ ।’ यही अभियान अनुसार नै पहिलो चरणमा खसी बोका वडाले खरिद गरेको र दोस्रो चरणमा वडाभरिको दूध सङ्कलन गरेर बजार पठाउन थालिएको उनको भनाई छ ।
गाउँको दूधले बजार र भाउ पाउन सकेमा कृषकहरू पशुपालनतर्पm आकर्षित हुने र पशुपालनका लागि घाँस आवश्यक पर्ने भएकाले बाँझो रहेको जग्गा जमिनमा पनि खेतीपाती गर्नुपर्ने भएकोले यसले कृषि क्षेत्रको विकासमा हित गर्ने वडाको विश्लेषण छ । वडाध्यक्ष उचैका अनुसार महाशिला गाउँपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय, महाशिला सामाजिक महिला उद्यमी समूह, स्थानीय सहकारी र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा पालिकामा नै दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रमा सुरुमा वडा नं. ५ का कृषकहरूले दूध सङ्कलन गर्न सुरु गरेका छन् भने क्रमशः पालिकाभित्रका सबै वडाका कृषकहरूको दूध सङ्कलन गर्न लागिएको छ ।
दूध सङ्कलन केन्द्रमा जम्मा भएको दूधलाई छिमेकी फलेवास नगरपालिकाको फलेवास बजार हुँदै सदरमुकाम समेत रहेको कुस्मा बजारमा पठाइने र त्यहाँ पनि खपत हुन नसकेमा पोखरा पठाउने गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं. ५ का अध्यक्ष उचै बताउँछन् । दैनिक ५ सय लिटर दूध सङ्कलन गर्नका लागि ५० जना भन्दा बढी व्यावसायिक किसानहरू तयार पारी चिलिङ भ्याट राखेर सङ्कलित दूध पोखरासम्म पुग्ने उनको भनाई छ । प्रति लिटर तीन रुपैयाँ अनुदान र किसानलाई बिना ब्याज ऋण लगानीका लागि ३ प्रतिशत ब्याजमा अनुदान दिने नीतिगत व्यवस्थासहित राष्ट्रिय वाणिज्य बैङ्क मार्फत ऋणको व्यवस्थापन गरिएको छ । महाशिलाका कृषकहरूले अहिले ६० रुपैयाँ प्रति लिटरको दरमा दूध बिक्री गर्दै आएका छन् । सदरमुकाम कुस्मामा भने ७० देखि ८० रुपैयाँ प्रति लिटरको दरमा बिक्री हुने गरेको छ ।





