बागलुङ, ५ पुस – सुन्तला गाउँको रुपमा चिनिएको बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा शुक्रवारदेखि चौथो सुन्तला महोत्सव सुरु भएको छ । शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले उत्सवको उद्घाटन गरे । उनले किसानको मेहेनतबाट मात्र देशमा आर्थिक समृद्धि संभव भएको बताए । मन्त्री थापाले कृषिमा आत्मनिर्भर बनाउन सकियो भने बहुसंख्यक नेपाली समृद्धिको बाटोमा हिड्न सक्ने बताए । गण्डकी प्रदेशलाई कृषि फसलहरुबाट आत्मनिर्भर बनाउन सकिने भन्दै सरकारले पनि अनुदान, लगानी र तालिमको क्षेत्रमा लगानी बढाइरहेको बताए । सुन्तला लगायतका फलफूल र कृषि फसलमा अगुवाई गर्ने तथा व्यवसायिक कृषिमा लाग्ने किसानलाई सम्मान गर्ने र अनुदान बढाएर लैजाने योजना पनि उनले सुनाएका थिए ।
गाउँमा आयोजित उत्सवमा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले किसानको मेहेनत हेरेर लगानी गर्ने नीति बनाउन सकियो भने सिगानाका किसानले धेरै लगानी भित्राउन सक्ने बताए । साथै उनले गाउँमा बसेर मेहेनत गरेका किसान राज्यको अनुदानबाट छुट्न नहुने धारणा पनि राखे । कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर थापा, नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिल बहादुर कार्की, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी, सुन्तला जोन म्याग्दीका प्रमुख सूर्यप्रसाद बराल, बागलुङ नगरपालिका वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटा लगायतले बोलेका थिए ।
पुस ९ गते सम्म चल्ने उत्सवमा किसानले फलाएका सुन्तला स्टलको रुपमा राखेर प्रर्दशनी गरेका थिए । सिगानाका किसानले ४० रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा बेचेका छन् । उनीहरुको उत्पादनको बजारीकरणका लागि राज्यबाट पहल भएमा किसानले थप मूल्य पाउन सक्ने महोत्सव आयोजक गणेश कृषि सहकारी संस्थाका अध्यक्ष राम बहादुर खड्काले बताए । कृषि ज्ञान केन्द्रका अनुसार सिगानामा सुन्तलाको अत्याधिक उत्पादन गर्न सकिने बताइएको छ । कृषिबाटै समृद्धि ल्याउन यो क्षेत्र उपयोगी भएको बताइएको छ । १ हजार ८ सय मीटर भन्दा तल सुन्तला र माथील्लो भागमा चिया खेत ीगर्न सकिने अध्ययन भएको वडा अध्यक्ष राजनकुमार जिसीले बताए । महोत्सवलाई व्यवस्थि तगर्न उपसमिति पनि गठन गरिएको छ । जिसीका अनुसार सिगानामा २ करोड बढीको सुन्तला बिक्री भएको तथ्यांक छ । सहकारीका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, वडा अध्यक्ष राजन जिसीको स्वागत र शिव खड्का तथा भरत कार्कीको संचालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।





